आयोजक सैनिक र डीएभी सेमिफाइनलमा
भक्तपुर : आयोजक सैनिक आवासीय महाविद्यालय र डीएभी स्कुल भक्तपुरमा जारी विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएका छन्।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा मंगलबार भएको क्वार्टरफाइनलमा आयोजक सैनिकले त्रियोग स्कुललाई एकसय ६१ रनको भारी अन्तरले पन्छाएको हो।
टस जितेको त्रियोगले फिल्डिङ रोजेपछि व्याटिङमा ओर्लेको सैनिकले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय ११ रनको योगफल तयार गरेको थियो।
उसको लागि स्नोज केसीले नटआउट ५९ रन जोडे। उनले पाँच चौका हाने। त्यस्तै निश्चल तामाङले सात चौकाको मद्दतले ३६ रन बनाए। क्रिश कार्कीले अविजित रहँदै १८ रनको योगदान दिए।
बलिङतर्फ त्रियोगका राजु भुसाल, विराट अर्याल र रोनक थापाले एकएक विकेट लिए।
जवाफी व्याटिङमा आएको त्रियोग १३ ओभर तीन बलमै अलआउट हुँदै ५० रनमा समेटियो। उसका लागि विराट अर्यालले सर्वाधिक २० रन बनाए। उनले एक छक्का र तीन चौका प्रहार गरे। त्यस्तै युवराजसिंह यादवले १५ रनको योगदान दिए।
बलिङतर्फ सैनिकका क्रिश कार्की एक्लैले त्रियोगको ५ विकेट लिए। ३ ओभर ३ बल बलिङ गरेका उनले १७ रनमात्रै खर्चे। जसको फलस्वरुप उनी उक्त स्पर्धाका म्यान अफ दि म्याच घोषित हुन सफल भए।
त्यस्तै सैनिकका श्रीजन गुरुङले ३ र असीम कार्कीले २ विकेट लिए। त्यस्तै मंगलबार नै भएको अर्को क्वार्टरफाइनलमा डीएभीले ईपीएसलाई ८ विकेटले हरायो।
टस जितेर ब्याटिङ रोजेको ईपीएसले १८ ओभरमा सबै विकेट गुमाएर ६७ रनमात्रै जोड्न सक्यो। ईपीएसको लागि अशोक पौडेलले १६ रन जोडे। उनले तीन चौका हानेका थिए। त्यस्तै विश्वास सुवेदीले ११ रनको योगदान दिए।
बलिङतर्फ डीएभीका शुभम दासले ४ विकेट लिए। उनी उक्त स्पर्धाका उत्कृष्ट खेलाडीले पुरस्कृतसमेत भए। त्यस्तै रोनक गोयलले ३ र आशिष शाहले एक विकेट झारे।
जवाफी व्याटिङमा ओर्लेको डीएभीले आठ विकेट बाँकी छँदै लक्ष्य पूरा गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ।
डीएभीको लागि आशिष शाहले अविजित ३१ रन बनाए। उनले एक छक्का र तीन चौका प्रहार गरे। त्यस्तै रोनक गोयलले १५ रनको योगदान दिए। बलिङतर्फ ईपीएसका पियुष केसी र प्रणव सुवेदीले एकएक विकेट लिए।
प्रतियोगिताअन्तर्गत बुधबार राजन मेमोरियल र ग्यालेक्सी तथा जेम्स र सेन्ट जेभियर्सबीचको अन्तिम दुई क्वार्टरफाइनलका स्पर्धा हुने आयोजक सैनिक महाविद्यालयका खेलकुद इन्चार्ज रञ्जित राणाले जानकारी दिए।