सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात, जनजीवन कष्टकर
डडेल्धुरा : सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लामा सोमबार रातपदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित बनेको छ।
पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको हो। करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ। केही दिन यतादेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै मंगलबार राति डडेल्धुरामा हिमपात भएको हो।
जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भएको छ। लामो समयपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको स्थानीयले बताएका छन्।फागुन महिनाको दोस्रो हप्तामा भएको हिमपात भएपछि डडेल्धुराबासी हर्षित भएका छन्।
हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या भएको स्थानीयले बताए। एक्कासी बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन्। पटकपटक भइरहेको हिमपातका कारण पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भएपनि निरन्तर रुपमा भइरहेको वर्षाका कारण सिँचाई हुने खेतमा लगाइएको गहुँलगायतका अन्नबाली भने नहुने हो की भन्ने पीर यहाँका किसानमा छ।यो वर्ष डडेल्धुरामा पाँचौ पटक हिमपात भएको हो।