२ पेनाल्टीले रियललाई जितायो

२ पेनाल्टीले रियललाई जितायो

बार्सिलोना : स्पेनिस ला लिगा फुटबलको सोमबार विहान खेलिएको खेलमा रियल म्याड्रिडले लेभान्तेलाई उसैको मैदानमा २-१ गोलले हराएको छ। रियल म्याड्रिडले दुबै गोल पेनाल्टी प्रहारबाट गरेको थियो। पेनाल्टी प्रहारको निर्णय बिबादास्पद बनेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधिले रियल म्याड्रिडलाई राहत दिएको थियो।

रियल म्याड्रिडका लागि करिम बेन्जेमा र गारेथ बेलले पेनाल्टीमा गोल गरेका थिए । पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि रियल म्याड्रिडले पहिलो पेनाल्टी प्रहारको अवसर पाएको थियो । संवेदनशिल क्षेत्रभित्र लेभान्तेका एनिस बार्ढीको पाखुरामा बल ठोक्किएपछि रियलले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

सोही अवसरको फाइदा उठाउँदै बेन्जेमाले रियल म्याड्रिडका लागि पहिलो गोल गरेका थिए । तर, खेलको ६०औं मिनेटमा लेभान्तेका रोजर मार्टीले जवाफी गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा ७८औं मिनेटमा रियल म्याड्रिडले अर्को पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

लेभान्तेका चेक डोकुरलेले कासेमिरोलाई फल गरेपछि पाएको पेनाल्टी प्रहारको अवसरलाई बेलले सहजै गोलमा परिणत गरेका थिए । बेल परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । खेल सकिनुभन्दा चार मिनेटअघि रियल म्याड्रिडका डिफेन्डर नाचो दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

रियल म्याड्रिडलाई पेनाल्टी प्रहारको अवसर दिने रेफ्रीको निर्णयप्रति लेभान्तेले आपत्ति जनाएको थियो । सोही विषयमा बिबाद सृजना भएपछि भीएआर प्रविधिको सहयोग लिइयो । भीएआर प्रविधिले पनि रेफ्रीको निर्णयलाई नै सही ठहर्‍याएको थियो ।

ला लिगामा २५औं चरणको खेलको समाप्तिपछि बार्सिलोना ५७ अंकसहित पहिलो र एट्लेटिको म्याड्रिड ५० अंकसहित दोस्रो स्थानमा छन् । रियल म्याड्रिड भने ४८ अंकसहित तेस्रो स्थानमा छ । ३० अंकमात्र बटुल्न सकेको लेभान्ते तालिकाको १३औं स्थानमा आसिन छ ।

यसअघि आइतबार राति खेलिएको खेलमा एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २-० गोलले हराएको थियो । भ्यालेन्सिया भने लेगानेससँग १-१ गोलको बराबरीमा रोकिएको थियो । रियल बेटिसले रियल भालाडोलिडलाई २-० गोलले पराजित गरेको थियो ।

निकट भविष्यमा खेलिने दुईवटा ‘एल क्लासिको’ अघि हात पारेको यो जितले रियल म्याड्रिडलाई ठूलै राहत दिएको छ । आगामी बुधबार रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइलको दोस्रो लेग खेलमा बार्सिलोनाको सामना गर्दैछ । त्यसपछि शनिबार ला लिगामा रियल म्याड्रिड र बार्सिलोना आमनेसामने हुनेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.