फागुन १९ देखि वीरगञ्जमा अश्वमेध महायज्ञ हुने

फागुन १९ देखि वीरगञ्जमा अश्वमेध महायज्ञ हुने

काठमाडौं : नेपालमा पहिलोपटक फागुन १९ गतेदेखि २२ गतेसम्म अश्वमेध महायज्ञ हुने भएको छ। अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वीरगन्जको आदर्शनगर रंगशालामा महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो।

अखिल विश्व गायत्री परिवारको आयोजना तथा वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वयमा महायज्ञ हुन लागेको हो। विभिन्न संघ/संस्थाहरुको सहभागितामा सनातन विधिविज्ञानसहित २५१ कुण्डीय भव्य यज्ञशाला स्थापना गरी महायज्ञ सम्पन्न हुनेछ।

महायज्ञ मूल आयोजक समितिका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोका अनुसार महायज्ञको उद्‍घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।

महतोका अनुसार फागुन १९ गते बिहान ८ बजेदेखि बिहान ११ बजे कलश र विभिन्न झाँकीसहितको कलशयात्रा हुनेछ। विश्व गायत्री परिवारका प्रमुखद्वय डा. प्रणव पण्ड्या र शैलवाला पण्ड्ये यज्ञमा सम्बोधन गर्ने कार्यक्रम छ।

फागुन २० गते बिहान अश्वमेध देवपुजन एवं महायज्ञ हुने पनि आयोजकले जनाएको छ। सोही दिन साँझ ५ बजेदेखि सत्संग, प्रवचन एवं सांस्कृतिक कार्यक्रम पनि हुनेछ।

आयोजकका अनुसार फागुन २१ गते बिहान बजे अश्वमेध यज्ञ एवं १२ संस्कारको कार्यक्रम राखिएको छ। सोही दिन साँझ एक लाख बत्तीको भव्य दीप महायज्ञको कार्यक्रम राखिएको आयोजकले जनाएको छ। फागुन २२ गते बिहान ८ बजेदेखि यज्ञ संस्कार एवम् अश्वमेध महापूर्णाहुति दिने कार्यक्रम राखेको छ।

मूल आयोजक समितिका अध्यक्ष डा. महतोले राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउन महायज्ञ गर्न लागिएको बताए। ‘यो एउटा आध्यात्मिक प्रयोग पनि हो,’ पत्रकार सम्मेलनमा उनले भने, ‘मान्छे शक्तिशाली बन्न पहिले आफ्नो क्षमता थाहा पाउनुपर्छ, आफ्नो क्षमता थाहा नभए केही पनि गर्न सकिँदैन। नेपाल तपोभूमि र देवभूमि हो। यसलाई पुरा विश्वमा चिनाउन महायज्ञ फलदायी हुनेछ। यो देशको नाम चिनाउने कार्यक्रम हो।’

महायज्ञका कारण नेपालमा आन्तरिक तथा बाह्य पर्यटक आउने विश्वास आफूहरूले लिएको महतोको भनाई छ। उनले भने, ‘यो महायज्ञले नेपालको पर्यटन विकासमा ठूलो फड्को मार्नेछ।’

महायज्ञमा ५ लाखभन्दा बढीको सहभागिता रहने उनले जनाए। महायज्ञमा ६० हजारले बसेर हवन गर्नेछन्। आगन्तुकलाई ‘फस्ट कम, फस्ट सिट’ का हिसाबमा बस्ने व्यवस्था मिलाइएको छ।

कार्यक्रममा अश्वमेध गायत्री महायज्ञ मूल आयोजक समितिका संयोजक एवम् वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले तीन वर्षको प्रयासपछि पहिलोपटक नेपालमा उक्त महायज्ञ आयोजना गर्न लागेको सुनाए।

महायज्ञमा श्रद्धालु र भक्तालुलाई निःशुल्क खाना र बस्नको व्यवस्था गरिएको पनि संयोजक सरावगीले जनाए। उनका अनुसार दुई लाख जनाले अनलाइन रजिस्ट्रेसन गराइसकेका छन्।

नेपालसहित छिमेकी भारतलगायत विभिन्न ४० देशबाट महायज्ञमा श्रद्धालुहरूको उपस्थिति हुने महायज्ञ प्रचार प्रसार समितिका सह–संयोजक डा. राजु अधिकारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.