सोलुखुम्बु क्याम्पसको पाँचवर्षे योजना

सोलुखुम्बु क्याम्पसको पाँचवर्षे योजना

सल्लेरी : विद्यार्थी अभावमा थुपै्र सामुदायिक क्याम्पस संकटमा परेको त्रिभुवन विश्वविद्यालयले बताइरहँदा समुदायको पहलमा सञ्चालित सोलुुखुुम्बुु बहुुमुुखी क्याम्पसले भने पाँच वर्षभित्र उच्च शिक्षाका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने दाबीसहित अभियान सञ्चालन गरेको छ।

हाल जिल्लामै स्तरीय र उत्कृष्ट उच्च शिक्षा दिइरहेको यो क्याम्पसले २०८० सालभित्र एक लाख मानिसबाट न्यूनतम सय रुपैयाँ चन्दा संकलन गरेर एक अर्ब रुपैयाँ जुटाउने बताएको छ। चन्दा दिने व्यक्ति स्वदेशी, विदेशी दुवै हुनेछन्। पाँच लाख नागरिक, पाँच हजार सरकारी तथा गैरसरकारी संस्था र न्यूनतम २५ राष्ट्रको नागरिकलाई यस अभियानमा प्रत्यक्ष सहभागी गराइनेछ।

क्याम्पस प्रमुख उद्धवप्रसाद शर्माले झट्ट सुन्दा यो अभियान महत्त्वाकांक्षी लागे पनि सफल हुनेमा क्याम्पस प्रशासन ढुक्क रहेको बताए। क्याम्पसमा विगतमा समुदायले दिएको साथ–सहयोगका कारण अहिलेको अभियान पनि सफल हुने आत्मविश्वास जागेको उनले बताए। ‘एकै पटक हेर्दा माहुरीको घारमा धेरै मह देखिन्छ। तर, मह संकलन गर्न माहुरीलाई कति समय लाग्यो होला हामी अनुमान गर्न सक्छौं ? ’ शर्माले भने, ‘हाम्रो अभियान पनि यस्तै हो। सबैको साथ–सहयोग मिल्यो भने सजिलै पूरा हुन्छ।’

क्याम्पस स्थापनाको २५ वर्ष पुगेको अवसरमा गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अभियान सुुरु गरिन्। अभियानका लागि एक सय एक सदस्यीय समिति गठन गरिएको छ। उक्त क्याम्पस ०५० सालमा स्थापना भएको हो। अहिले कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा समेत गरेर ६ सय विद्यार्थी पढ्छन्।

अभियानबाट उठेको रकमबाट प्राविधिक शिक्षाको विषय थप्ने, स्नातक र स्नातकोत्तर तहमा ट्राभल टुरिजम एन्ड माउन्टेनियरिङ विषयको पढाइ सञ्चालन गरेर अभ्यासमूलक कामका लागि हिमालमै प्रत्यक्ष अवलोकन गराउने तथा यस्ता विषय पढ्न विदेशी विद्यार्थीलाई समेत आकर्षित गराउने योजना रहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष आङरिता शेर्पाले बताए।

‘क्याम्पसलाई स्थापनाकालदेखि नै स्वदेशी तथा विदेशी दाताले सहयोग गरिरहेका छन्। यसपटक पनि उनीहरूको सहयोग रहन्छ भन्नेमा विश्वस्त छौं’, ०२७ सालको एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याएका शेर्पाले भने। चन्दाबाटै उठेको रकमबाट ७७ वटा जिल्लाबाट प्रतिजिल्ला दुई जना र ट्राभल टुरिजम एन्ड माउन्टेनियरिङ विषयमा २५ वटै राष्ट्रबाट एक जना तथा अन्य पिछडिएका क्षेत्रबाट समेत गरी कुल पाँच सय विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने महत्त्वाकांक्षी योजना क्याम्पसको छ।

अभियान सञ्चालन भएपछि एक सताको बीचमा एक करोड ५० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको क्याम्पस प्रमुख शर्माले बताए। ‘एकै व्यक्तिबाट १० लाख रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता आएको छ। यस्तै सहयोग अन्यबाट पनि आउने अपेक्षा गरेका छौं’, शर्माले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.