रक्सी समातेपछि र छोडेपछि...
बाबा भन्दै ६ वर्षकी छोरी दौडेर ढोकानेर पुगिन्। बाबाले दुवै हात फिँजाएर छोरीलाई अँगालोमा के बाँधेका थिए, ‘छ्या ! कति गना’को तपाईंको सास बाबा ? ’
निष्पट्ट अँध्यारोमा कुकुरको एकतमास भुकाइसँगै साइँली बिउँझिन्छे र सुन्छे, ढोकाको ढकढकाइ। आँखा मिच्दै ढोकातिर जाँदा ‘ए साइँली, ढोका खोल्...!, सुनिनस्, ढोका खोल भन्या...!’ आफ्नै बूढाको लड्खडिएको आवाज सुन्छे। भित्र पसेपछि दुवैको भनाभनले बालबलिका पनि आँखा मिच्दै रुन्छन्।
‘बुहारी, यो के पोख्या बेसिनमा, कस्तो गनाएको ? ’ ‘खोइ आमा ? ’, आमाको प्रश्नको जवाफ दिँदै बुहारीले मनमनै भनी, ‘के हुनु नि, तपाईंकै छोराले निकाल्या नि हिजो राति। अति खाएपछि शुद्धि पनि हराउँछ, बुद्धि पनि हराउँछ।’
‘मामु, ए मामु, छोरा सुत्यो ? ’ ‘के अहिलेसम्म पर्खिन्छ त तपाईंलाई ? घडी हेर्नु त कति बज्यो ? ’ ‘के गर्नु ? ढिला भयो, हाकिमले छोड्दै छोडेनन्’, यति भन्दै सीधै कोठामा गएर पल्टिहाल्यो र निदायो। श्रीमती छोरा स्कुलमा लडेर आएको कुरा सुनाउन खोज्दै थिई, श्रीमान्को हाल देखेर बोल्न सकिनँ।
‘यार हिजो त क्या रमाइलो भयो। तेरो त्यस्तो रहेछ हाम्लाई कहिल्यै भनिनस्’ ‘के कुरा ? ’ ‘मुला के कुरा रे ? पुरानो माया प्रेमको नि ! खा बेला त सब भनिस् त !’ ‘हँ ? ’
‘हनी, डिनर लियौ ? मैले त बाहिरै खाएर आएँ पुराना साथीहरू भेट्यौं, ड्रिंक्स अलि बेसी नै भयो।’ लर्खराउँदै बेडरुमतिर पुगी आजसँगै खाना खाउँला भनेर पर्खिंदै गरेको श्रीमान् खुइय सुस्केरा हाल्दै किचेन पुग्यो।
‘बाबु, तिम्रो मुखमा निलडाम कसरी भयो ? ’ ‘केही हैन मामु, त्यसै’ यद्यपि छोराको मनमा हिजो राति अलि धेरै खाइसकेपछि साथीहरूसँग भनाभन हुँदा मुक्कामुक्कीबाट बायाँ बंगारामा एक पन्च परेको बिर्सेको थिएन।
यस्तो घटना कतिजनालाई, कहिले–कहिले, कहाँ–कहाँ, भइराख्या होला आफैंले जानून्, तर रक्सी खाने व्यक्तिलाई कुनै न कुनै रूपमा यस्तै किसिमका घटना आइपरिराखेको हुन सक्छ। रक्सी खाने बेलामा सायदै यस्ता घटना कसैको मानसपटलमा आउला। तर यस्तै घटना भयो भने भोलिपल्ट सबैजसोलाई ग्लानी भएकै हुन सक्छ। सायद प्रण पनि गर्छ होला, अबदेखि खान्न भनेर। तर भनेर हुने हो र ? परिस्थितिअनुकूल भयो कि प्रण भुलिहालिन्छ वा प्रण भुलेपछि परिस्थिति विस्तारै तयार पारिहालिन्छ।
धेरैजसोले भन्न पनि सक्छन्, थोरैथोरै खाँदा केही हुँदैन, रमाइलो नै हुन्छ। कत्तिले भन्छन्– सोसियल ड्रिंक हो, यस्सो समाजमा घुलमिल हुन् एक पेग लिने हो भन्छन्। तर कतिलाई त्यही एक पेगको सुरुवातबाट आधा बोतल रित्तिएको थाहै नहुन सक्छ। एकपछि अर्को पेग साथीको अनुरोधमा, अर्को आफ्नै स्वादमा, अर्कैअर्कै बहानामा गर्दागर्दै क्वाटर अनि हाफ हुन सक्ने सम्भावना उत्तिकै हुन्छ।
रक्सीको तलतल वा लत लाग्न धेरै बेर लाग्दैन। कत्तिले थोरै भनेपछि थोरै नै खान्छन् भने कत्तिले थोरै भन्दाभन्दै धेरै खाइराखेको पत्तै पाउँदैन। तलतल लाग्नु वा लत लाग्नु भनेकै खाउँखाउँ लाग्नु वा नखाइनहुने हुनु हो। समाजमा धेरैलाई नखाइनहुने नहोला, तर खाऊँखाऊँ लाग्ने वा अवसरमा खानेचाहिँ धेरै हुन्छन्। तन्नेरी जमातमा त खान सुरु नै गर्नुपर्ने हो कि भन्ने पनि परेको हुन सक्छ। सुरु गरेपछि बानी पर्न धेरै बेर नलाग्न सक्छ। खाने बानी परेपछि यसका सामाजिक होस् वा शारीरिक असर देखिने प्राकृतिक नियमै हो।
रक्सी के हो ?
साधारणतया अन्न, फलफूललाई मर्चा (इस्ट) हालेर फर्मेन्ट (कुहाउनु) गरिन्छ। फर्मेन्ट भएको अन्न वा फलफूललाई उमाल्दा निस्केको बाफ नै माथिपट्टि राखिएको चिसो पानीको भाँडाको सम्पर्कमा आएपछि बनेको (डिस्टिलेसन प्रक्रियाबाट) तरल पदार्थ नै रक्सी हो। यसरी बनेको तरल पदार्थ भाँडाको आकारले गर्दा थोपाथोपा बाफ पनि एकमुस्ठ तरलको रूपमा अर्को भाँडामा जम्मा हुन्छ र तयारी हुन्छ रक्सी। चिसोपानी जतिपल्ट हालियो त्यति नै पाने रक्सी तयार हुन्छ यानिकी तीनपटक चिसोपानी फेरियो भने तीनपाने, जुन रक्सी कडा अर्थात् धेरै प्रतिशत अल्कोहोल हुन्छ। त्यस्तै चार, पाँच, ६, सात हुँदै गएपछि रक्सी मलिन हुँदै जान्छ अर्थात् कम प्रतिशत अल्कोहोल। यो हो नेपालमा घरमै तयार गरिने तरिका।
देशकै डिस्टिलरी तथा विदेशी डिस्टिलरीमा यस्तै प्रक्रिया भए पनि गुणस्तरीय तरिकाले एउतै मापदण्डमा रक्सी तयार पारिने विश्वास गरिन्छ। तर रक्सी रक्सी नै हो, यसमा अल्कोहोल नै हुन्छ। भिन्नता भनेकै निश्चित प्रतिशत अल्कोहोल मात्र हो। भिन्नभिन्न अन्न, फलफूल, फरक प्रतिशत, डिस्टिलेसन प्रक्रिया, थप स्वाद, स्टोरेज आदिले विभिन्न किसिमका अल्कोहोल ड्रिंक्स तयार हुन्छ। जस्तै– बियर, वाइन, ह्विस्की, ब्रान्डी, भोड्का, जिन, कोग्नाक आदि।
रक्सीले के गर्छ ?
रक्सी खाइसकेपछि आमाशय हुँदै आन्द्रामा पुग्छ, जहाँबाट यसको अवशोषण भएर रगतमा पुग्छ। रगतबाट सीधै कलेजोमा पुग्छ र पाचन प्रक्रिया सुरु हुन्छ। अल्कोहोल देहाइद्रोजेनेज भन्ने पाचन रसको मद्दतबाट रक्सीको पाचन भई शरीरका विभिन्न अंगहरूमा पुग्छ।
थोरै रक्सीको मात्राले खासै नराम्रो असर नपुर्याउन सक्छ। तर रक्सीको मात्रा शरीरमा बढ्न थालेपछि शरीरका विभिन्न भागमा असर पुर्याउन थाल्छ। स्नायु प्रणालीमा असर पर्छ र झुमझुम भएको महसुस हुन थाल्छ। यही झुमझुम हुनेलाई कत्तिले आनन्द मान्न पनि सक्छ। विस्तारै आत्मविश्वास बढेको महसुस हुने भएकाले धेरै बोल्ने हुन्छ। अरूबेला बोल्न हिच्किचाउने व्यक्ति पनि बोल्न थाल्ने हुन्छ।
रक्सी धेरैलाई नखाइनहुने नहोला। अवसरमा खानेहरू पनि हुन्छन्। खान सुरु गरेपछि बानी पर्न धेरै बेर नलाग्न सक्छ। खाने बानी परेपछि यसका सामाजिक होस् वा शारीरिक असर देखिने प्राकृतिक नियमै हो।
सन्तुलित व्यवहारका लागि आवश्यक पर्ने निर्णय क्षमतामा पनि असर गर्ने हुँदा अलि धेरै बोल्ने हुन्छ र आत्मविश्वासका साथ अरूबेला नभनिने कुरा पनि निस्किन्छ। आत्मविश्वास बढेता पनि निर्णय क्षमतामा कमजोर हुने हुनाले हिँडाइ, गराइ, बोलाइमा लड्खडाहट हुन्छ। अतः रक्सी खाएको मान्छे हिँड्दा बाटै मेरै होजसरी हिँडेको देखिन्छ। त्यस्तै मोटरसाइकल, मोटर चलाउँदा दुर्घटना हुने सम्भावना निकै बढ्छ। मात्रा बढ्दै गएपछि स्नायु प्रणालीमा यस्तो असर पर्छ कि के गरे÷नगरेको थाहा पाउँदैन, बोलेको चाल पाउँदैन। बान्ता हुन सक्छ। बेहोस नै हुन सक्छ।
त्यस्तै निरन्तर रक्सी खाइराख्यो भने शरीरका विभिन्न अंगमा असर पर्न जान्छ। रक्सीको पाचन प्रक्रिया नै कलेजोमा हुने हुनाले नियमित धेरै रक्सीको पाचन गर्नुपर्दा कलेजो नै बिग्रन सक्छ। कलेजो बिगँ्रदै गएपछि पेटमा पानी भरिन थाल्छ। कलेजो बिग्रेपछि खानेकुराको पनि उचित पाचन नहुने भएकाले शरीरलाई आवश्यक पोषणतत्व न्यून हुने तथा हानिकारक तत्व बढ्ने हुनाले विभिन्न नराम्रा असर देखा पर्न थाल्छन्। अन्तोगत्वा निरन्तर धेरै रक्सी सेवनले मृत्यु पनि हुन सक्छ। रक्सीले कलेजो बिग्रेका मान्छे धेरै भेटिन्छन्। हालैको विभिन्न अध्ययन–अनुसन्धानको बृहत् विश्लेषणबाट प्राप्त निचोडअनुसार रक्सीको न्यून मात्रा पनि शरीरका लागि स्वस्थ नभएको पाइएको छ। रक्सी सेवन, क्षयरोग, क्यान्सर, कुपोषणजस्ता अनेक समस्यासँग प्रत्यक्ष जोडिएको पाइन्छ।
रक्सीको नकारात्मक असर शरीरमा बाहेक परिवार, समाज, अर्थ र व्यवसायमा पनि उत्तिकै पर्न जान्छ। माथि प्रस्तुत गरिएका परिस्थितिहरू त्यसैका उदाहरण हुन्। रक्सीकै लतले गर्दा व्यवसाय गुमाउनुपर्ने, पारिवारिक विखण्डन भोग्नुपर्ने, आयआर्जन न्यून हुँदै जाने, कामको दक्षतामा कमी हुने पनि प्रशस्तै छन्।
रक्सी खाने बानी परेपछि नियमित रक्सी नभइनहुने हुन सक्छ। नियमित रक्सी नभइनहुने व्यक्तिले दिनको २० रुपैयाँको होस् वा दुई हजार रुपैयाँको नखाई छाड्दैन। दुई सय रुपैयाँ नै भए पनि दिनमा रक्सीमा खर्च हुने भयो भने महिनामा ६ हजार रुपैयाँ खर्च हुन पुग्छ। महिनाको ६ हजार भनेको सानो पैसा पक्कै होइन। न यसले शरीरलाई आवश्यक पोषण दिन्छ, न यसले आर्थिक रूपमा व्यक्तिगत वा पारिवारिक टेवा नै पुर्याउँछ। हल्का व्यक्तिगत रमाइलोले दूरगामी असर नै पुर्याउने भएपछि यसको लतबाट छुटकारा नै पाउनु उचित होइन र ? महिनामा ६ हजारले व्यक्तिगत वा पारिवारिक खुसीहरू धेरै ल्याउन सक्छ। ६ हजारले बच्चाहरूको स्कुल फी तिर्न पुग्ला वा परिवारलाई कतै घुमाउन पुग्ला वा घरको कुनै सामान किन्न पुग्ला वा आफ्नै व्यावसायिक दक्षता बढ्ने काम वा लगानी पुग्ला आदि–इत्यादि आवश्यकताअनुसारको काम तर्ला। तर दैनिक रक्सी खाने बेलामा यसको हेक्का सायदै रहला।
कसैकसैले मनमनमा यो पनि लिन सक्छ कि म आफ्नो पैसाले रक्सी नै खान्न। तर योचाहिँ पक्कै हो कि त्यो रक्सीको पैसा कसैले तिरेकै छ। त्यो पैसा तिर्नेले अवश्य पनि सित्तैमा ख्वाउँदैन। होला एकाधपटक सित्तैमा, तर नियमित त पक्कै पनि होइन। झन् रक्सीको मेजमानी त विशेष कामका लागि पनि हुन सक्छ। विवाह, समारोह, भोजभतेर अलि फरक हो, तर कतिपयलाई भोजभतेर आयोजना गर्दा रक्सी राख्नुपर्ने बाध्यता पनि सामाजिक कारण हुन जान्छ। तसर्थ सकभर नखाएकै राम्रो।
यतिका गन्थनपछि तपाईं नखाने निर्णयमै पुग्नुभयो भने मनमनै सोच्दै गर्नुभएको होला, छोड्नेचाहिँ कसरी त ?
छोड्ने तरिका सजिलो छ।
आफ्नो पैसाले खानुभएको छ भने पैसाको महत्व बुझ्नुस्– रक्सी किन्नुभन्दा पहिला यति पैसाले के मेरो परिवारका लागि खुसी किन्न सक्छु ? तपाईंको रक्सी खर्चले रोग त किन्दै हुनुहुन्न ? मैले खाएँ भने परिवारले के खाने ? सायद मन फर्किन्छ– भो रक्सी किन्दिनँ।
साथीभाइ, भोजभतेर, बिदा, परिवार, जमघट आदि छ भने यो कठिन हुन सक्छ। तर आत्मविश्वास बलियो बनाएर सोच्नुस् कि केही फाइदा नहुने, बेसी सेवनले हानिकारक हुने रक्सी एकछिनको स्वादका लागि म किन लिऊँ ? नलिऊँ भनी दृढ निश्चय गर्नुस्। एकछिन साथीभाइहरूको करकाप पर्ला तर नखाने भएपछि कसैले कर गर्नेवाला पनि छैन।
अरूले विशेष अनुरोध गरेको छ भने फाइदा–बेफाइदा एकपटक फेरि सोच्नुस्। जब बेफाइदा धेरै दिमागमा आउँछ, सायद खाने इच्छा त्यसै बिलाएर जाला। खान दिनेले केही तपाईंले नसक्ने सहयोग त मागेको छैन ? तपाईंको रक्सीको तलतलको फाइदा लिन लाग्या त होइन ?
छोडेकाहरूसँग एकपटक कुराकानी गर्नुस्– सायद कुरा मिलि पो हाल्छ कि ?
यो ध्रुवसत्य हो कि मान्छेले जे पनि निर्णय गर्न सक्छ– यो जाबो रक्सी त्याग्ने निर्णय त के नै ठूलो भयो र ? गर्नुस् निर्णय आज नै।
०यसबाट के फाइदा पुग्छ ?
तपाईंको परिवारमा छोराछोरी, पतिपत्नी, आमाबुवा अत्यन्तै खुसी हुनेछन्।
तपाईंको आत्मविश्वास थाहा पाउने गरेर बढ्नेछ।
तपाईंको आर्थिक अवस्था थोरै भए पनि फेरिनेछ।
तपाईंको रक्सी खाने साथीहरू केही समयका लागि टाढिन सक्नेछन्, तर पछि तपाईंलाई नै पछ्याउनेछन्।
तपाईंलाई सजिलै अरूले अनावश्यक उपयोग गर्ने छैनन्।
सबैभन्दा ठूलो कुरा रक्सीसँग सम्बन्धित अस्वस्थ एवं हानिकारक असरबाट बच्नुहुनेछ र रक्सीजन्य रोगबाट पीडित हुनुपर्ने छैन।
अझै पनि दुविधामा हुनुहुन्छ भने यहाँकै इच्छा।