‘ब्रेक थ्रु अवार्ड’ पाएका सन्दीपको यस्तो थियो सीपीएलमा प्रदर्शन
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट लिग खेल्न व्यस्त रहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय लिगबाटै अवार्ड पनि जित्न थालेका छन् । सन्दीपलाई सोमबार वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले ‘ब्रेक थ्रु स्टार’ अवार्ड प्रदान गरेको हो ।
उनले गत अक्टुबर, सेप्टेम्बरमा भएको क्याराबिन राष्ट्रहरूमा भएको टी-ट्वीन्टी क्रिकेट लिग सीपीएलमा पहिलो पटक खेल्ने अवसर पाएका थिए । सन्दीपलाई पाँच हजार डलरमा सेन्ट किट्स एन्ड नेभिस पेट्रिवट्सले अनुबन्ध गरेको थियो । उनले प्रतियोगितामा पाएको अनुबन्ध र सेन्ट किट्स एन्ड नेभिस पेट्रिवट्सबाट गरेको प्रदर्शनकै आधारमा यो अवार्ड प्राप्त गरेका हुन् । उक्त लिगमा ५ खेल मात्रै खेलेका उनले ७ विकेट लिएका थिए ।
१७ ओभर बलिङ गरेका सन्दीपले १ ओभर मेडन गर्दै १०६ रन मात्रै दिएका थिए । उनको बलिङ इकोनोमी ६.२४ रह्यो । सीपीएल २०१८ को बेस्ट बलिङ एकोनोमीमा सन्दीप पाचौं स्थानमा रहन सफल भए । यस प्रतियोगितामा सेन्ट किट्स एन्ड नेभिस पेट्रिवट्सलाई विकेट दिलाउनेको सूचीमा सन्दीप चौथो स्थानमा छन् । ११ खेल खेलेर १३ विकेट लिएका अस्ट्रेलियाका बेन कटिङ पहिलो स्थानमा छन् ।
यस लयलाई हेर्दा सन्दीपले टोलीको पूरै खेल खेलेका भए । धेरै विकेट लिनेको सूचीमा माथिल्लो स्थानमा अटाउने सम्भावना देखिन्छ । ५ खेल खेलेपछि उनी एसिया कप छनोट खेलका लागि नेपाली टोलीबाट खेल्न मलेसिया गएका थिए ।
हाल पाकिस्तान सुपर लिग (पीसीएल) खेल्न दुबईमा छन् ।