गाउँ फर्किन थाले ‘मुग्लानी’

गाउँ फर्किन थाले ‘मुग्लानी’

जुम्ला : रोजगारीका लागि भारत (मुग्लान) छिरेकाहरू गाउँ फर्किन थालेका छन् । मुग्लान पसेकाहरू धमाधम फिर्ता हुन थालेपछि सुनसान रहेका जिल्लाका ग्रामीण बस्ती भरिभराउ हुन थालेका हुन् । दसैं मनाएर यहाँका अधिकांश बासिन्दा रोजगारीका लागि भारत पसेका थिए ।

अधिकांश पुरुष र युवा भारत पसेपछि हिउँदमा यहाँका बस्ती सुनसानजस्तै थिए । तर, हिजोआज मुग्लानबाट उनीहरू गाउँ फिर्ता भइरहेका छन् । जसकारण गाउँमा चहलपहल पनि बढेको छ । फागुन लागेसँगै जिल्लामा विकासे काम कृषिको सिजन सुरु भएको छ । यसकारण पनि उनीहरू गाउँ फर्किन थालेका हुन् । सुख्खा र चिसो मौसमका कारण कात्तिकदेखि फागुनसम्म यहाँ विकास निर्माण र कृषिको काम हुँदैन । यो समयमा यहाँका बेरोजगार युवा बर्सेनि भारतमा काम खोज्दै जाने गर्छन् । यसअघि हिमा गाउँपालिका–२ कोइरेलीलगायत केही गाउँका सबै युवा भारत गएपछि गाउँ नै सुनसान थिए । तर, यतिखेर युवा गाउँ फर्केपछि गाउँमा चहलपहल बढेको छ । कोइरेली गाउँका सबै पुरुष कमाउन भन्दै कालापहाड गएपछि महिलाले मात्र गाउँ कुरिरहेका थिए । स्थानीय राजी रोकायाले भनिन्, ‘पुरुष गाउँ फर्केपछि रमाइलो भएको छ, अब गाउँमा मलामी र जन्तीका लागि लोग्ने मान्छेको चिन्ता छैन ।’

सिंजा गाउँपालिका–३ धितालीहीका भीमप्रसाद धितालसँगै गाउँका ५० भन्दा बढी युवा फुर्सदको समय धन कमाउन भन्दै मंसिरमा कालापहाड गएका थिए । उनीहरू सबैले भारतबाट तीन महिनाको समयमा ५० हजारभन्दा बढी धन कमाएर ल्याएका छन् । ‘गाउँमा पैसा कमाउने कुनै विकल्प छैन, पैसा नभए घरखर्च चलदैन’, धितालले भने, ‘ज्यान जोखिममा राखेर पुर्खादेखिको कालापहाडका दुःख हटेको छैन ।’ स्थानीय सरकार आए पनि बेरोजगार युवा लक्षित कुनै कार्यक्रम नल्याइएकाले युवा कालापहाड धाउनुपर्ने बाध्यता कायमै रहेको तातोपानीका युवा छत्तबहादुर परियारले सुनाए ।

कामका लागि छिमेकी मुलुक भारत जानेमा पढे÷लेखेका युवा र हिउँदे बिदामा बसेका शिक्षकसमेत रहेको शनिगाउँकी शान्ता बुढाले बताइन् । यहाँका अधिकांश युवा हिउँदमा ४ महिना कामका लागि भारतको पञ्जाब, बरेली, सिमला, लुधियाना, मुम्बई, कोलकाता, दिल्ली, चमौली र रिकांङपिओ जाने गर्छन् । सिंजाका मुनबहादुर रोकायाकाअनुसार चार महिनाको कालापहाडको कमाइले एक वर्ष सजिलै घरखर्च चलाउन सकिन्छ । ‘परदेशमा अर्काको भारी बोक्न रहर छैन तर गाउँमा काम पनि त पाइँदैन’, उनले भने, ‘हिउँदे सिजनमा कालापहाड र गाउँबीचको सम्बन्ध निकै कहालिलाग्दो छ, गाउँ शून्य पारेर कालापहाड पसिनाले भिजाउनुपर्ने ।’ यता, जिल्लाका स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई रोजगार दिएर अर्को वर्ष कालापहाड जान रोक्ने बताएका छन् । तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले युवा लक्षित विशेष कार्यक्रम सञ्चालन गरिने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.