गोलकिपरले प्रशिक्षकलाई नटेरेपछि चेल्सीको हार ?
लन्डन : दुई प्रभावशाली क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच सोमबार वेम्बली रंगशालामा इङ्लिस लिग कप फुटबल प्रतियोगिताको उपाधि भिडन्त हुँदै थियो । यी दुवै टोली छैटौं पटक काराबाओ कपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा घम्साघम्सी गर्दै थिए।
तर, निर्धारित समयको खेलमा दुवै टोलीले एकअर्काको पोष्टमा गोल छिराउन सकेनन् । थप गरिएको समयमा पनि दुबै टोलीबाट गोल हुन सकेन । त्यसपछि उपाधिको छिनोफानोका लागि पेनाल्टी सुटआउटको सहारा लिनुपर्ने स्थिति सृजना भयो ।
हरेक खेलाडीको खेललाई नजिकबाट नियाली रहेका चेल्सीका प्रशिक्षक माउरिजियो सारीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित गोलरक्षक केपा एरिजाबालागालाई परिवर्तन गर्ने निर्णय लिए । ६० वर्षीय अनुभवी प्रशिक्षक सारी पेनाल्टी सुटआउटमा केपाको स्थानमा अर्का गोलरक्षक विल्ली काबाल्लेरोलाई आफ्नो गोल पोष्टको जिम्मा दिन चाहन्थे ।
नियमित समयको खेलका क्रममा केपा सामान्य घाइते भएकाले पनि प्रशिक्षक सारीले यस्तो निर्णय लिएको हुनुपर्छ । तर, प्रशिक्षक सारीको निर्णयलाई गोलरक्षक केपाले पूर्णरुपमा बेवास्ता गरे । प्रशिक्षक सारीले पेनाल्टी सुटआउटमा आफुलाई परिवर्तन गर्न खोजेपछि केपाले आक्रोसित हुँदै प्रशिक्षकलाई औंला ठड्याए ।
गोलरक्षक केपाले प्रशिक्षक सारीको निर्णयलाई ठडै चुनौति दिए । उनले कुनै पनि हालतमा आफू परिवर्तित नहुने अडान लिए । त्यसपछि रेफ्री जोनाथन मोसले प्रशिक्षक सारीसँग उनको अन्तिम निर्णय माग गरे । तत्काल प्रशिक्षक सारीले रेफ्रीलाई कुनै निर्णय दिन सकेनन् ।
अन्ततः पेनाल्टी सुटआउटमा पनि चेल्सीको गोल पोष्टको जिम्मेबारी समाल्न गोलरक्षक केपा नै अगाडि आए । उक्त खेलमा म्यानचेस्टर सिटीसँग चेल्सी ४-३ गोलले पराजित भयो । गोलरक्षक केपाले आफ्नो निर्णय नमानेपछि प्रशिक्षक सारी अधिकांश सयम मौन देखिएका थिए ।
क्लबका पूर्वखेलाडीहरुले भने गोलरक्षक केपाको ब्यवहारप्रति आक्रोश ब्यक्त गरेका छन् । उनीहरुले प्रशिक्षकको निर्णय नमानेर गोलरक्षक केपाले गल्ति गरेको धारणा ब्यक्त गरेका छन् । पूर्वखेलाडी क्रिस सटनले केपालाई क्लबमा स्थान दिन नहुने प्रतिक्रिया दिए । ‘मैले यस्तो घटना फुटबलमा कहिल्यै देखेको थिइन । यो सरासर गलत हो’, सटनले भनेका छन्, ‘गोलरक्षक केपालाई हटाइनुपर्छ । यो घटनामा प्रशिक्षक सारीको कुनै दोष छैन ।’
यसैगरी इङ्ल्यान्डको राष्ट्रिय टोलीका पूर्वखेलाडी जेर्माइन जेन्सले पनि गोलरक्षक केपाले गल्ति गरेको बताएका छन् । ‘यो एउटा प्रशिक्षकको अपमान हो । यो घटनाले क्लबको साख गिराउने काम गरेको छ’, टोट्टनहामका पूर्वखेलाडी जेन्सले भनेका छन् ।