नीति प्रष्ट नहुँदा प्रहरी अलमलमा

नीति प्रष्ट नहुँदा प्रहरी अलमलमा

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले एनसेलका टावर लक्षित गरी विस्फोट र आगजनी गरेपछि सुरक्षा चुनौती बढेको छ। प्रहरीको विशेष सूचनाअनुसार तत्कालीन सशस्त्र द्वन्द्वमा बम बनाउने र पड्काउनेजस्ता युद्धकौशल जानेका कार्यकर्ता विप्लवसँग अझै छन्।

राजनीतिक तहमा तत्कालीन माओवादी केन्द्रबाट चोइटिएर छुट्टै पार्टी बनाएका विप्लव भूमिगत छन्। उनको पार्टी चन्दा असुली, आगजनी र विस्फोटमा निरन्तरजस्तै जोडिँदै आएको छ। स्थानीय तहको चुनाव बिथोल्न गराइएका विस्फोट र अहिले एनसेलको मुख्यालय लक्षित विस्फोटलाई प्रहरीले फरक रूपमा बुझेको छ। एनसेलकै कर्मचारीले प्रहरीलाई दिएको सूचनाअनुसार विप्लवका कार्यकर्ताले चन्दा मागेका थिए। चन्दा नदिएपछि ‘जे पनि हुनसक्छ’ भन्दै बाहिरिएको दुई दिनपछि गत शुक्रबार विस्फोट भयो।

लमजुङका सिंहप्रसाद गुरुङको मृत्यु भयो भने अन्य दुई जना घाइते भए। मिडिया हाउसमै फोन गरेर ‘मान्छे मार्ने मनसाय नभएको तर एनसेलले कर नबुझाएपछि चेतावनी दिन आक्रमण गरेको’ प्रतिक्रिया विप्लव कार्यकर्ताले दिएका छन्। करविवाद अदालत पुगेपछि एनसेलले कर तिर्नैपर्ने बाध्यकारी परिस्थिति सिर्जना भइसकेको छ। कानुनी बाटो र सरकारको दायित्वमा पर्ने जिम्मेवारी पन्छाएर तत्कालीन सशस्त्र द्वन्द्वमा ‘जनसरकार’ झझल्को दिने घटनाले सरकारलाई सोच्न बाध्य बनाएको छ।

‘विप्लवलाई के गर्ने सरकारको स्पष्ट नीति छैन’, पटकपटक प्रधानमन्त्री, गृहमन्त्रीसँग बैठक बसेका एक सुरक्षा अधिकारी भन्छन्, ‘पक्रने र छाड्ने प्रवृत्तिले विप्लवका कार्यकर्ता बढी हौसिएको स्वयं गृहमन्त्रीले नै बताएपछि यसअघिका विप्लवका कारवाही सुनियोजित रहेको पुष्टी हुन्छ।’ विप्लवमाथि कठोर हुँदा द्वन्द्वकालीन मुद्दामा सबै माओवादी एक भएको र शान्ति प्रक्रियामा असर पुग्ने भन्दै प्रहरी नेतृत्वलाई सरकारले नै बारम्बार दबाब दिएको सुरक्षा उच्च स्रोत बताउँछ।

एक वरिष्ठ प्रहरी अधिकारी भन्छन्, ‘स्पष्ट निर्देशन नहुँदा प्रहरी अलमलमा छ, घटनापछि अनुसन्धान गर्ने र पक्राउ गर्नेबाहेक अन्य विकल्प छैन।’ उनका अनुसार प्रहरीसँग विप्लव र कार्यकर्ताको रेकर्ड छ। सरकारले स्पष्ट निर्देशन दिए पक्राउ गरी कारवाही गर्न सकिन्छ भन्छन् उनी।

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले एनसेल टावरमा आगजनी र विस्फोट गराउनेमाथि कारवाही नगर्न कसैको दबाब नआएको दाबी गरे। उनले भने, ‘बम पड्काउने र मार्नेमाथि कारवाही नगर भनेर कसैको दबाब आएको छैन। प्रहरी खोजतलासमा जुटेको छ। पक्राउ गरेर कानुनी दायरामा ल्याउँछौं।’ उनले ललितपुरको नख्खुमा विस्फोट गराउनेको पहिचान गरिसकेको र खोजी भइरहेको दाबी गरे।

विशेष ब्युरोको सक्रियता खस्कियो

प्रहरी प्रधान कार्यालयमातहतको विशेष ब्युरोले कुनै बेला राजधानीमा हुनसक्ने सम्भावित खतराबारे सूचनामा दख्खल राख्थ्यो। ०५० देखि ०५८ सालसम्म राजधानीमा हुने तत्कालीन विद्रोही माओवादी गतिविधिसम्बन्धी सबै रिपोर्ट दरबार पुग्थ्यो। ब्युरो पहिले जस्तो सक्रिय हुन सकेको छैन। ब्युरो यतिबेला प्रहरी कर्मचारी थन्क्याउने ठाउँ भएको छ। परिणाम अपराधसम्बन्धी विशिष्टीकृत योजना र सूचनाको अभाव प्रहरीमा देखिन थालेको छ। डीआईजीसम्मको दरबन्दी रहेको ब्युरोका विभिन्न इकाइमा कर्मचारी छरपस्ट छन्। पहिलेजस्तो सूचना संकलनमा विशिष्टीकृत कर्मचारी छैनन्। नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी लुकेको सूचनासमेत संकलन गर्ने ल्याकत भएको ब्युरोको विश्वसनीयतामाथि प्रश्नचिन्ह लागेको छ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी भने ब्युरोको सक्रियतामा कुनै कमी नआएको दाबी गर्छन्। उनी भन्छन्, ‘यसको नेतृत्व परिवर्तन हुने हो। अन्य टीम यथावत् हुन्छ तर कहिलेकाहीं सरुवा गर्नुपर्ने परिस्थिति आउँछ र केही समयको सरुवापछि फेरि ब्युरोमै पठाउँछौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.