सातदोबाटो–नारायणगोपाल चोक मेट्रो रेल : डीपीआर गर्न परामर्शदाता छनोटको समय थप

सातदोबाटो–नारायणगोपाल चोक मेट्रो रेल : डीपीआर गर्न परामर्शदाता छनोटको समय थप

काठमाडौं : सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रोरेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि माग गरिएको बोलपत्रको समय थप गरेको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले रेल विभागले तयार पारेको बोलपत्रमा प्राविधिक त्रुटि भेटिएकाले समय थप गरिएको जानकारी दिएको छ।

‘अनलाइनबाट बोलपत्रमा सहभागी हुने गरी आशयपत्र माग गरिएको थियो। तर, बोलपत्रमा हार्ड कपीमा बुझाउन सकिने शब्द परेको रहेछ’, कार्कीले भने, ‘त्यसलाई संशोधन गरेर हार्ड कपी बनाउने तयारी प्रक्रियामा सहभागी गराउन समय थप गरिएको हो।’

सातदोबाटो–नारायणगोपाल चोकसम्म १२ किलोमिटर लामो मेट्रोरेलको डीपीआर तयार गर्ने परामर्शदाता खोज्न माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो। डीपीआर निर्माण गर्न इच्छुक परामर्शदाताले फागुन १३ गतेभित्र अनलाइनमार्फत आशयपत्र बुझाउने समय दिइएको थियो। तर, प्राविधिक गडबडीका कारण हार्डकपी पनि बुझाउन सकिने व्यवस्था थियो। केही परामर्शदाताले हार्ड कपीमा आशयपत्र तयार गरिरहेका थिए। त्यस्ता परामर्शदातालाई पनि प्रक्रियामा सहभागी गराउने म्याद तीन दिन थप गरिएको उनले बताए। परामर्शदाताले फागुन १६ गतेसम्म आशयपत्र बुझाउन पाउनेछन्।

यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए। त्यही प्रतिवेदनका आधारमा डीपीआर तयार गर्नुपर्ने हुन्छ। परामर्शदाताको योग्यता, अनुभव र क्षमता (प्राविधिक पक्ष)को आधारमा डीपीआर तयार गराइने चित्रकारको भनाइ छ।

रेल विभागले तयार पारेको बोलपत्रमा प्राविधिक त्रुटि भेटिएकाले समय थप गरिएको हो।

विभागले आह्वान गरेअनुसार आशयपत्र पेस गर्ने परामर्शदामध्ये पहिलो चरणमा प्राविधिक रूपमा प्रारम्भिक सूची छनोट गरिनेछ। प्रारम्भिक सूचीमा पर्न प्राविधिक मूल्यांकनमा न्यूनतम ७० अंक ल्याउनुपर्छ। विभागले योग्यता ४२, अनुभव ४८ र क्षमता १० अंक हुने बताएको छ। सूचीकृत भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ। सोही कम्पनीले डीपीआर तयार पार्नेछ। सूचीकृत भएका कम्पनीले विस्तृत सर्वेक्षण, ढाँचा र डीपीआर निर्माण गर्नुपर्नेछ।

विभागले चैतभित्र डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्ने लक्ष्य राखेको छ। कर्मचारी तथा उपकरण परिचालन गर्न तीन महिनाको समय हुनेछ। निर्माण कार्य सुरु गरिएको १२ महिनाभित्र डीपीआर पूरा गर्नुपर्ने हुन्छ। साथै, परामर्शदाताले साढे दुई महिनामा विभागलाई मेट्रोरेलको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनको मस्यौदा बुझाउनुपर्छ।

योसहित काठमाडौं उपत्यकामा तीनवटा निकाय रेलको डीपीआर निर्माणको प्रक्रियामा छन्। काठमाडौं महानगरपालिकाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा चक्रपथको साढे २७ किलोमिटरमा मोनोरेल सञ्चालन गर्ने योजना बनाएको छ। मोनोरेलको डीपीआर तयार गर्न चाइना रेलवे २५औं ब्युरो ग्रुपसँग सम्झौता भइसकेको छ। सम्झौताअनुसार ग्रुपले १२ महिनामा डीपीआर तयार गर्नुपर्नेछ। यो सम्झौता २०७५ पुसमा भएको थियो।

यस्तै लगानी बोर्ड काभ्रेको धुलिखेलदेखि काठमाडौंको नागढुंगासम्म मेट्रोरेल निर्माण गर्ने प्रक्रियामा छ। नागढुंगा–धुलिखेल ४५ किलोमिटर लामो मेट्रोरेलको डीपीआर बनाउन बोर्डले गत जेठ ३ गते प्रस्ताव माग गरेको थियो। डीपीआर तयार गर्न प्रारम्भिक रूपमा सूचीकृत भएका चार कम्पनीको मूल्यांकन बोर्डबाट भइरहेको छ। ती कम्पनीमध्ये प्राविधिक तथा आर्थिक रूपमा सबल कम्पनीले डीपीआरको तयार गर्ने जिम्मेवारी पाउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.