फेवातालको बीचैमा लैलै ...

फेवातालको बीचैमा लैलै ...

पर्यटकको क्यामेरामा माछापुच्छ्रेको प्रतिबिम्ब तैरिएको मात्रै दृश्य कैद हुँदैन; सँगसँगै आउँछन्— थोत्रा जुत्ता, चप्पल, बोत्तल र प्लास्टिकका फोहोर।


माछापुच्छ्रेको प्रतिबिम्ब फेवातालमा तैरिएको दृश्य हेर्न तालको पुछारमा पुग्नुपर्छ। त्यो ठाउँ ड्यामसाइड हो। हिमाल खुल्दाको दिन रानीवन फेदीको त्यो कन्दरामा पर्यटक पुग्छन्। जब तस्बिर कैद गर्न खोज्छन्, अलमलिन्छन्। उनीहरूको क्यामेरामा माछापुच्छ्रेको प्रतिबिम्ब तैरिएको मात्रै दृश्य कैद हुँदैन; सँगसँगै कैद हुन आउँछन्— थोत्रा जुत्ता, चप्पल, बोत्तल र प्लास्टिकका फोहोर। त्यस्तो बिजोग देखेर नाक खुम्च्याउने पर्यटक जब अन्तअन्तबाट फेवातालको दृश्य खोजिहिँड्छन्, झन्झन् निराश भेटिन्छन्।

ड्यामसाइड पार्कमा डुल्दाडुल्दै देखिन्छ— ठूलो ह्युम पाइपबाट तालमा झरिरहेको ढलको पानी। ताल किनारैकिनार हिँड्दै जाँदा पर्यटन बोर्ड कार्यालयपछाडि फेवा झन् बिरूप देखिन्छ। सहरबाट बग्दै आएको फिर्केखोलालाई खोला ठहर्‍याउन सकिन्न। ह्वास्सै आएको दुर्गन्धले भनिहाल्छ— यो ढल हो। हुन पनि फिर्केबाट सङ्लो पानी होइन, सहरको फोहोर सीधै बगेर तालमा मिसिन्छ। पानीसँगसँगै प्लास्टिकका पोका, बोत्तल, जुत्ता, चप्पल मात्रै होइन, मरेका पशुपन्छीको सिनो तालमा आइपुगेको हुन्छ। आडैको प्रहरी कार्यालयको फोहोर पानीको धारा त्यहीँ छुटेको छिप्दैन।

सराङ्कोट डाँडाको फेदी अँधेरी कुना फिर्केखोलाको मुहान हो। यो मौसममा त्यहाँ मूल सुकेको छ। तीन किलोमिटरसम्म सुक्खा खोलाको बाटो अलि तल आइपुगेपछि रसिलो देखिन्छ। तर पानीले होइन, विन्ध्यवासिनी छेउछाउदेखि बागलुङ बसपार्क क्षेत्रका बस्तीबाट खसेको ढलले। त्यहीँबाट सुरु हुने दुर्गन्धित फिर्केखोलाले बाक्लो बस्ती छिचोल्दै फोहोरका डुंगुरहरू सोहोर्दै फेवातालमा ल्याएर तिनको विसर्जन गर्छ। त्यही फिर्केखोलामा बीचैमा मिसिएको हुन्छ, बुलौंदी खोला। जस्तो फिर्के मुहानभन्दा तल आइनपुग्दै मैलिन्छ, बुलौंदी उसैगरी मैलिसकेको हुन्छ। फोहोरको भारीजति फिर्केमा मिल्काएर बुलौंदी सकिन्छ।

बर्खाका बेला धमिलिएको फेवाताल ।

पोखरा आउने पर्यटकमध्ये झन्डै सबैले पाइला टेक्ने फेवा किनार बाराहीघाट हो, जहाँबाट तालमाझको बाराही मन्दिर पुगिन्छ। लेकसाइडतिरबाट सोझिएको नाला त्यही घाटमा सीधै तालतिर खसेको छ। अर्काे चल्तीको घाट हो, हल्लनचोक। सबैभन्दा ठूलो आकारको नाला त्यहीँबाट तालमा सोझिएको छ। तत्कालीन पोखरा उपमहानगरपालिकाले वर्षाको पानी बगाउन बनाएको नाला तालमा मिसिनुअघि सानो पोखरी छ। फोहोर थिग्रिएर सफा पानी तालमा मिसियोस् भनेर बनाएको कुण्डमा शुद्धीकरणको कुनै प्रक्रिया र प्रणाली छैन।

हल्लनचोक नजिकैबाट मिसिने ढलको पाइपबाट तालमा देखिएको डुंगा।

उसबेला उपमहानगरपालिकाले भने पिउनयोग्य पानी तालमा झर्ने दाबी गरेको थियो। पोखराको वातावरण स्वच्छ बनाउने भनेर एसियाली विकास बैंकको सहयोगमा उपमहानगरपालिकाले वातावरण सुधार आयोजनाअन्तर्गत त्यो नाला निर्माण गरेको थियो। तर त्यही नालाले फेवाको वातावरण बिगारिरहेको छ। त्यो नालामा मलमूत्र र फोहोर बगेर आउँछ। नालामा कतिपयले ट्वाइलेट, बाथरुम र भान्छाको पानी पनि बगाइदिन्छन्। सामुदायिक सेवा केन्द्र बैदामले पोहोर साल गरेको अनुगमनमा दर्जनौंको बाथरुम र भान्छाको पानी नालामा मिसिएको भेटिएको थियो। रातिराति ट्वाइलेटको फोहोर अझै पनि नालामा बगाएको भेटिन्छ।

हल्लनचोकदेखि अझै पश्चिमको ठाउँ हो खहरे, जहाँ साउन–भदौताका खहरे खोला तालमा झरिरहन्छ। ढुंगामाटो बगाउँदै ल्याएर खहरेले तालमा एउटा टापु नै बनायो। चार रोपनीको त्यो टापुमा गत माघ दोस्रो साता पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले डोजर चलाए। अहिले टापु छैन। ताल फैलिएको छ। त्यसभन्दा पश्चिम–पश्चिम जाँदा अझै देखिन्छ, फेवातालको कन्तबिजोग। तालको सिरान र उत्तरतिर सेदीफाँट छ। त्यो फाँट तालको सिमसार क्षेत्र हो। सिमसारमै छ, चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको होटल वाटरफ्रन्ट। ताल किनारदेखि ६५ मिटरभित्रै उनको होटलका केही संरचना परेका छन्। त्यो ६५ मिटरको मापदण्ड नछोएपछि सिमसारमाथि नै ठडिएको छ, मूल होटल। तिनैको सिको गर्दै अचेल सिमसारको दलदलमाथि होटल, रेस्टुरेन्ट र रिसोर्ट थपिँदै छन्। सेदीफाँटभन्दा अझै अगाडि बढ्दा ताल सिरानको चंखपुर फाँट पुगिन्छ। पहिला ताल यही चंखपुरसम्म फैलिएको बताउँछिन्, ९१ वर्षीया मंगली जलारी। चंखपुर तालमा माछा मारेको सम्झना अहिले पनि ताजा छ, उनीसँग। अर्कातिर तालको सिरानका सिमखेतमा अचेल घडेरी व्यवसाय फस्टाएको छ। धमाधम खेत प्लटिङ भइरहेको छ।

फिर्केखोलाले फेवातालमा ल्याएको फोहोर उठाउँदै पोखरा महानगरपालिकाको डोजर।

हर्पन खोला बग्दै आएर फेवातालमा मिसिएको छ। फेवाको पानीको मुख्य स्रोत यही हो। तर हर्पनले पानीसँगै ढुंगामाटो र गेग्य्रान बगाउँदै ल्याएर थुप्रै टापु बनाएको छ। तिनै टापुमा प्याराग्लाइडिङ अवतरणस्थल बनाइएको छ। टापुहरूमा जोकोही मोटरसाइकल कुँदाउँदै तालको बीचतिर पुग्न सक्छ। पोखरा महानगरका इन्जिनियर महेन्द्र गोदारका अनुसार हरेक वर्ष एक लाख ४२ हजार टन गेग्य्रान र माटो मुहान क्षेत्र हुँदै तालमा थुप्रिँदै आएको छ। उनकै भनाइमा यो तथ्यांक इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन)को अध्ययनले देखाएको हो। यो ताजा तथ्यांक नभए पनि महानगरले यसैलाई आधार मानिरहेको छ।

२०७२ साउनमा तालको जलाधार क्षेत्र भदौरेमा सयभन्दा बढी वन क्षेत्र नै पहिरोले बगाएर तालमा मिसिएको थियो। ‘ढुंगा, माटो मात्र होइन, वनका काठपात नै तालको पुछार ड्याम साइडसम्म पुगेकाले त्यति बेला ताल कति पुरियो, अनुमान गर्न सकिँदैन’, फेवा मत्स्य सहकारीका अध्यक्ष ज्ञानबहादुर जलारीले भने।

भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागको २०६४ मा प्रकाशित प्रतिवेदनअनुसार त्यति बेला तालको गहिराइ १८ मिटर, लम्बाइ चार किलोमिटर र चौडाइ सय मिटरदेखि दुई किलोमिटर थियो। सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फेवाताल फैलिएको थियो। सन् २००० यताका अध्ययनअनुसार तालको क्षेत्रफल घटेर नौ हजार नौ सय ५५ रोपनीमा साँघुरिएको छ। ‘यही गतिमा ताल पुरिँदै जाने हो भने ७५ देखि सय वर्षमा पुरिन सक्छ’, आईयूसीएनको अध्ययनले भनेको छ।

फेवातालका दुई दुःख छन्। एउटा प्रदूषण र अर्काे अतिक्रमण। महानगरपालिकाले फेवातालको मापदण्ड ६५ मिटर तोकेको छ। महानगरपालिकाका इन्जिनियर गोदारका अनुसार तीन सयभन्दा बढी घरभवन मापदण्डविपरीत बनेको तथ्यांक महानगर आफैंले संकलन गरेको छ। अस्थायी टहरादेखि पक्की भवनसम्म मापदण्डभित्रै बनेका छन्। गगनचुम्बी भवन दिनानुदिन निर्माण भइरहेका छन्। मापदण्डको खिल्ली उडिरहेको छ। तालको सीमाबाट ६५ मिटरभित्र पर्ने जमिन चार दशकदेखि रोक्का छ। जग्गाधनीले मुआब्जा पाएका छैनन्। त्यसरी मुआब्जा दिएर मापदण्ड कार्यान्वयन गराउन तीन अर्ब रुपैयाँभन्दा बढी पैसा चाहिने मेयर मानबहादुर जीसीको भनाइ छ। गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीका अनुसार मुआब्जा दिनुपर्ने जमिन एक सय नौ रोपनीको हाराहारीमा छ। महानगरपालिकाले मुआब्जालाई चाहिने पैसा उपलब्ध गराइदिन प्रदेश र संघ सरकारलाई अनुरोध गरेको छ। ढलहरू डाइभर्ट गरी फेवाभन्दा अन्यत्र पुर्‍याउन पनि महानगरले बजेट खोजेको छ।

२०७५ वैशाख १६ गते सर्वाेच्च अदालतले फेवाताल संरक्षणको फैसलासहित सरकारका नाममा आदेश गर्‍यो— फेवाताल संरक्षण गर्नू, अतिक्रमण हटाउनू। त्यो आदेशको पूर्ण पाठ आएलगत्तै प्रदेश सरकार र महानगरले बङ्लादी भन्ने ठाउँको टापु हटाए। प्रदेश सरकारले फैसला कार्यान्वयन गर्न उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ। ताल संरक्षणलाई प्रदेशले १० करोड रुपैयाँ बजेट पनि राखेको छ। फेवा मुहान क्षेत्रमा गेग्य्रान रोक्ने बाँध बनाउन पोखरा महानगरपालिकाले सात करोड रुपैयाँ छुट्याएको छ। ‘त्यो बजेट कार्यान्वयन गर्न टेन्डर गर्दै छौं’, इन्जिनियर गोदारले भने।

सर्वाेच्चको आदेशमा व्यक्तिगत बनेको तालको जग्गाको दर्ता खारेज गर्नुपर्नेलगायत विषयसमेत समेटिएको छ। तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न सर्वाेच्चले आदेश दिएको हो। लामिछानेको समितिले तालको एक हजार ६ सय ९२ रोपनी जमिन व्यक्तिगत बनेको हुँदा त्यसलाई बदर गर्न सुझाएको थियो। २०३१ सालमा फेवातालको बाँध फुटेपछि सुक्खा बनेको जमिन व्यक्तिले दर्ता गरेको उनको प्रतिवेदनमा छ।


 तस्बिर : कृष्णमणि बराल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.