राता काठा सडकमा पहिरो : एकको मृत्यु, २ घाइते
दार्चुला : दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गएराति १२ बजे पहिरो खस्दा नौगाड गाउँपालिका–४ सिप्टीका ३९ वर्षीय रघुवीरसिंह धामीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिए। खलङ्गाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जान लागेका धामी सडकमाथिबाट आएको पहिरोमा परेका थिए। नौगाड–४ का ३१ वर्षीय मानसिंह ठगुन्ना र वडा नं ३ का उधारो ठगुन्ना घाइते भएका छन्।
घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनएको छ। दार्चुला–तिङ्कर सडकमा सोमबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो। दिउँसो ओहोरदोहोरमा समस्या हुने भए पछि उनीहरु राति त्यही बाटो भएर व्यासतर्फ जाँदै थिए।। दार्चुला–तिङ्कर सडक योजनाका इञ्जिनीयर दिनेश रैखोलाका अनुसार अहिले सो सडक चौडा पार्ने काम भइरहेको छ।सोमबार राति पानी परेका कारण पहिरो खसेको अनुमान गरिएको छ।