बैतडीमा सातौं पटक हिमपात
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा सातौं पटक हिमपात भएको छ। सोमबार राति केही ठाउँमा मात्र हिमपात भएपनि मंगलार राति भने जिल्लाका धेरैजसो ठाउँमा हिमपात भएको छ। केही दिन अघिबाट मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात भएको छ। हिमपातका कारण स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ।
जिल्लाका सतबाँझ,ग्वाल्लेक,खोड्पे, श्रीभावर, ढोल्यामोड, बाचपानी, नाचन्थली, जित्कीजुँवाड, सिगासधुरालगायतका उच्च क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्। लगातार भइरहेको हिमपातले दैनिक जनजीवन कष्टकर भएको सतबाँझका शेरसिंह टेरले बताए। उनले यो सातौं पटक हिमपात भएको बताए।
हिमपातले बाहिरभित्र जान समेत समस्या भएको छ। हिमपातका कारण पशुचौपायालाई समेत समस्या भएको छ। हिमपातका कारण दैनिक कामकाजमा बाधा पुगेको सतबाँझकै हर्क टेरले बताए। उनले भने, 'हिमपातले निकै चिसो बढेको छ। लगातार हिमपात भइरहेकाले दैनिक कामकाजमा समस्या भएको छ।'
उच्च लेकाली क्षेत्रमा लगातार हिमपात भइरहेकाले आवतजावतमै समस्या हुने गरेको सिगासका भानसिंह धामीले बताए ।लगातारको हिमपातले ग्रामीण क्षेत्रमा आवतजावतमै समस्या भएको उनले बताए। हिमपातका कारण बैतडीको अनारखोलीमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए।हिमपातका कारण अनारखोलीमा सडक अवरुद्ध भएको छ। तराईबाट बझांग, बैतडी र दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन्। सडक खुलाउन स्काभेटर पठाएको प्रहरीले जनाएको छ।
यस्तै खोड्पेदेखि बझाङ जोड्ने सडक जयपृथ्वीराजमार्गको पनि विभिन्न ठाउँमा पनि बाक्लो हिमपात भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए। हिमपताले चिसो बढेपनि हिउँदेबाली उत्पादनमा भने वृद्धि हुने किसान बताउँछन्।'यो हिमपात हिउँदे फलफूल,हिउँदेबाली र तरकारीबालीका लागि फाइदाजनक भएको छ, 'किसान विष्णुदत्त भट्टले भने, 'धेरै वर्षपछि यसरी लगातार हिमपात भइरहेको छ।यसले गर्दा विभिन्न किसिमका रोगकीराहरु नष्ट हुन्छन्। यसले बालीनालीको उत्पादनमा वृद्धि ल्याउँछ।'