सडक पुगेपछि बाजुरामा नाचगान (फोटो फिचर)
मार्तडी (बाजुरा) : बाजुराको यातायात गुरु योजना (डीटीएम) मा छनोट भएका मौरे-कैलाशमाण्डु र मौरे-तोली-छतारा सडकखण्डको २९.६८ किलोमिटर ट्र्याक खुलेको छ। यससँगै यस क्षेत्रका बासिन्दा उत्साहित भएका छन्।
आयोजना जनवरी २०१४ मा सुरु भइ जनवरी २०१९ सम्म तोकिएको थियो। तोकिएको मापदण्डमा निर्माण सम्पन्न भएको छ। यो सडकले त्रिवेणी नगरपालिकाका अधिकांश वडा जोडेको छ। विकासको पूर्वाधार मानिने सडकसञ्जालको पहिलो खुड्किलोस्वरुप ट्र्याक खुलेपछि त्यहाँका बासिन्दाको जनजीवनमा सुधार आएको छ।
त्रिवेणी नगरपालिका-८ की खिन्तु नेपालीले ट्र्याक खुलेपछिको उत्साह यसरी व्यक्त गरिन्, ‘निकै खुसी लागेको छ। केटाकेटीलाई स्कुल पठाउन सजिलो भएको छ। काममा पनि धेरै सघाउ पुगेको छ। गाउँको आम्दानीमा पनि सुधार आएको छ।’
त्रिवेणी नगरपालिका अधिकांश परिवारका पुरुष रोजगारी गर्न भारत जाने गरेका छन्। यहाँका महिला कृषिबाटै जीविकोपार्जन गरिरहेका छन्। बाटो नबन्दासम्म मार्तर्डी बजार पुग्दै दिन बित्ने गरेको खिन्तु सम्झिन्छिन्, ‘भारी बोकेर बजारसम्म पुग्न एक दिन खेर जान्थ्यो। अहिले गाडीको आवतजावत बढ्दा आम्दानीसमेत बढेको छ।’
बाटो बनेपछि बालबालिका पनि विद्यालय जान इच्छुक देखिएको उनले बताइन्। ‘पहिले बाटो नबन्दा बच्चा स्कुल जानसमेत मान्दैन थिए। अहिले उनीहरू सजिलै स्कुल जानेआउने गर्छन्।’ यो सडकमा कुल एक हजार सात सय ५६ जना स्थानीय कामदार ९१ वटा सडक निर्माण समूहमा आबद्ध भइ काम गरेका थिए। यसमा ४४ प्रतिशत महिला सहभागिता थियो।
र्यापका अनुसार निर्माण कार्यको ज्यालाबापत कुल ५० करोड ७० लाख रुपैयाँ भुक्तानी भएकामा सडक निर्माण समूहका सदस्यले सडक निर्माण अवधिमा प्रतिव्यक्ति सरदर दुई लाख ८९ हजार रुपैयाँ ज्याला प्राप्त गरेका थिए। सडकको कुल लम्बाई २९.६८ किलोमिटर छ। मौरे-कैलाशमाण्डु सुरुको खण्डसहित १३ किलोमिटर र मौरे छतारा १६ किलोमिटर छ।
बेलायत सरकारको अनुदानमा बेलायती परामर्शदाता आईएमसी वल्र्डवाइडको व्यवस्थापनमा ग्रामीण पहुँच कार्यक्रम ‐र्याप थ्री) अन्तर्गतको सडक आयोजनामा करीब ६० करोड ५३ लाख रुपैयाँमा सम्पन्न भएको संस्थाले जानकारी दिएको छ।
कुल एक हजार सात सय ५६ जना स्थानीय कामदार ९१ वटा सडक निर्माण समूहमा आबद्ध भइ काम गरेका थिए।
नेपाल ग्रामीण सडकखण्ड मापदण्ड, १९९८ (पहिलो संशोधन २०१२) अनुसार श्रममा आधारित वातावरणमैत्री निर्माण पद्धति अवलम्बन गरी निर्माण भएको हो। कार्यक्रमको नीति तथा मार्गदर्शनअनुसार सडक निर्माण समूहमा विपन्न, महिला तथा पछिडिएका समुदायलाई प्राथमिकता दिइएको थियो। परिमाणमा आधारित निर्माणकार्यको ज्याला भुक्तानी प्रक्रिया अवलम्बन गरी महिला र पुरुषलाई समान ज्याला सुनिश्चित गरिएको थियो। ४.५ मिटर चौडा सडक निर्माणमा सुक्खा ढुंगा तथा ग्यावियन वालको संरचना निर्माण गरिएको छ। सडकमा पानी निमासको व्यवस्थापन गर्न नाली, कज्वेलगायत संरचना निर्माण गरिएको छ।
कार्यक्रमले सडकमा जलवायु समानुकूलन र सडक सुरक्षा परीक्षणसमेत सञ्चालन गरी परीक्षणबाट सिफरिस भएबमोजिम पानी निकास व्यवस्थापन तथा सडक प्रयोगकर्ताको सुरक्षाका लागि संरचनाको पनि व्यवस्था गरिएको छ। र्याप थ्री ले बाजुरा जिल्लामा स्थानीय सडक सञ्जालभित्र पर्ने यी दुई सडक र अन्य चार सडकमा नियमित मर्मत सम्भारका लागि स्थानीय सडक मर्मत समूह ‐आरएमजी) गठन गरी परिचालन गरेको छ।
यसैगरी सामाजिक तथा आर्थिक विकास (एसईडी) कार्यक्रम अन्तर्गत सडक निर्माण समूहका सदस्यलाई आयमूलक क्रियाकलापमा संलग्न गराइएको थियो। उनीहरूको क्षमता अभिवृद्धि गर्न तालिम जस्तै नेतृत्व विकास, लेखा व्यवस्थापन, सहकारी व्यवस्थापन, बजारीकरण जस्ता तालिम पनि प्रदान गरिएको थियो। सडक निर्माण समूहका सदस्यलाई तरकारी उत्पादन समूह, बाख्रापालन समूह, मसला उत्पादन समूहमा आबद्ध गरी नगरपालिकामा दर्ता गर्न सहजीकरण गरिएको थियो। दुई हजार ६ सय ८१ घरधूरीलाई आवतजावतमा सहजता पुर्याउन १२ वटा झोलुंगे पुल निर्माण गरिएका छन्। कनेक्ट कार्यक्रम अन्तर्गत स्थानीयस्तरमा आयआर्जन गर्न ‘हाम्री दिदी’ कार्यक्रमअन्तर्गत स्थानीय महिलालाई छनोट गरी व्यावसायिक संस्थासँग आबद्ध गरिएको छ। १८ फेब्रुअरीमा सडक औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरिएको थियो।