प्रदेश २ स्तरीय क्रिकेटमा धनुषा र पर्साको विजयी सुरुआत
राजविराज : राजविराजमा शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा धनुषा र पर्साले विजयी सुरुआत गरेका छन्। उद्घाटन खेलमा धनुषाले बारालाई चार विकेट र पर्साले महोत्तरीलाई १३ रनले पराजित गरे।
उद्घाटन खेलका म्यान अफ दी म्याच धनुषाका विशाल सुशलिंगले कसिलो बलिङ गर्दै महत्वपूर्ण चार विकेट लिएपछि बारा १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रनमा समेटिएको थियो। सुशलिंगले चार विकेट लिए। बाराका रविकुमार साहले ५० तथा तीर्थराज दासले २१ रन बनाए।
धनुषाका हरिशंकर साहले २६, कुनैन साहले २४, आयुष ठाकुरले २० र अन्सरुल रैनले १० रनको योगदान दिएपछि ६ विकेट गुमाउँदै १५.१ ओभरमा लक्ष्य भेटायो। महोत्तरीका राहुलप्रताप सिंहले ५७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
महोत्तरीले पाँच विकेटको क्षतिमा एक सय ३२ रन मात्र जोडन सकेपछि १३ रनले पराजय भोग्नु पर्यो। यसअघि पर्साले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको नोक्सानीमा एक सय ४५ रनको योगफल बनाएको थियो। कञ्चनजंग कार्कीले ४४ र हासिम अन्सारीले ४० रन बनाए। महोत्तरीका बादलकुमार गुप्ताले दुई तथा रितेश सिंह र राहुलप्रताप सिंहले एकएक विकेट लिए।
आठौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले उद्घाटन गरे। प्रतियोगितामा प्रदेशका आठै जिल्लाको सहभागिता रहेको छ।