स्वास्थ्यमन्त्री दिल्ली प्रस्थान
काठमाडौं : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव भारतको नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौंथो सम्मेलनमा भाग लिन सोमबार प्रस्थान गरेका छन्।
सम्मेलनमा स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा यस क्षेत्रमा काम गरिरहेका विज्ञ तथा वैज्ञानिकहरूले प्रविधिको ब्यवहारिक प्रयोगका बारेमा छलफलका साथै प्रदर्शनीको आयोजना गरिनेछ । बिश्वका ६० देशका स्वास्थ्यमन्त्री एवम् बिज्ञ तथा बैज्ञानिकहरु सहभागिता रहनेछन ।
तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मुल्यांकन, साईवर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो बिकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिका बारे छलफल गरिनेछ । कार्यक्रमको तेस्रो दिन भने प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी, प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधिका क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय प्राविधिक तथा विज्ञहरुले व्यवहारिक रुपमा प्रयोगमा ल्याइएका सूचना प्रविधिका बारेमा प्रदर्शनीको आयोजना गर्नेछन ।