हेटौँडाको उद्योगिक व्यापार मेलामा रिद्धिसिद्धि सिमेन्टको निःशुल्क बस सेवा
काठमाडौँ : मकवानपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवलोकनकर्तालाई रिद्धिसिद्धि सिमेन्ट उद्योगले निशुल्क बस सेवा दिने भएको छ।
रिद्धिसिद्धि सिमेन्टको बसले हेटौंडा बजारबाट मेलास्थल हेटौंडा उपमहानगरपालिका-५ क्याम्पा डाँडासम्म बसबाट निःशुल्क लाने ल्याउने भएको हो ।
मंगलबार सङ्घको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उद्योगले आफ्ना उत्पादन सहजरुपमा उपभोक्तासम्म पु्र्याउन मेला प्रदर्शनीहरूको ठुलो भूमिका रहने जनाएको छ।
राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागी हुन पाउँदा खुसी लागेको सिमेन्टका क्षेत्रीय विक्री प्रबन्धक विक्रम खतिवडाले बताए । मेलाको विभिन्न पेसा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध, तथा विद्यार्थीसहित ५ लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।
यस मेलाको लागि रिद्धिसिद्धि सिमेन्टको तर्फबाट ३ वटा बसबाट निशुल्क सेवा दिइने खतिवडाले बताए । फाल्गुन १६ गतेदेखि हुने मेलामा हेटौंडाका विभिन्न स्थानबाट निःशुल्क बस सेवा सञ्चालन गरी दैनिक २ हजारलाई प्रत्यक्ष सेवा दिने लक्ष्य रहेको खतिवडाले बताए ।
मकवानपुरका सामुदायिक विद्यालयसँग समन्वय गरी मेला अवलोकनका लागि हरेक दिन सेवा दिइने पनि बताए । हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मउवा सङ्घको चोक र सिमाचोक शीतल महलचोकबाट बस सेवा हुने खतिवडाले बताए ।
शङ्कर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा निर्माण पुरा हुनै लागेको रिद्धि सिद्धि सिमेन्टले मेलाको अवसरमा सेवा प्रदान गर्न लागेकोमा सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवाद दिए ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कार्यसमिति सदस्य दीपक उप्रेती, सिमेन्ट उद्योगका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थिति थियो ।