सम्पतिका लागि काकीको हत्या, भतिजालाई जन्मकैद, छोरीज्वाई फरार
राजविराज : सम्पतिका लागि काकीको हत्या गर्ने बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनका ३९ वर्षीय शत्रुघ्न मण्डललाई जन्मकैदको सजाय भएको छ। उर्मिलादेवी मण्डलको घाँटी रेटी हत्या गरेको आरोपमा मण्डललाई जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले जन्मकैद सजायको फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले बताए। हत्या आरोपमा मण्डल ०७१ चैत २२ गतेदेखि नै पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।
स्रेस्तेदार वर्देवाका अनुसार ०७२ जेठ १३ गते एक लाख धरौटीमा र पुनरावेदन अदालत राजविराजबाट सामान्य तारेखमा रिहा भएका सोही ठाउँका ५० वर्षीय रामध्यानी मण्डलमाथिको अभियोग दावी नपुग्ने भन्दै अदालतले सफाई दिएको छ।
हनुमाननगर कंकालिनी नगरपालिकाबाट ०७१ फागुन २३ पक्राउ परेका शत्रुघ्नको बयानका आधारमा रामध्यानीलाई समेत प्रहरीले मुद्दा चलाएको थियो। रामध्यानी मृतक उर्मिलाका सहयोगी र शत्रुघ्नका विरोधी भएकाले नाम पोलिएको पुष्टि भएको छ।
हत्या आरोपमा फरार रहेका मृतककी सौता हल्सीदेवी मण्डलका छोरीज्वाई महदेवा गाउँपालिका-६ का ५१ वर्षीय सत्यनारायण मण्डल र राजगढ गापा-४ बेल्ही चपेनाका ५० वर्षीय रमानन्द मण्डल हालसम्म पक्राउ परेका छैनन्।
हत्याको कारण सम्पति
अभियुक्तले ०७१ साउन ११ गते राति उर्मिलाको हत्या गरेका थिए। जग्गा जमिन र सम्पति हात पार्न हत्या गरेको अनुसन्धानमा खुलेको छ। माइली श्रीमति हल्सीदेवीतर्फ चार छोरी मात्र भएपछि वासुदेव मण्डलले बुढेसकालमा ब्रह्मपुर विषहरियाकी उर्मिलादेवीलाई कान्छी श्रीमतिका रुपमा भित्र्याएका थिए।
शत्रुघ्नका अनुसार बासुदेवकी जेठी श्रीमतिको मृत्यु भएको र साइली र काइलीले छाडेर गएका थिए। कान्छी उर्मिलातर्फ एक छोरी सुनीता छिन्। सुनीताको नागरिकतामा बुवाको नाम बासुदेव मण्डल र आमा उर्मिलाको नाम उल्लेख छ। सुनीता उर्मिलाको पहिलो श्रीमानको छोरी भएको तर बासुदेवले सुनीतालाई छोरीका रुपमा नागरिकता बनाए मात्र विवाह गर्ने उर्मिलाको शर्तअनुसार नागरिकता बनाई दिएकोले नक्कली छोरी भएको बासुदेवका भाइ असर्फि र उनका छोरा शत्रुघ्नले बताउँदै आएका छन्।
बासुदेवको ०७० माघमा मृत्यु भएपछि उनको अंश दुई श्रीमतिलाई मात्र अंशवण्डा गर्ने वा सुनीतावाहेकका चार छोरीसहित दुई श्रीमतिलाई अंशवण्डा गर्ने विषयमा विवाद सुरु भयो। उता बासुदेवका भाइ असर्फि र असर्फिका छोरा शत्रुघ्न मण्डलले १८ लाखमा बासुदेवसँग ०६२ सालमै जमिन किनेको दावी गर्दै अदालतमा मुद्दा चलाएका थिए।
छोरी मात्र भएका बासुदेवको सम्पतिको आश छोरीज्वाईले गरेका थिए। छोरा नभएका बासुदेवको सम्पतिमा भतिजाले पनि आँखा गाढेका थिए। जन्मकैद सजाय पाएका शत्रुघ्न बासुदेवका भतिजा हुन् भने फरार रहेका सत्यनारायण र रमानन्द बासुदेवकी माइली श्रीमति हल्सीदेवीका छोरीज्वाई हुन्।
पुनरावेदन अदालत राजविराजले ०७० चैत १६ गते बासुदेवको नाममा रहेको जमिनमा कान्छी श्रीमति उर्मिलालाई समेत बाली लगाउन, उठाउन र घरमा बस्न दिनु भन्दै निषेधायुक्त परमादेश जारी गर्यो। तथापि आरोपितले बस्न, बाली उठाउन नदिए पछि बढेको विवादमा आरोपित शत्रुघ्न, सत्यनारायण, रामचलित्र मण्डललगायतकाले उर्मिला र उनलाई बचाउन आएका शिव मण्डल, धर्मनारायण मण्डल र केशरीदेवी मण्डललाई ०७१ जेठ १२ गते रड, लाठीले प्रहार गरी घाइते बनाए । यस क्रममा उर्मिलाको खुट्टा भाँचियो र स्टिल लगाउनु परयो।
अदालतको आदेश कार्यान्वयन नभएको र आफूमाथि ज्यान मार्ने प्रयास गरेको भन्दै उर्मिलाले आवश्यक कारवाहीका लागि ०७१ जेठ १३ गते जिल्ला प्रहरी कार्यालयमा र शान्ति सुरक्षाका लागि ०७१ साउन ४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन्।
प्रहरीका अनुसार लामो समयदेखि परिवारका सदस्यबीच सम्पतिका लागि विवाद चलिरहेको थियो। पटक-पटकको आक्रमण, धम्कीबाट नडराएकी उर्मिलाले प्रहरी र अदालतमार्फत सम्पति पाउने स्थिती देखेपछि उर्मिलालाई मारे मात्र आफूहरुले सम्पति पाइने आसमा हत्या गरेको अनुसन्धानबाट खुलेको छ।
यसरी भयो हत्या
उर्मिला र आरोपितका बीच भइरहेको विवादलाई प्रहरीले सामान्य रुपमा लियो र उजुरी दर्ता गरी कारवाही गर्नुको साटो छलफल गरेर घरायसी समस्या समाधान गर्ने प्रयास गर्यो। यस विषयमा जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षलाई राखेर पटक-पटक छलफल भयो।
छलफल नमिलेपछि जिल्ला प्रहरी कार्यालयले जसरी पनि मिलापत्र गराउनु भन्दै सक्कल निवेदनसहित दुबै पक्षलाई प्रहरी सुरक्षा वेस क्याम्प पत्थरगाढा पठायो। पत्थरगाढामा ०७१ साउन ११ गते भएको छलफलमा दुबै पक्षको चर्को विवादका बीच लिखित रुपमा दुबै पक्षबीच जबरजस्ती सहमति गराइयो।उर्मिलालाई स्व.पतिको घरमा बस्न दिने, झैझगडा नगर्ने भनी लेखिएको सहमति पत्रमा दुबै पक्षको हस्ताक्षर छ।अदालतको आदेश नमानेका आरोपितहरुले प्रहरीले गराएको सहमतिको पनि तत्कालै उल्लघंन गरे र उर्मिलालाई धम्की दिए।
छलफलका क्रममा रात परेकाले विवादकै बीच पीडित ०७१ साउन ११ गते राति बिष्णुपुर गाउँपालिका-४ सिम्राहा सिंग्यौनका दिनेश यादवको स.१प ७४१५ नम्बरको मोटरसाइकलमा चढी राजगढ गाउँपालिका-४ बेल्ही चपेनास्थित छोरीज्वाई जितनारायण मण्डलको घरतर्फ लागिन।
सौता हल्सीदेबी, उनका छोरी ज्वाइहरु, देवर असर्फी मण्डल र उनका छोरा शत्रुघ्नसँग विवाद बढेकाले असुरक्षित महसुस गरेकी उर्मिला छोरी सुनीता र ज्वाई जितनारायणसँग बस्दै आएकी थिइन्।
छोरीको घर नपुग्दै मोटरसाइकल रोकेर कुटपिट गर्दै आफ्नो मोबाइल खोसी उर्मिलालाई घिस्याउँदै हतियारसहित आएका अभिुयुक्तले एक सय मिटर पर लगेको दिनेशले बताए। खुट्टामा स्टिल लागेको छ, नघिस्याउनु भनेर उर्मिलाले गुहार लगाए पनि आततायीहरुले गालीगलौज र कुटपिट गर्दै लगेको उनले बताए।
राजगढ गाउँपालिका-४ बेल्ही चपेनाको पिप्रास्थित कोशी पम्प नहरको शाखा नम्बर ४ को किनारमा भोलिपल्ट उर्मिलाको शव फेला पर्यो। धारिलो हतियारले हात, खुट्टा काटिएको र गर्धन छिनिएको अवस्थामा फेला परेको शवको पोष्टमार्टम राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा ०७१ साउन १२ गते भयो।
मृतककी छोरी सुनीतादेबी मण्डलले जिल्ला प्रहरी कार्यालयमा ०७१ साउन १३ गते दिएको उजुरी प्रहरीले दर्ता गर्न अस्विकार गरेको भन्दै मृतकका भिनाजुका भाई शम्भुनाथ नगरपालिका-१० रामपुर जमुवाका ३५ वर्षीय गोबिन्दकुमार मण्डलले राजविराजस्थित हुलाक कार्यालयबाट आठजना आरोपितविरुद्ध ०७१ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए।
प्रहरीले पीडितकी छोरी सुनीतादेवीको उजुरी दर्ता गरी अनुसन्धान अघि बढायो। प्रहरीले हत्याभन्दा अगाडिका घटना, अभिुक्तको कल डिटेल्स, सम्बन्धित व्यक्तिको बयानका आधारमा अनुसन्धान अगाडि बढाउँदा उर्मिलालाई मारे मात्र आफूहरुले सम्पति पाइने आशामा निर्ममतापूर्वक हत्या गरिएको प्रहरीले बताएको छ।