नेताको नियतले नेविसंघमा कुटाकुट : के हो विवाद ?
भाषणमा लोकतान्त्रिक व्यवहारमा ‘हुकुमी’ भएपछि के हुन्छ ? यसको सही जवाफ नेविसंघ नेता तथा कार्यकर्ताले मात्र दिन सक्छन्। किनकी लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले लोकतान्त्रिक विधि र प्रक्रिया अपनाउन नसकेको पीडा नेविसंघ नेता र कार्यकर्तालाई मात्र राम्ररी थाहा छ। त्यसको परिणाम आइतबार पार्टी कार्यालय सानेपामा देखियो।
११ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले माघ २८ गते पदबाट राजीनामा दिएपछि नेविसंघमा नयाँ नेतृत्वको खोजी भइरहेको छ। विधान अनुसार हरेक दुई वर्षमा महाधिवेशन हुनुपर्छ। कार्यकाल सकिएर एक वर्ष गुज्रिदा पनि १२ औं महाधिवेशन हुन नसकेपछि महरले नैतिकताका आधारमा राजीनामा दिएका हुन्।
महरको राजीनामापछि कांग्रेस नेतृत्व तदर्थ समिति गठनको तयारीमा छ। तदर्थ समिति अध्यक्ष विधान अनुसार बनाउने कि बाहिरबाट भन्ने बहसले कांग्रेस जेलिएको छ। विधानले ३२ वर्षे उमेर तोकेको छ। तर, नेताहरु विधान विपरित तदर्थ समिति अध्यक्ष चयन कसरी गर्ने भन्ने ‘हुकुमी’ बाटो खोजिरहेका छन्। यसको विरोधमा केही नेता देखिएका छन्। तर, उनीहरुको आवाज गौण छ। यसलाई लोकतान्त्रिक पार्टी कांग्रेसको ‘नांगो’ नाच बाहेक केही भन्न सकिदैन।
सामान्यता कांग्रेसमा धेरैले दुई गुट देख्छन्। संस्थापन पक्ष सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वको समूह। तर पछिल्लो महाधिवेशनदेखि कृष्णप्रसाद सिटौलाको नेतृत्वमा नयाँ गुट जन्मिएको छ। कांग्रेसका आधिकारीक गुट यिनै तीन हुन्। तर, गुटभित्रका उपगुट लेखेर साध्य छैनन्। कोइराला, गच्छदार, प्रकाशमान, गगन, प्रदिपलगायत गुट पार्टीभित्र धमिराजस्तै फैलिरहेका छन्। त्यसभित्र पनि थुप्रै उपगुट छन्। गुटको प्रभाव केन्द्रदेखि तल्लो तहसम्म छ।
तस्बिर : सुनिता डंगोल
झडपको अवस्था कसरी आयो ?
विधानमा उल्लेख भएको ३२ वर्षे उमेर हद तदर्थ समितिमा राख्ने किन नराख्ने भन्ने विवादमा कांग्रेस नेतृत्व रुमलिरहेको छ। अध्यक्षको दौडमा रहेका धेरै नेता ३२ वर्ष माथिका छन्। शीर्ष नेतृत्व उनीहरुलाई असन्तुष्ट बनाएर अगाडि बढ्ने मोडमा छैन। तर, केही नेता विधानको पालना गर्नुपर्छ भन्ने अडानमा छन्। विधान कार्यान्वयन भए नयाँ पुस्ताले नेतृत्व पाउने उनीहरुको दाबी छ। विधान कार्यान्वयन गर्नुपर्ने र निर्देशनमा चल्नुपर्ने दुई धारका विद्यार्थीबीचको विवादले आइतबार पार्टी केन्द्रीय कार्यालयमा झडप भएको हो। झडपपछि प्रहरीले लाठीचार्ज गरेको छ।
पार्टीले पारित गरेको विधान नै कार्यान्वयन गर्न धुकचुक गरेर कांग्रेस नेतृत्वले नेविसंघलाई झडपको स्थितिमा पुर्याएको हो। सभापति देउवा पक्षले नै ३२ वर्षे उमेरहदसहितको नेविसंघ विधानलाई बहुमतले पारित गरेको हो। तर, अहिले आफू निकट केही युवा नेतालाई खुशी पार्न देउवा नै विधान कार्यान्वयनको पक्षमा देखिदैनन्। केही नेताको प्रभावमा पार्टी सभापतिले निर्णय गर्न नसक्दा कांग्रेस केन्द्रीय समिति बैठकसमेत बस्न नसकेको छैन।
संस्थागत समूह
कांग्रेस सभापति शेरबहादुर देउवा समूह पार्टीमा शक्तिशाली छ। यो समूहमा बालकृष्ण खाँड, बिमलेन्द्र निधि, आरजु देउवा, प्रकाशरण महत र एनपी साउद नेविसंघ अध्यक्ष उम्मेदवार आफ्नो मान्छे बनाउन लागि परेका छन्।
सभापति देउवा भने ऋषिकेश जंग शाहलाई अध्यक्ष उम्मेदवार बनाउने योजनामा छन्। शाह नेविसंघ पूर्व उपाध्यक्ष हुन्। रञ्जित कर्ण अध्यक्ष हुँदा उनी देउवा टिमको नेतृत्व गर्दै नेविसंघ केन्द्रीय सदस्य बनेका थिए। एकपटक उपाध्यक्षको अनुभव भएको भन्दै उनले अध्यक्षमा दाबी गरेका हुन्। नेविसंघ भित्र लोकप्रिय भए पनि शाह विवाद रहित पात्र भने होइनन्।
नेता बालकृष्ण खाँडले रुचाएका अर्का अध्यक्ष उम्मेदवार हुन् राजीव ढुंगाना। उनी पूर्वउपाध्यक्ष हुन्। संस्थापन समूहमा उनको प्रभाव राम्रो देखिन्छ। संगठनमा इमान्दार नेताको रुपमा चिनिने ढुंगानालाई नेतृत्वले विश्वास गर्छ। उमेरले भने विधान अनुसार उनी योग्य छैनन्।
सरोज थापालाई अध्यक्ष बनाउने योजना बिमलेन्द्र निधिको छ। थापा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत निकट हुन्। बस्नेतले तरुण दलको नेतृत्व गर्ने भएपछि उनको कोटाबाट थापा विघठित कार्यसमितिको महामन्त्री बनेका हुन्। थापा त्रिचन्द्र कलेजमा कांग्रेस प्रजातान्त्रिक तर्फका पूर्वस्ववियु सभापति हुन्। संगठनभित्र बौद्धिक भनेर चिनिने थापा कानुनका जानकार मानिन्छन्।
नेविसंघका महामन्त्री आनन्दराज त्रिपाठी देउवा पक्षका अर्का अध्यक्ष उम्मेदवार हुन्। पहिला पौडेल समूहमा रहेका उनी पछिल्लो महाधिवेशनबाट देउवा टिममा आएका हुन्। महाधिवेशनमा अध्यक्ष पदका लागि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पौडेल पक्षले आफ्ना उम्मेदवारलाई हराउन देउवाले प्रयोग गरेको आरोप लगाएपछि त्रिपाठीले गुट परिवर्तन गरेका हुन्। गुट परिवर्तन गरेपछि अध्यक्ष महरले उनलाई महामन्त्री बनाएका थिए। त्रिपाठीलाई संगठनभित्र राम्रो प्रभाव भएको नेताको रुपमा चिनिन्छ।
नेता प्रकाशशरण महत भने प्रेम जोशीलाई अध्यक्षको रुपमा हेर्न चाहन्छन्। उनी विघठित नेविसंघका सहमहामन्त्री हुन्। उनले नेविसंघको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनी पछिल्ला दिनमा नेविसंघ कमिटी विघटनको पक्षमा थिए। समयमा महाधिवेशन नभएपछि उनले सभापति देउवालाई भेटेरै राजीनामा दिएका हुन्।
देउवा गुटबाट अध्यक्षको दौडमा उपमेयर अम्बिका चलाउनेसमेत छन्। उनी नेता महत र एनपी साउद निकट मानिन्छन्। चलाउने अछामको पञ्चदेवल विनायक नगरपालिकाकी उपमयर हुन्। उमेरहद लागू भए उनको सम्भावना रहेको चर्चा छ। नेविसंघ नेतृत्वमा दाबी गर्ने छुट दिने आश्वास नेताबाट पाएपछि मात्र स्थानीय तहको चुनाव लडेको उनको भनाइ छ। नेविसंघ भित्र भने दुई लाभ पद लिन खोजेको भन्दै उनको विरोध भइरहेको छ।
यही गुटभित्रै सभापति पत्नी आरजु देउवा पुष्कर बस्नेतको पक्षमा छन्। यद्यपी उनको पक्ष दरिलो सावित हुन सकेको छैन।
पौडेल समूह
वरिष्ठ नेता पौडेल समूहसमेत आफ्नो गुटबाट अध्यक्ष बनाउने दौडधुपमा छ। मनोजमणि आचार्य पौडेल गुटका प्रभावशाली अध्यक्ष उम्मेदवार हुन्। ११ औं महाधिवेशनमा उनी अध्यक्षमा झिनो मतले पराजित भएका हुन्। रोल्पाका आचार्य पौडेल समूहबाट सर्वसम्मत अध्यक्ष उम्मेदवार हुने अनुमान गरिएको छ।
पौडेलको गृहजिल्ला तनहुँकै दीपक भट्टराई पनि अध्यक्षको दौडमा छन्। पछिल्लो महाधिवेशनमा दिपक महामन्त्रीमा पराजित भएका थिए। दीपक नेविसंघका पूर्वअध्यक्ष एवम् पार्टी केन्द्रीय गोविन्द भट्टराईका भाइ हुन्। उनी नेविसंघ विघटन हुनुपर्छ भन्ने पक्षमा लबिङ गर्ने मध्ये एक नेतामा पर्छन्।
नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यलाई प्रकाशमान सिंहले बोकेका छन्। संगठनमा धाकधम्कीकै बहानामा प्रभाव बनाउँदै आएका वैद्य पशुपति क्याम्पसका स्ववियु सभापति हुन्। उनको प्रभाव राजधानी उपत्यकामा मात्र देखिन्छ। नेता सिंहको लक्ष्य उनलाई अध्यक्षको लोभ देखाएर पदाधिकारीमा धन्क्याउने देखिन्छ।
रञ्जित कर्ण अध्यक्ष हुँदा नेविसंघ कार्यालयका मुख्य सचिव रहेका शिव रिमालसमेत अध्यक्षको दौडमा छन्। कर्णका एकमात्र विश्वास पात्र मानिने रिमाल पौडेल समूहका सशक्त उम्मेदवार मानिन्छन्। उनी नेविसंघका निवर्तमान कोषाध्यक्ष हुन्।
सिटौला समूह
कृष्णप्रसाद सिटौला गुटमा पनि अध्यक्षका केही उम्मेदवार मैदानमा छन्। प्रदीप पौडेल अध्यक्ष हुँदा कोषाध्यक्ष बनेका बलदेव तिमल्सिना अध्यक्षको दौडमा छन्। पछिल्लो समय नेविसंघमा अवसर नपाएका नेतामा तिमल्सिना पर्छन्। टिमले नेतृत्व पाए उनलाई अध्यक्ष बनाउने तयारीमा सिटौला छन्। अध्यक्ष नपाए टिमको नेतृत्व गर्दै महत्वपूर्ण पद दिलाउने योजनामा सिटौला समूह छ।
ग्रामीण आदर्श क्याम्पसका इकाई अध्यक्ष नवराज त्रिपाठीसमेत अध्यक्षको दौडमा छन्। प्रदिप पौडेल निकट त्रिपाठी केन्द्रीय सदस्य हुन्। प्रदिपका विश्वास पात्र सुशील भट्टसमेत दौडमा छन्। सुशीललाई कुन्दन काफ्लेले रुचाएको देखिन्छ। विधानमा उल्लेख भएको उमेरहद लागू भए उनीहरु शक्तिशाली उम्मेदवार बन्नेछन्। त्रिपाठी र भट्ट सिटौला समूहको पनि तेस्रो पोलका उम्मेदवार हुन्। सिटौला समूहमा गगन थापालाई दोस्रो पोल मानिन्छ भने प्रदीपलाई तेस्रो।
गगनले भने डोजाङ शेर्पालाई अध्यक्ष उम्मेदवार बनाउने तयारी गरेका छन्। ३२ वर्षे उमेरहद लागू भए जनजातिको तर्फबाट उनले अवसर पाउने देखिन्छ। बौद्ध निवासी शेर्पा शंकरदेव क्याम्पस इकाई अध्यक्षमा पराजित भएका हुन्।
कोइराला गुट
कांग्रेसमा कोइराला परिवार अबको नेतृत्व आफै गर्ने दाबी गरिहेको छ। महामन्त्री शशांक, केन्द्रीय सदस्य शेखर र सुजाता कोइरालाले वीरगन्जबाट अघिल्लो सातामात्र यही सन्देश दिएका थिए। यो समूहमा महामन्त्री शशांकले सागर परियारलाई अध्यक्ष उम्मेदवारको रुपमा अघि सारेका छन्। उनी नेविसंघ उपाध्यक्ष हुन्। उनी महामन्त्री निकट हुन्। पार्टीमा महामन्त्री शशांकको प्रभाव राम्रै भएकाले विधानको ३२ वर्षे उमेरहद कार्यान्वन भए परिवारको सम्भावना देखिन्छ। यो समूहले निलकण्ठ रिजाललाई समेत अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सारेको छ।
गच्छदार समूह
लामो समय कांग्रेस छोडेर फेरि घर फर्किएका विजयकुमार गच्छदार कपिलेश्वर यादवलाई अध्यक्ष बनाउन चाहन्छन्। यादव गच्छदारको पूर्व पार्टी फोरम लोकतान्त्रिक विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। पार्टी एकता भएपछि उनलाई नेविसंघ उपाध्यक्षमा मनोनित गरिएको थियो। केही साता अगाडि नयाँ बानेश्वरमा भएको आन्दोलनका क्रममा उनी घाइते भएका थिए। यादवलाई गच्छदारले प्रस्ताव गरेपछि देउवालेसमेत समर्थन जनाएको स्रोतको दाबी छ।