प्याराग्लाइडिङको गन्तब्य बन्दै नुवाकोट (तस्बिरसहित )
नुवाकोट : साहसिक र रोमाञ्चक खेल प्याराग्लाइडिङका लागि नुवाकोट राम्रो गन्तब्य बनेको छ।दुई दशकदेखि पोखरालगायतका अन्य क्षेत्रमा फष्टाएको यो खेल पछिल्लो समय पर्यटकको रोजाइमा नुवाकोट परेको छ।
नुवाकोटको सुइरेचौर, साततले दरबार क्षेत्र, ककनी तथा चारघरे डाँडा प्याराग्लाइडिङका लागि उपयुक्तस्थल छनौट भएको पर्यटन व्यवसायी बताउँछन्।नुवाकोटमा गरिएका प्याराग्लाइडिङका परीक्षणका सबै उडान सफल भएका छन्।
काठमाडौबाट एक घण्टाको दूरीमा रहेको नुवाकोटको रमणीय पर्यटकीयस्थल सुईरेचौरमा पनि प्याराग्लाइडिङ उडान परीक्षण सफल भएको छ। काठमाडौंको सामाखुसीबाट टोखा हुँदै गुर्जेभन्ज्याङबाट पुग्न सकिने शिवपुरी गाउँपालिकाको सुइरेचौर प्याराग्लाइडिङ गन्तव्य बनेको पालिका अध्यक्ष रामकृष्ण थापाले बताए।
शिवपुरी गाउँपालिकाका-७ मा अवस्थित सुइरेचौर समुन्द्री सतहबाट १ हजार ९ सय मिटर उचाइमा रहेको छ।सुईरेचौरमा नेपाल प्याराग्लाइडिङ कम्पनीले दुई थान प्याराग्लाईडिङ उडाएर सफल परीक्षण गरेको हो। परीक्षण उडान सुइरेचौरबाट सुरु गरेर शिवपुरी गापा ८ थानपतिको सत्तरीफाँटसम्ममा गरिएको थियो।
प्यारागलाईडिङको परीक्षण उडान अवलोकन गर्न पुगेका पूर्व सांसद राजेन्द्रप्रकाश लोहनीले सुइरेचौरमा प्याराग्लाइडिङ व्यावसायिकरुपमा फस्टाउनुको साथै पर्यटकको राम्रो गन्तब्य बन्ने बताए। कम्पनीका प्रबन्धक निर्देशक ज्ञानभक्त डङ्गोलले आवश्यक तयारी पूरा गरेर केही समयमै नियमित उडान गरिने जानकारी दिए ।
उनले प्यारागलाईडिङको व्यावसायिक उडानले नुवाकोटको पर्यटन क्षेत्र फड्को मार्नुको साथै स्थानीयको रोजगारीको अवसर हुनुको साथै नुवाकोटको आर्थिक विकासमा टेवा पुग्ने बताए।प्याराग्लाइडिङको मजासँगै लाङटाङ, गणेश, मनासलु, जुगल हेलम्बु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ।