आज हङकङसँग भिड्दै नेपाल
काठमाडौं : थाइल्यान्डमा जारी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो चौथो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ । एसियन इन्स्टिच्युड अफ टेक्नोलोजीको मैदानमा हुने खेल नेपाली समयअनुसार १२ बजेपछि सुरु हुनेछ ।
आगामी टीट्वेन्टी र ५० ओभर क्रिकेटको दुवै विश्वकप खेल्ने झिनो सम्भावना जीवित राख्न नेपाललाई हङकङविरुद्धको खेलमा जितको नतिजा आवश्यक छ । सिंगल राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै सन् २०२० मा अस्टे«लियामा हुने टीट्वेन्टी र सन् २०२१ मा न्युजिल्यान्डमा हुने ५० ओभर क्रिकेटको दुवै विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छानिनेछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले २० ओभरको यसै प्रतियोगितालाई टीट्वेन्टी र ५० ओभर क्रिकेटको दुवै विश्वकपको एसियाली छनोट प्रतियोगिता मानेको छ । समूहगत चरणको दोस्रो खेलमै आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएसँगै नेपालको छनोट सम्भावना मुस्किल बनेको छ । नेपाललाई अब छनोट निश्चित गर्न आफूले बाँकी सबै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन, थाइल्यान्डले कम्तीमा एक खेल गुमाएको हुनुपर्नेछ ।
यो अवस्थामा समेत अंक बराबर हुने भएकाले नेपाल नेट रन रेटमा अघि रहनु पर्नेछ । नेपालले यसअघि प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियालाई ३४ रन तथा तेस्रो खेलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो ।