स्याङजाका कैदीबन्दीलाई योग प्रशिक्षण
स्याङ्जा : स्याङजा कारागारका कैदीबन्दीलाई तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ। ईश्वरीय विश्व विद्यालय ब्राम्ह्कुमारी राजयोग प्रशिक्षण केन्द्रले जिल्ला कारागारमा रहेका कैदी बन्दीलाई ७ दिने तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो।
प्रशिक्षणको अन्तिम दिन एवं समापनमा बोल्दै नेपाली कांग्रेसका सभापति कुमार रानाले सबैभन्दा उत्तम योग राज योग भएको बताउँदै जानेर वा नजानेर भएका सबै गल्ती कमजोरी पहिल्याउँदै आगामी दिन उज्वल बनाउन यस्ता खाले प्रशिक्षणले कैदीबन्दीलाई सकारात्मक सहयोग गर्ने बताए।
कार्यक्रममा कारागार प्रमुख चुडामणी भण्डारी, पुतलीबजार नगरपालिका १ का कार्यवाहक अध्यक्ष शान्तिदेवी गौतम, कैदी÷बन्दी सुकबहादुर थापा, रामचन्द्र पौडेल, मिलन गुरुङ, श्यामधिरज मल्ल, भीमलाल बराललगायतले यस्तो प्रशिक्षणले अबका दिनमा कैदीबन्दीहरुलाई जीउन सहज हुने धारण राखे।
ईश्वरीय विश्व विद्यालयका संचालिका ब्रम्हकुमारी अम्बिका दिदी, ब्रम्हकुमार नेत्रप्रसाद पौडेल र ब्रम्ह्कुमारी लक्ष्मी पौडेलले प्रशिक्षण दिएका थिए। 'जीवन के हो, जीउने कला, आध्यामिकता, नैतिकता, अनुशासन, दायित्व'लगायतका विषयममा प्रशिक्षण दिइएको हो।
सात दिने प्रशिक्षणमा कारागारमा रहेका १ सय ३३ जना पुरुष सहभागी थिए। कारागारमा हाल एक सय ४० कैदीबन्दी छन् । ती मध्ये ७ जना महिला छन्।