मन्त्रिपरिषद् बैठक : हेलिकप्टर दुर्घटना छानबिन समिति गठन, बिहीबार सार्वजनिक बिदा
काठमाडौं : मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो।
दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रदिवेदन पेश गर्ने गरी नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन भएको हो । समिति सदस्यमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा सबैजनाको घटनास्थलमै मृत्यु भएको हो।
सरकारले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ। बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी