आफ्नै जन्मको विरुद्धमा
‘मलाई जन्म दिनु भनेर निवेदन हालेको थिएँ तपाईंहरूलाई ? ’ एकजना किशोरले आफ्ना अभिभावकलाई गरेको प्रश्न हो यो। २०÷२२ वर्षपहिले एक किशोरले अभिभावकलाई रिसको झोकमा यस्तो प्रश्न सोधेको सुन्दा खुबै हाँसो उठेको थियो। म मात्र के ? परिवारका सबै सदस्यका लागि यो वाक्य मनोरञ्जनको पाचक बनेको थियो।
नढाँटी भन्नुपर्दा सानो छँदा कहिलेकाहीं आमाले मन दुख्ने गरी वचन लगाउँदा कहिले मनमनै त कहिले च्याँठिएरै पटकपटक सोधेको छु- मलाई किन जन्माएको त ? मलाई विश्वास छ बाल्यकाल वा किशोरावस्थामा यहाँहरूमध्ये धेरैले अज्ञानतामा आफ्ना अभिभावकसित यस्ता हृदय निमोठिने उट्पट्याङ लाग्दा प्रश्न सोधेको वा वचन लगाएको हुनुपर्छ। यसमा स्वयं भगवान् कृष्ण त अछूत रहन सकेनन् भने हामी मानवको के कुरा ? सूरदासले रचेको कृष्ण र यशोदा मैयाको भजनबाट मैले यही नै बुझेको छु।
हालै मुम्बईमा आफ्नै व्यवसाय चलाउँदै आएका २७ वर्षीय राफेल सामुयल नामका एक युवकले आफ्ना अभिभावकविरुद्ध यस्तै तर योभन्दा पनि संवेदनहीन अभिव्यक्ति दिएर युगौंदेखि आमाबुवालाई ईश्वर मान्दै आएको परम्परा तोड्ने दुस्साहस गरेका छन्।
सामुयल भन्छन्- हाम्रो समाजमा आफूभन्दा ठूला व्यक्ति, विशेष गरेर अभिभावकलाई सम्मान गर्ने प्रचलन छ, जुन गलत छ। सम्मान हामीले त्यस व्यक्तिको तिमीप्रति गर्ने व्यवहार र आचरणलाई गर्ने हो। ती व्यक्तिले तिमीलाई राम्ररी बुझ्न खोज्छ कि खोज्दैन ? तिमीलाई स्वतन्त्रता दिन्छ कि दिँदैन ? तिम्रो वृत्ति विकासलाई सहयोग गर्छ कि गर्दैन ? होइन, गर्दैन भने त्यस व्यक्तिलाई तिमी सम्मान किन गर्ने ? तिम्रो कलाकार बन्ने मन छ, तर तिम्रो इच्छाविरुद्ध डाक्टर, इन्जिनियर बन्न कर गर्छ। तिमीलाई जन्म दियौं, हुर्कायौं, बढायौं, पढायौं, लेखायौं भनेर ब्ल्याकमेल गर्छ भने तिमी त्यस व्यक्तिलाई सम्मान किन दिने ? तिम्रो हृदयले उनीलाई सम्मान दिन मन गर्छ भने सम्मान दिने। होइन, अभिभावक भएको नाताले मात्र सम्मान दिन खोजेको हो भने नदिने। किनकि सम्मान पदलाई नभई व्यक्तिको व्यवहारलाई दिने हो।
उनले अन्तर्वार्ताहरूमा भनेका छन्, ‘मेरा अभिभावकले आफ्नो खुसी र रमाइलोका लागि मेरो अनुमतिविना मलाई जन्म दिएको छ। यसैले अभिभावकको यस कार्यविरुद्ध म मुद्दामा जाँदैछु। अहिले मेरो पक्षमा मुद्दा लड्ने वकिल पाउन सकिरहेको छैन। वकिल पाएको खण्डमा तीनचार महिना, नभए ६÷८ महिना लाग्न सक्छ।’
उनकोे अभिभावकप्रतिको तीक्तता यतिमै टुंगिदैन। विश्वभरका केटाकेटीलाई उनी भन्दैछन्- हाम्रो जन्म अभिभावकको आनन्द र रमाइलोको परिणाम मात्र हुन्। उनीहरूको क्षणिक आनन्दका लागि हामी यो संसारमा जीवनभर दुःखकष्ट सहेर बाँच्न बाध्य छौं। चाहेर पनि मृत्युवरण गर्ने हाम्रो अधिकार छैन। यसैले अभिभावकप्रति हाम्रो कुनै उत्तरदायित्व रहँदैन। बरु उनीहरूले नै हामीलाई जीवनभर भरणपोषण खर्च उपलब्ध गर्नुपर्ने हुन्छ।
राफेलले विश्वभरका अभिभावकलाई पनि बच्चा नजन्माउने बाटो रोज्न सल्लाह दिएका छन्। मानिसले सन्तान नजन्माएमा उनीहरूको पालनपोषणलगायत हरेक किसिमको जिम्मेवारीबाट मुक्त हुन सकिन्छ र आफूहरू एक उत्कृष्ट जीवन जिउन सकिने तर्क दिन्छन्।
यस किसिमको सोच तथा व्यवहार हुनुको मुख्य कारण उनी नेटालिजम दर्शनका अनुयायी भएको मान्छन्। नेटालिस्टहरू जीवन पूर्णरूपमा पीडामय ठान्छन्। यसैले आफूहरू प्रजननविरोधी पक्षमा वकालत गर्छन्। आफू पाँच-छ वर्षको हुँदादेखि नै आफूभित्र यस्तो सोचको विकास भएको उनी बताउँछन्।
बौद्ध धर्म दर्शनमा पनि भगवान् बुद्धले जीवनमा दुःख छ भन्नुभएको छ। उहाँले चार आर्य सत्यमा भन्नुभएको छ, ‘जीवनमा दुःख छ। दुःखका कारण छन्। दुःख निवारण गर्ने उपाय छन्। त्यो हो- निर्वाण।’ निर्वाण प्राप्तिका लागि पनि उहाँले अष्टाङ्गिक मार्ग देखाउनुभएको छ- १. सम्यक दृष्टि, २. सम्यक संकल्प, ३.सम्यक वाणी, ४. सम्यक कर्म, ५. सम्यक आजीविका, ६. सम्यक व्यायाम, ७. सम्यक स्मृति र ८.सम्यक समाधि। जुन व्यक्ति स्वयंले पालना गर्नुपर्ने हुन्छ।
हिन्दु तथा बौद्ध धर्म दर्शनले मान्छेको पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्छन्। मान्छेको पूर्वजन्मको कर्मअनुसार नै पुनर्जन्मको अवस्था निर्धारण हुने विभिन्न उदाहरणसहित व्याख्या गरेका छन्। हुन पनि यसो नभएको हुँदो हो त कोही अमेरिका, स्विजरल्यान्ड, फिनल्यान्डजस्ता सम्पन्न र कोही सोमालिया, युगान्डा, हाइटीजस्ता विपन्न राष्ट्रमा किन जन्मिन्छ र ? किन एउटै देशमा पनि कोही अति सम्पन्न त कोही गरिब परिवारमा, कोही सुगम अनि कोही अनकन्टार भीरपाखामा, कोही ज्ञानी तथा राम्रो कुलमा त कोही अज्ञानी र दुष्टको घरमा किन जन्मिन्छ ? किन कोही विश्व सुन्दरी अनि कोही विश्वकै सबभन्दा कुरूप भएर जन्मिन्छ ? किन एउटै गर्भबाट जन्मिने सन्तान पनि भिन्न रूप, गुण र भाग्य लिएर जन्मिन्छ ? सोचनीय छ। यी दर्शनअनुसार त राफेलको जन्मको जिम्मेवार त उनी स्वयं नै देखियो।
उनको विचारको ठीक विपरीत म सृष्टिलाई शक्तिको स्वरूप र मातापितालाई ईश्वरको अवतार मान्छु। यसैले उनको अभिव्यक्तिबाट म मर्माहत भएकी छु। उनीले मलाई चौबाटोमा ल्याएर नांगेझार बनाएको अनुभूति भइरहेको छ। मजस्ता विश्वका करोडौं अभिभावकको अवस्था मेरोभन्दा भिन्न नहोला। संसारको कुनचाहिँ अभिभावक आफ्ना परिपक्व सन्तानले यस किसिमको सोच राखेको कल्पना गर्न सक्छ ? घरमा दिनहुँ चर्को विवाद तथा भिन्न विचारको युद्ध भइरहेको कुरो स्वयं उनी स्विकार्छन्।
हालै एक दम्पतीसित मेरो परिचय भो। पतिचाहिँ जमानामा मेरो माइतीको रेस्टुराँमा काम गर्ने होटेल ब्वाइ रहेछ। त्यो समय म बेलुका रेस्टुराँमा काम गर्ने केटाका लागि साक्षरता कक्षा चलाउँथें। उनीहरूलाई योग्य भएपछि नन्दीरात्री स्कुलमा ७ कक्षामा भर्ना गरिदिन्थेंं। त्यहीमध्येको केटो रहेछ ऊ। त्यो समय, रेस्टुराँबाहिर सडकमा एउटी केटी फूलको बिरुवा र बीउ बेच्थी। दुईजनाको प्रेम भएछ र विवाह पनि गरेछन्। पाँच छोरी जन्मिएछन्। हाल पाँचमध्ये चारजना अमेरिकामा र एक अस्ट्रेलियामा छन्। मैले सम्झेका अन्य दुईजना केटाबारे बुझ्दा उनीहरूका छोराछोरीहरू पनि अमेरिका र अस्ट्रेलियामै रहेछन्। उनीहरू भन्छन्, ‘कम्ती दुःख गरिनँ सन्तानहरूलाई यहाँसम्म पुर्याउन। धन्य ती अभिभावक !
आजभोलि जी टीभीमा एक कार्यक्रम आउँछ- सारेगम लिटिल च्याम्प्स्। कति लिटिल च्याम्प्स्का अभिभावक हाउसमेड, ट्याम्पु ड्राइभर, स्विपर, कपडा सिलाइ गर्ने रहेछन्। आफ्ना सन्तानको प्रतिभा निखार्न कति संघर्ष गरे होलान् ती अभिभावकले ? केही अपवादबाहेक हरेक अभिभावक आफ्नो सन्तानको सुख र समृद्धिकै लागि त दुःख र संघर्ष गर्छन्। उनीहरूको खुसीकै लागि त बाँच्छन्।
केही व्यक्तिविशेष तथा समूहलाई हेरेर सारा समाज र अभिभावकविरुद्ध जानु कतिसम्म जायज हुन्छ ? दुव्र्यसन, जाँडरक्सीको कुलत, रिस, राग, लोभलालच आदिका कारण आमाबुवाको अपहेलना गर्ने, वृद्धा श्रममा लगेर छोड्ने, आमाबुवाको हत्यासमेत गर्ने सन्तानलाई के भन्ने ? के उनीहरूको कारण संसारका सारा सन्तानलाई तिरस्कार गर्ने ? उनीहरूविरुद्ध जाने ? राफेलको जस्तो विचार, दर्शण र व्यवहारले भर्खरका किशोर÷किशोरी तथा युवा÷युवतीको दिमागमा कस्तो प्रभाव छोड्ला ? उनीहरूलाई कस्तो मार्गमा डोर्याउलान् ? यो समाज र संसारको स्वरूप कस्तो होला ? यहाँ माया, ममता, प्रेम आदिको स्थान कहाँ होला ? मेरो प्रश्न छ स्यामुयल र उनको जस्तो दर्शन बोकेका तमाम युवालाई।