सिमकोटमा धुमधामका साथ चैतलो मनाइँदै
सिमकोट : हिमाली जिल्लाको सदरमुकाम सिमकोट र आसपासका वस्तीमा स्थानीय मौलिकता झल्काउने चैतलो पर्व मनाउन थालिएको छ। साविक ठेहे गाविसमा फागुन १२ गतेबाट सुरु भएको चैतलो पर्व धुमधामका साथ मनाउन सुरु गरिएको छ।यो पर्व हरेक वर्षको फागुन १२ गतेबाट सुरु हुनेगर्छ।
सिमकोट गाउँपलिकाको ठेहे, सिमकोट, स्याँडालगायतका गाउँमा परम्परागत रुपमै चैतलो मनाउने गरे अनुसार नै धुमधामका साथ मनाउन लागिएको सिमकोट १ ठेहेका जैविरे भण्डारीले जानकारी दिए।
फागुन १२ गते सिमकोट र सिमकोट गाउँमा परम्परागत महत्व बोकेको चैतलो (धार्मिक महत्वको देउडा) खेलिरहेको बेला नजिकैको हिमालबाट आएको राक्षसले एकजना स्थानीय महिलालाई भगाएर लगेपछि उनको ज्यानको रक्षास्वरुप यो पर्व मनाउने गरिएको ठेहेका ६५ वर्षीय बलरुप बोहराले बताए।
भगवानको आराधना गर्ने, भगवानको नामको पुकारा गरेर आफ्नो ज्यानको रक्षा गर्नका लागि हरेक वर्ष मनाइने चैतलोमा अन्य पर्वभन्दा निकै फरक पहिरन लगाउने गरिन्छ। सिमकोट तल्लो गाउँका डबल रावतले भने, 'महिलाको जीवन रक्षाका लागि राक्षसलाई फकाउन पहेंलो पहिरनमा गाउँका सबै महिला एकै स्थानमा देउडा खेल्न जम्मा हुनेगर्छन्।'
गाउँका सबै महिलाले पहेंलो पहिरनमा चैतलो खेलिरहेको बेला पुरुषले फोहोर कपडा लगाउने, खरानी छर्ने गर्छन्। त्यसो गर्दा राक्षस त्यही भुल्ने र गाउँबाट भगाएर लगेकी महिलालाई फर्काउन सजिलो भएको मान्यता रहिआएको छ। यसैको संझनामा हरेक वर्ष चैतलो मनाउन थालिएको स्थानीय जानकार डबले भण्डारीले जानकारी दिए।
दुई दिनसम्म हरेक गाउँमा लाग्ने यो पर्वमा विभिन्न किसिमका स्थानीय संस्कृतिक नृत्य समेत गरिन्छ। चैतलोको अन्तिम दिन महिलाले गाडो (घरबुना) ले बनेको दौरा, लगाएर बोहरा, भण्डारी, रोकाया, रावतलगायतका थरका वासिन्दाले तरबार (ढाल) समातेर नाच देखाउने स्थानीय शंकर रावतले जानकारी दिए। उनका अनुसार गाउँकै पायक पर्ने स्थानमा महिला सिंगारिएर गीत (धार्मिक देउडा) खेल्ने गर्दछन् भने पुरुषले फोहोर कपडा लगाएर, खरानि पोका बनाई महिलाले चैतलो नाचिरहेको स्थानमा गएर माने नाच प्रर्दशन गर्छन्।
काठबाट बनाएका मुकुण्डो, लगाएर काठकै घोडा चढेर प्रस्तूत गरिने नृत्य धार्मिकरुपमा निकै महत्व भएको स्थानीयको भनाई छ। यो पर्वको रमाइलो हेर्न सिमकोट र ठेहे नजिक गाउँबाट एक दुई दिनको पैदल हिँडेर आउने गरेका छन्।
साविकको ठेहे गाउँमा उत्पति भएको भनिएको दुर्लभ चैतलो नाच पछिल्लो समय लामा समुदाय, अन्य गाउँवस्तीमा रहेका क्षेत्री समुदायले पनि मनाउन थालिएको भएपनि महिलाले लगाउने परम्परागत कपडा भने लोप हुँदै गएकोमा स्थानीय चिन्ता गर्न थालेका छन्।
जिल्लाको बेग्लै पहिचानका रुपमा रहेको यो नाच र नाचमा प्रयोग हुने पहिरनको जर्गेना गर्नतर्फ स्थानीय युवाहरु समेत लाग्नु पर्ने ठहेका नवराज भण्डारीले बताए।