जुम्लाको स्याउ दोलखामा
दोलखा : उचाई र हावापानी मिल्दोजुल्दो भएपछि व्यावसायिक खेतीका लागि जुम्लाको स्याउको दोलखामा परीक्षण खेती सुरु गरिएको छ। जुम्लाको उचाई र हावापानीसँग मिल्दोजुल्दो दोलखाको शैलुङ र मेलुङ गाउँपालिकाको उच्च भूभागमा परीक्षणका रूपमा स्याउ खेती सुरु गरिएको हो।
दुवै गाउँपालिकाले स्याउको विरुवा किसानलाई निःशुल्क उपलब्ध गराएपछि परीक्षणका लागि खेती सुरु गरिएको हो। जुम्ला जिल्लाको हावापानीसँग मिल्दो स्थानमा परीक्षणपछि व्यावसायिक स्याउ खेतीका लागि विरुवा खरिद गरी किसानलाई निःशुल्क उपलब्ध गराएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए। परीक्षण सफल भए थप विरुवा उपलब्ध गराई व्यावसायिक उत्पादनका लागि प्रोत्साहन गरिने उनको भनाइ छ। शैलुङले जुम्लाबाट तीन सय ५० विरुवा खरिद गरी उपलब्ध गराएको हो।
गाउँपालिकाले गोल्डेन, रोयल र फूजी जातका सात सय विरुवा खरिद गरी वितरण गरेको गाउँपालिकाको भनाई छ। गाउँपालिकाले ८० हजारमा जुम्लाको हेमा गाउँपालिकाबाट स्याउका विरुवा खरिद गरी गाउँपालिकाका उच्च भूभागका किसानलाई विरुवा वितरण गरेको हो। शैलुङका उच्च भूभाग ढुङ्गे, चइँचाप, पात्ले तथा झोर क्षेत्रमा ती विरुवा रोपिएको गाउँपालिकाको प्रवक्ता हिरा थोकरले जानकारी दिए।