पुल नबन्दा जोखिम यात्रा
दार्चुला : महाकाली नगरपालिका ४ खलंगा पुलघाटमा रहेको खलंगा झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय प्रभावित भएका छन्। ठेकेदार समयमै नआउँदा निर्माण कार्य सुरु हुन नसकेको हो। नेपाल भारत जोड्ने झोलुङगे पुल निर्माणका लागि बिहीबारदेखि पाँच दिन बन्द रहने सूचना दिइएको थियो।
यद्यपी अहिले सर्वसाधारण जोखिमपूर्ण यात्रा गरिरहेका छन्। भारतीय पक्षले फागुन ९ देखि १३ गतेम्म पुल बन्द हुने जानकारी गराएको थियो। भारतीय सीमा सुरक्षा बल एसएसबीका अनुसार काम सुरु नभएपछि पुलमा आवागमनलाई निरन्तरता दिइएको हो।
यसअघि पुलमा कर्कट पाता बदल्नुपर्ने बताइएको थियो। पुल निर्माणको विषयमा लोक निर्माण विभाग धारचूलाका सहायक अभियान्ताले बुधबार नै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएका थिए।
निर्माणको समयमा दैनिक चार घण्टा पुल बन्द हुने बताइएको थियो। काम सुरु नहुँदा सर्वासाधारण जोखिम यात्रा गर्न बाध्य छन्।
२०२८ सालतिर निर्माण गरिएको पुलमा काठको प्लेट प्रयोग गरिएको थियो। केही वर्ष पहिले काठ हटाएर फलामे प्लेट राखिएको छ। फलामे प्लेट जीर्ण बनेपछि भारतीय पक्षले चालु आर्थिक वर्षको बजेटमार्फत् मर्मत गर्ने योजना बनाएको थियो। झोलुंगे पुल भारत सरकारले समयसमयमा मर्मत गर्दै आएको छ।
भारतीय बजार धारचुलाबाट दैनिक उपभोग्य लगायत व्यापार र निर्माणका लागि दार्चुलाबासीले यही पुल प्रयोग गर्ने गरेका छन्।