गण्डकी प्रदेशमा स्थानीय तहबीच भलिबल प्रतियोगिता हुँदै
पोखरा : कास्कीको रुपा गाउँपालिकाको आयोजनामा गण्डकी प्रदेशका स्थानीय तह बीच फागुन २४ गते देखि अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा सहभगीताका लागि गण्डकी प्रदेशका सबै ८५ स्थानीय तहलाई पत्रचार गरिसकेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए।
गाउँ- गाउँमा खेलकुदको विकास गर्ने उद्देश्यले गाउँपलिकाले आफ्नै लगानी र आयोजनामा पहिलो पटक अध्यक्ष कपको आयोजना गरेको हो। प्रतियोगितामा ५० टिमसम्म सहभागी हुने विश्वास कास्कीको रुपाताल किनारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रुपा गाउँपालिकाका अध्यक्ष ओझाले बताए।
प्रतियोगितामा प्रथम हुने टीमले एक लाख रुपौयाँ पुरस्कार, ट्रफी र प्रमाण पत्र पाउने छन्। यसैगरी दोस्रो हुने टीमले ७० हजार रुपौयाँ, ट्रफी र प्रमाण पत्र पाउने छन् भने तृतीय टीमले ४० हजार पुरस्कार पाउने गाउँपालिकाका अध्यक्ष ओझाले बताए।
यसैगरी चौथो हुने टीमले सान्त्वना पुरस्कार २० हजार पाउने छन्। प्रतियोगितामा बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट ब्लबकर, बेस्ट सेटर, बेस्ट लिब्रो, बेस्ट प्लेयरले पनि पुरस्कार पाउने छन्। गाउँपालिकाको ६ भिरचोकमा हुने प्रतियोगीता खेल्नका लागि विभिन्न जिल्लाका टीम प्रतिनिधिले नाम दर्ता गरिरहेका छन्। प्रतियोगिताको उद्घाटन सत्रमा स्थानीय विभिन्न जातजातीको सांस्कृतिक झाँकी, कला पनि प्रदर्शन पनि हुने छ। प्रतियोगिता संञ्चालनका लागि ६ लाख रुपोयाँ लाग्ने गाउँपालिको अनुमान छ।