राजदूतको मूल्यांकन जरुरी

राजदूतको मूल्यांकन जरुरी

सरकारले राजदूत भएर गएकाहरूको चौमासिक रूपमा मूल्यांकन गर्ने भएको छ । पूर्वाग्रही नराखीकन वस्तुगत ढंगले मूल्यांकन भएमा यसलाई सकारात्मक कदम मान्न सकिन्छ । सत्तारुढ दलले अयोग्य र नातागोतालाई पनि राजदूत बनाउँदै गरेको विकृत पृष्ठभूमिमा सर्वोच्च अदालतले त्यस्ता नियुक्तिमा मापदण्ड बनाउने र त्यसको पालना गर्न सरकारका नाममा परमादेशसमेत दिएपछि मापदण्ड बनेको हो ।

सँगसँगै यसमा मूल्यांकनको पाटो पनि जोडिएको छ । मूल्यांकन कति गम्भीर रूपमा हुन्छ भन्ने सवाल गर्भमै छ । हामीकहाँ मापदण्ड बन्ने, मूल्यांकनको उद्घोष हुने र तिनीहरू कागजमै सीमित रहने परम्पराबाट यो कत्तिको मुक्त हुन्छ, त्यो हेर्न बाँकी छ ।

हो, कूटनीति, विश्व परिस्थिति, अधिक सम्पर्क क्षमताका साथै अन्तर्राष्ट्रिय भाषाको ज्ञानसमेत भएका व्यक्ति राजदूत हुँदा मुलुकको छवि नै फरक हुन्छ । मुलुकको प्रतिनिधित्व गरेका राजदूतले कूटनीतिक सवालमा कत्तिको विज्ञता राख्छन् भन्नेबारेमा जाँच नहुने परम्परा छ । मुलुकको प्रतिनिधित्व गर्ने गरिमामय पद राजदूतको मर्यादालाई हल्कारूपमा लिने, दलीय कार्यकर्ता भर्ती गर्ने, आफन्तलाई ठाउँ दिने र थाकेका–पाकेका कर्मचारीलाई आराम गर्ने थलोमा परिणत भएका छन् अधिकांश दूतावास । अयोग्य पात्रका कारण दूतावास राख्नुको औचित्य प्रमाणित हुन नसकेको अवस्था छ एकातिर भने अर्कोतिर राज्यको ढुकुटीबाट ठूलै खर्च भएको छ । सोझै ‘स्वार्थको द्वन्द्व’ भएका व्यक्तिलाई पनि यो पद सुम्पिएको दृष्टान्त छ ।

परराष्ट्र सेवाका भन्दा काविल छन् बाह्य क्षेत्रमा कार्यरत व्यक्तिहरू पनि । अरू मन्त्रालयमा परराष्ट्रका भन्दा योग्य र अब्बल व्यक्ति ओझेलमा परेका छन् । यस अवस्थामा कूटनीति र गैरकूटनीतिक पृष्ठभूमि भनी छुट्ट्याउनु नै गलत हुनेछ । कूटनीतिक क्षेत्रका व्यक्ति फरक क्षमता भएको देखिनुपर्छ । तर औसतभन्दा पनि तल छ । सिंगो राष्ट्रको प्रतिनिधित्व गर्नुपर्ने राजदूत पदलाई सरकार सञ्चालकहरूले एउटा ‘हाई प्रोफाइल’ नोकरीमा सीमित बनाउँदै आफूअनुकूल व्यक्ति नियुक्त गर्दा झन् समस्या देखा परेका छन् । यस्ता विकृति रोक्न आवश्यक छ । अर्को कुरा परराष्ट्र सेवामा रहेकाहरू सबै राजदूत निम्ति योग्य हुन्छन् भन्नु महाभूल हुनेछ ।

पछिल्ला वर्षमा कूटनीतिक सेवा र बाहिरबाट ५०÷५० प्रतिशत राजदूत नियुक्त गर्ने गरी भागबन्डा भएको छ । परराष्ट्रकै अधिकारीहरू नियुक्त हुने सवालमा पनि योग्यता, अनुभव र क्षमताअनुसारको मुलुकमा नपठाइएका उदाहरण छन् । यस्ता विषयमा राजनीतिक नेतृत्व सचेत हुनुपर्छ । विषयगत क्षमता वृद्धि गरेर राजदूत नियुक्त गर्न आवश्यक छ । कूटनीतिक सेवामा २५÷३० वर्ष बिताएका भनिएकाले समेत राम्रोसँग दुईपक्षीय वार्ता गर्न नसक्ने, एक पेज ढुक्कसाथ लेख्न नसकेर नयाँ पुस्ताको शरण पर्ने गरेका उदाहरण छन् । यता राजनीतिक कोटाबाट हुने नियुक्तिमा भने मोलमोलाइले भित्याएको विकृतिको चाङले कूटनीति ओरालो लागेको हो ।

विरलै व्यक्तिले मात्र कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेको देखिरहँदा यो मूल्यांकन गर्ने परिपाटी बाह्य समिति बनाएर साँच्चै चार÷चार महिनाको अवस्था नियाल्न आवश्यक छ । संसदीय सुनुवाइ समितिमा वाचा गरेका विषयको पाँच प्रतिशत पनि काम नभएको अवस्थामा त्यसलाई १० प्रतिशतमा लैजान सके पनि धेरै हुनेछ । सेवामा रहेका कतिपय राजदूतका गैरकूटनीतिक आचरणका कारण मुलुकको छवि धमिलिएकाले पनि यस्ता विषयमा सचेत हुन जरुरी छ ।

दूधको साक्षी बिरालो भनेझैं राजदूतको मूल्यांकन उनकै सहकर्मीले गर्नु हास्यास्पद हुनेछ । त्यसकारण दूतावासले पठाएको मूल्यांकन प्रतिवेदनमा फेरि मन्त्रालयले अध्ययन गर्नुले खासै अर्थ राख्दैन । यसको मार गैरकर्मचारीलाई पर्र्नेछ । मन्त्रालयकै अधिकारी राखेर त्यसको मापदण्ड बनाउनु र मन्त्रालयले मूल्यांकन गर्नु मन्त्रालयका काविल अन्य अक्षम भनिनु हो, जुन गलत हो । त्यसर्थ विषयविज्ञ सामेल स्वतन्त्र मूल्यांकन समूह निर्माण गरेमा अपेक्षित उद्देश्य पूर्ति हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.