‘स्थानीय तरकारी फ्याक्छौं, रामदेवको अचार किनेर खान्छौं ’

‘स्थानीय तरकारी फ्याक्छौं, रामदेवको अचार किनेर खान्छौं ’

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले स्वदेशी उत्पादन वस्तु नेपालीले नरुचाएका कारण कृषि बालीमा डोजर लगाउनुपर्ने अवस्था आएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आइतबार आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

प्रधानमन्त्रीले कृषि तथा भूमिसुधारका विषयमा छलफल गर्न कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल र भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालसहित ती दुवै मन्त्रालयका सचिव, सहसचिव, आयोजना प्रमुख, विज्ञ र वैज्ञानिकलाई बोलाएका थिए। 

प्रधानमन्त्री ओलीले छलफलका लागि बिहान ११ बजे नै बोलाएका थिए। तर काम विशेष भन्दै उनी आफै भने २ बजे सहभागी भए। ढिलो गरी पुगेका प्रधानमन्त्री ओलीले कृषि तथा भूमिसुधारका पक्षमा बाहिर हल्ला भएजस्तो नभइ थुप्रै राम्रा काम भएको दाबी गरे। पछिल्लो समय स्थानीय तरकारीले बजार नपाउँदा विभिन्न स्थानमा बाली नै डोजर लगाएर जोतेको प्रसङ कोट्याउँदै प्रधानमन्त्री ओलीले आन्दोलन गर्न रुचाउने केही समूहको उक्साहटमा त्यस्तो घटना भएको आरोप लगाए। उनले भने, ‘तरकारीमा डोजर लगाउनुपर्ने अवस्था थिएन, आवेश र उत्तेजनामा आएर हो। केही उक्साउने पक्ष पनि छन् जसले आन्दोलन मन पराउँछन्। ’

किसानले उत्पादन गरेको तरकारी र गोलभेंडा मन नपराउने नेपालीले भारतको बाबा रामदेवको संस्थाले तयार पारेको टमाटरको अचार भने निकै स्वाद मानेर खाने गरेको प्रधानमन्त्रीको भनाइ छ। उनले भने, ‘गोलभेंडा र तरकारी बिक्री भएन भनेर फ्याक्छौं अनि रामदेवको अचार किनेर खान्छौं। ’

कृषिमा नेपाललाई सवल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मुख्य भूमिका खेल्नुपर्ने र भूमिसुधार मन्त्रालयले आवश्यक सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीले सुझाव दिए। समयमा अकाशे पानी परेर मात्रै खाद्यान्न उत्पादनमा वृद्धि नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले भने, ‘पानीकै कारण उच्च परिमाणमा खाद्यान्न उत्पादन हुने भए बंगालमा अत्यधिक पानी पर्छ। त्यहाँ त सर्वाधिक धान उत्पादन हुनुपथ्र्यो। ’ उनले नेपालीको खानेबानीमा आएको परिवर्तनका कारण कृषिजन्य वस्तुको आयात वृद्धि भएको दाबी गरे।

नेपालीले रुचाउने खाद्यान्नअनुसार उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘पहिले नेपालीमा सागसब्जी कम्ती खाने बानी थियो। अहिले यसमा परिवर्तन आएको छ। त्यसैले उत्पादन बढाउनु पर्छ। ’ प्रधानमन्त्री ओलीले विदेशबाट आयात हुने बास्नादार र मसिनोजातको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात उपभोग गर्नुपर्ने सुझाव दिए। 

उनले आगामी वर्षका लागि निती तथा बजेट ल्याउनुअघि आवधिक योजना (मास्टर प्लान) ल्याउन कृषि मन्त्री खनाललाई निर्देशन दिए। ओलीले प्रविधि र यन्त्रीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसंख्या घटाउनुपर्ने सुझाव दिए। प्रधानमन्त्रीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’को औचित्यबारे पनि प्रश्न उठाएका छन्। प्रधानमन्त्रीको नाम जोडेर सञ्चालनमा ल्याइएको परियोजनाले ठूलो रकम खर्चेर पनि हालसम्म कुनै प्रतिफल दिन नसकेको भन्दै उनले उक्त परियोजनाबाट प्रधानमन्त्री भन्ने शब्द झिक्नसमेत निर्देशन दिएका छन्। कृषिमा करिब ६६ प्रतिशत जनसंख्या आवद्ध छ। 

कृषिका आधार क्षेत्र तयार

कृषि मन्त्री खनालले आगामी आर्थिक वर्षदेखि सुरु हुने १५औं योजनाका लागि कृषि तथा पशुपन्छीतर्फ आधार क्षेत्र तयार पारेको जानकारी गराएका थिए। उनका अनुसार १५औं योजनाको अन्तिम वर्ष २०८०/८१ मा धान ६ हजार एक ७३ मेट्रिक टन, मकै दुई हजार नौ सय २७, गहुँतर्फ दुई हजार चार सय २०, तरकारीतर्फ चार हजार पाँच सय, आलुतर्फ तीन हजार चार सय ९८ मेट्रिक टन उत्पादन हुने लक्ष्य तोकिएको छ।

फलफूलतर्फ एक हजार पाँच सय १०, दलहनतर्फ पाँच सय १२, माछातर्फ एक सय ३५, दूधतर्फ दुई हजार सात सय ११, मासुतर्फ चार सय ५१ र अण्डातर्फ दुई सय ६ करोड गोटा उत्पादन हुने लक्ष्य राखिएको छ। 

कृषि विज्ञ डा.कृष्ण पौडेलले सरोकारवाला मन्त्रालयले प्रधानमन्त्री ओली अगाडि सकारात्मक विषय मात्रै प्रस्तुत गरेको भन्दै आपत्ति जनाएका थिए। भूमिसुधार मन्त्री पदमा अर्यालले खण्डीकरणका कारण कृषियोग्य क्षेत्रफल बिग्रेको प्रधानमन्त्रीलाई जानकारी गराइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.