आए तानिएर, गए तानेर (फोटो कथा)
धादिङ कटुन्जे घोर्मुका ५३ वर्षीय शुकबहादुर घले दुई वर्षअघिसम्म ज्यालामजदुरी गर्दै आएका थिए। उनको परिवारको आधार उनै थिए। ५२ वर्षमा के टेकेका थिए, उनले एकापट्टिको आँखाले धमिलो देख्न थाले। बिस्तारै त्यसले कामै दिन पनि छाड्यो। घरव्यवहारले थिचिरहेकाले आँखाको उपचारमा उनले ध्यान दिन पनि पाएनन्।
त्यसको केही महिना भएको थियो, अर्कोपट्टिको आँखाको दृष्टि पनि धूमिल हुँदै गयो। उनले नजिकैको स्वास्थ्य चौकीमा देखाए। औषधि पनि राखे। तर त्यसले पनि उनको दृष्टि सफा हुन सकेन, बरु बढ्दै गयो। बिस्तारै पूरै नदेख्ने अवस्थामा पुगे।
त्यसपछि उनलाई लाग्यो- मेरो संसार अन्धकारमय भयो। र शुकबहादुर जिन्दगी पनि श्रीमतीको भरमा पुग्यो। अन्ततः उनलाई भित्रबाहिर गर्न पनि हम्मेहम्मे पर्न थाल्यो- सहाराबिना। गाउँघर वरपर जानुपरे पनि श्रीमतीले डोर्याएर हिँडाउँथिन्- बच्चालाई जस्तै गरी। हात समाएर।
एक दिन कुरा हो, उनले सुने- जिल्लाकै भोक्टेनीस्थित धादिङ सामुदायिक आँखा केन्द्रले आँखा शिविर चलाएको छ। सुनेका के थिए, जीवन अन्धकारमय भइसकेको मानेका शुकबहादुरमा झिनो आशा पलायो। र श्रीमतीको साथमा पुगि पनि हाले। लामो भीड छिचोलिसकेपछि मात्र उनको पालो आयो। डाक्टरहरूले आँखा जाँचे। र भनिदिए- तपाईंले देख्न सक्नुहुन्छ। काठमाडांैको तिलगंगा आँखा प्रतिष्ठानबाट आएका प्रतिनिधिले शुकबहादुरलाई निःशुल्क उपचार गरिदिने आश्वासन पनि दिए।
त्यसपछि उनी खुसीले उफ्रिए- बुरुक्कै। तर यसका लागि उनी काठमाडौं पुग्नुपर्ने भयो। केही समयपछि प्रतिष्ठानले आफ्नै खर्चमा उनलार्ई काठमाडौं ल्यायो। अस्पताल छिर्ने बेलामा उनी श्रीमतीको हातमा डोर्याइएका थिए।
प्रतिष्ठानले उनको आँखाको अपरेसन गर्यो। त्यसको भोलिपल्ट आँखाको पट्टी खेलिने बेला शुकबहादुर र उनकी श्रीमती बडो कुतूहल देखिन्थे। पट्टी खोल्ने समय पनि आयो। जब पट्टी खोले, उनले धमिलोबाट बिस्तारै प्रस्ट देख्न थाले।त्यसपछि उनलाई लाग्यो- मैले पुनर्जीवन पाएँ।
तिलगंगा आखा प्रतिष्ठानले नेपालका विभिन्न ठाउँमा आखा शिविर सञ्चालन गर्दै आएको छ। उसले विपन्नलाई मोतियाबिन्दुको पनि निःशुल्क उपचारमा सघाइरहेको छ। हालसम्म करिब २ लाख ५० हजारको उपचार भइसकेको छ। यहाँबाट वार्षिक करिब २५ हजारले अपरेसनसहितको उपचार पाउँदै आएका छन्। करिब १ लाख ७५ हजारले यहाँबाट निःशुल्क उपचारसमेत पाइसकेका छन्।
शुकबहादुरलाई आँखामा मोतियाबिन्दु लागेको थियो। खुसीको कुरा, श्रीमतीको हातको सहारामा अस्पताल छिरेका शुकबहादुर फर्किंदा भने पत्नीलाई डोर्याइरहेका थिए।