सानो उमेर, ठूलो बुद्धि
काठमाडौं : हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरे अर्थात् धुर्मुस र सुन्तली चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न क्रिकेट स्टेडियम बनाउने अभियानमा जुटेका छन्। उनीहरूको यो अभियानलाई देश विदेशबाट सहयोग प्राप्त भइरहेको छ। यसै क्रममा काठमाडौं गोंगबुस्थित साउथ वेस्टर्न विद्यालयका विद्यार्थी नयाँ अभियानसहित धुर्मुस सुन्तलीको अभियानलाई सहयोग गर्न जुटेका छन्।
विद्यालयको कक्षा ९ मा अध्ययनरत छात्र ऋतिक भेटवाल नयाँ प्रस्तावसहित साथीहरूसँग प्रस्तुत भए। उनले आफ्ना साथीहरूलाई भनेका थिए, ‘धुर्मुस सुन्तलीले यत्रो ठूलो काम सुरु गरेका छन्। हामी पनि यसमा सहयोग गर्न सक्छौं।’ तर कसरी ? उनले प्रस्ट्याए, ‘हामी आन्तरिक क्रिकेट प्रतियोगिता गरौं र प्रत्येक खेलाडीबाट प्रवेश शुल्कस्वरूप ५०÷५० रुपैयाँ उठाएर सो रकम धुर्मुस-सुन्तली फाउन्डेसनलाई क्रिकेट रंगशाला निर्माणका लागि हस्तान्तरण गरौं।’
उनको प्रस्तावलाई साथीहरू सबैले स्वीकार गरे। त्यसपछि ऋतिकसहित उनका साथीहरू उपेन्द्र चापागाईं, संकल्प मरासिनी, रितेश नेपाल, विशाल उप्रेती र उत्सव पाठक मिलेर प्रतियोगिता आयोजनाका लागि जुटे। उनीहरूको प्रयासलाई विद्यालयले पनि साथ दियो। त्यसअनुसार आइतबार सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको छ। प्रतियोगिताबाटै ६ हजार रुपैयाँभन्दा बढी रकम उठेको छ। त्यसबाहेक विद्यालयका शिक्षकहरूले थप सहयोगको बाचा गरेका छन्।
विद्यार्थीले गरेको यो सानो प्रयास हो, जसबाट तीन अर्ब रुपैयाँ लागत अनुमान गरिएको रंगशाला निर्माणका लागि एक प्रतिशत रकम पनि उठ्दैन। तर, उनीहरूको यो अभियानले दिने सन्देश निकै ठूलो छ। यसले उनीहरूजस्ता लाखौं बालबालिका, युवा र विभिन्न प्रतिष्ठानलाई त्यसैगरी रकम संकलन गर्न प्रेरित गर्न सक्ने छ। त्यसबाटै लाखौं करोडौं रकम उठ्न सक्छ।
‘विद्यार्थीले यो प्रस्ताव लिएर आउँदा रकम धेरै उठ्दैन भन्ने निश्चित थियो तर उनीहरूको यो सुरुआतले धेरैलाई प्रभाव पार्न सक्छ’, विद्यालयका प्रधानाध्यापक मनोज आचार्यले भने, ‘राम्रो उद्देश्यका लागि हुने राम्रो कामको समर्थन गरौं भनेर हामीले पनि विद्यार्यीलाई पढाइ नै रोकेर भए पनि प्रतियोगिता गर्न अनुमति दिएका छौं।’ विद्यार्थीले आफूहरूले संकलन गरेको रकम धुर्मुस-सुन्तलीलाई नै भेटेर हस्तान्तरण गर्ने इच्छा व्यक्त गरेका छन्।