कर्णालीमा बर्सेनि पाठ्यपुस्तककै पिरलो

कर्णालीमा बर्सेनि पाठ्यपुस्तककै पिरलो

सुर्खेत : कर्णालीका हिमाली जिल्लामा शैक्षिक सत्र सुरु भएको दुई साता पुग्न लाग्यो । जाडो बिदापछि फागुन १ गतेबाट यहाँका विद्यालय सञ्चालनमा आएका छन् । तर, पाठ्यपुस्तकबिनै विद्यार्थी स्कुल जान बाध्य छन् । विगतका वर्षमा जस्तै यसपालि पनि हिमाली जिल्लाका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

समयमै पाठ्यपुस्तकको ढुवानी नहुने समस्या यो वर्ष पनि दोहोरिएको छ । हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र जुम्लामा विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासमेत पाठ्यपुस्तक पाएका छैनन् । पाठ्यपुस्तक नभएकै कारण ती जिल्लाका अधिकांश विद्यार्थी विद्यालयमा हाजिर पनि भएका छैनन् । पाठ्यपुस्तक अभावकै कारण विद्यार्थीलाई विषयवस्तु बुझाउन कठिनाइ भएको र विद्यालय सञ्चालनमा चुनौती थपिएको शिक्षकको गुनासो छ ।

ढुवानीमा हुने लापरवाही र छपाइमा हुने ढिलाइका कारण यहाँका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या छ । भौगोलिक विकटता र ढुवानीको समस्या देखाएर जनक शिक्षा र ढुवानी ठेकेदारले ती जिल्लामा समयमै पाठ्यपुस्तक पुर्‍याउन नसकिएको जवाफ दिने गरेका छन् । अघिल्लो वर्ष पाठ्यपुस्तकबिनै परीक्षा दिन बाध्य यहाँका विद्यार्थीले यो वर्ष समयमै पाठ्यपुस्तक पाउने अपेक्षा गरेका थिए । ‘विद्यार्थीको हातमा पुस्तक नै पुगेका छैनन्, पाठ्यपुस्तक नहुँदा धेरै विद्यार्थी स्कुल आउनै मानेका छैनन्’, डोल्पाको दुनैस्थित बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक अम्बिका हमालले भनिन्, ‘गत वर्ष पनि विद्यार्थीले किताब नै पाएनन्, यसपालि पनि किताब आएका छैनन् । हामीलाई सधैं पाठ्यपुस्तककै पिरलो हुन्छ, पुस्तकबिना हामीले विद्यार्थीलाई कसरी विषयवस्तु बुझाउने ? ’

डोल्पाको जगदुल्लाह गाउँपालिकामा रहेको महादेव निमाविका विद्यार्थी ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै हरेक वर्ष नयाँ उत्साहका साथ विद्यार्थी विद्यालय जान्छन् । तर, आफूले पढ्ने पाठ्यपुस्तक हातमा नहुँदा उनीहरू शिक्षकले भनेको र सुनाएको भरमै परीक्षा दिन बाध्य छन् । चन्दननाथ नमुना माध्यमिक विद्यालय जुम्लामा कक्षा १० मा अध्ययनरत मनीष महतारा भन्छन्, ‘अघिल्ला वर्ष हामीले समयमा किताब पाएनौं, यसपालि पनि हाम्रो हातमा किताब छैन । शिक्षकले सुनाएको भरमा मात्र परीक्षा दिनुपर्ने बाध्यता छ, यसले हामीलाई समस्या भएको छ ।’

किताबबिनै पढ्नुपर्ने बाध्यताका कारण आफूहरूलाई नतिजा कमजोर हुने चिन्ताले सताउने गरेको उनले सुनाए । यो समस्या नौलो भने होइन । बर्सेनि देखिने यो समस्याका कारण विद्यार्थी मात्र होइन, शिक्षकलाई पनि समस्या हुने गरेको छ । पाठ्यपुस्तकबिनै पढाउनुपर्ने बाध्यताले विद्यार्थीलाई पढाएको विषय नै बुझाउन कठिन हुने गरेको हो ।

पुस्तकका लागि बर्सेनि यहाँका शिक्षक र अभिभावकले हारगुहार गर्दै आएका छन् । तर, विद्यार्थीको हातमा समयमै पुस्तक पुग्दैनन् । वर्षौंदेखि पाठ्यपुस्तक अभावमा पेलिएका हिमाली जिल्लाका विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउने प्रयास भइरहेको प्रदेश सरकारले दाबी गरेको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पाठ्यपुस्तकको उपलब्धताका लागि जनक शिक्षासँग आफूहरूले पहल गरिरहेको जनाए । उनले भने, ‘कर्णालीको शैक्षिक गुणस्तर वृद्धिका लागि हामी सचेत छौं, यस वर्ष पाठ्यपुस्तकबिना कोही विद्यार्थीले पनि परीक्षा दिनुपर्ने अवस्था आउने छैन । चाँडै सबै विद्यार्थीको हातमा पुस्तक पुग्छ, हामीले पहल गरिरहेका छौं ।’ केही जिल्लाका सदरमुकाममा रहेका गोदाममा पाठ्यपुस्तक पुगेको भए पनि विद्यार्थीको हातमा भने पुग्न सकेका छैनन् ।

पुराना किताब मागेर पढ्दै विद्यार्थी 

पाठ्यपुस्तक अभावमा अधिकांश विद्यार्थीले पुराना किताब मागेर पढ्दै आएका छन् । नयाँ पाठ्यपुस्तक नपुगेपछि विद्यार्थीले अघिल्लो कक्षामा प्रवेश गरेका विद्यार्थीसँग रहेका किताब माग्दै पढ्ने गरेका हुन् । नयाँ किताब पढ्ने रहर भए पनि साथी र छिमेकी विद्यालयका विद्यार्थीसँग रहेका पुराना किताब मागेर पढ्नुपर्ने बाध्यता विद्यार्थीसँग छ ।

जुम्लाको चन्दननाथ नमुना मावि कक्षा १० का मनीष महताराले भने, ‘नयाँ किताब पढ्ने रहर छ, रहर भएर मात्र नहुने रहेछ । अघिल्लो वर्षका दाइ र दिदीले पढेका किताब मागेर पढ्ने गरेका छौं, कतिपयले त पुराना किताब पनि पाएका छैनन् ।’ दुर्गम डोल्पामा पनि विद्यार्थीले पुराना किताबबाटै पढ्ने गरेका छन् । विशेषगरी माथिल्लो डोल्पामा पाठ्यपुस्तकको चरम अभाव हुने गरेको छ । यातायातको पहुँचमा नरहेका माथिल्लो डोल्पाका शेफोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ गाउँपालिकामा खच्चडमा बोकाएर पाठ्यपुस्तक लैजाने गरिन्छ । पाठ्यपुस्तक नहुँदा विद्यार्थीले सम्भव भएसम्म पुराना किताब र नहुँदा किताबबिनै परीक्षा दिने गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.