दबाबपूर्ण जोखिमले दुर्घटना : विज्ञ

दबाबपूर्ण जोखिमले दुर्घटना : विज्ञ

काठमाडौं : खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने ।

‘दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै विषय भयो । त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुन सक्छन् । मन्त्री र हेलिकप्टर मालिक हुँदाहुँदै जोखिम लिएर उडेको हुन सक्छ’, उनले भने ।

नियामक निकाय, एयरलाइन्सका मालिक र मन्त्री भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ । दुर्घटनामा परेको हेलिकप्टर १२ हजार ४४८ फिट उचाइमा ७ जना यात्रु बोकेर उडेको थियो । मानन्धरका अनुसार जाँदा तौल बढी भए पनि फर्किएर तेल खपत भइसकेकाले तौलका कारण जोखिम कम भएको हुनुपर्छ । तर त्यो अल्टिच्युडमा यात्रु बोक्नु र नियम केलाउने हो भने १० हजार फिटमाथि उड्दा अक्सिजन लगाउनुपर्ने नियम पनि पालना भयो कि भएन भनेर पनि हेर्नुपर्ने मानन्धर बताउँछन् । जहाज दुर्घटना जाँच आयोगले दिने हरेक प्रतिवेदनको सुझाव कार्यान्वयनको पाटो पनि अर्को महŒवपूर्ण पक्ष रहेको उनको भनाइ छ ।

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली दुर्घटनालाई इतिहासभन्दा फरक रूपमा हेर्नुपर्ने बताउँछन् । उनले भने, ‘साधारण मान्छेले बुझ्ने त मौसम हो । तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।’ पाइलटले कसैले दबाब दिँदैमा ज्यानै जाने गरी जोखिम लियो भनेर भन्न नसकिने उनले बताए । उनले भने, ‘एउटै कारणले दुर्घटना हुने होइन । यसअघिका केही दुर्घटनाका प्रतिवेदन कार्यान्वयन भए वा भएनन्, त्यो हेर्नुपर्छ ।’ उनले कमजोरीलाई सुधार गर्दै जानुपर्नेमा त्यस्तो नभएको बताए । ‘नेपालको हवाई उड्डयनको इतिहासमा भएको यो खालको दुर्घटनाको विस्तृत अध्ययन हुनुपर्छ । अहिले नै कसैलाई दोष लगाउनु उपयुक्त हुँदैन’, दलीले भने ।

दुर्घटना जाँच आयोग गठन

सरकारले हेलिकप्टर दुर्घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान गर्न जाँच आयोग गठन गरेको छ । पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित जाँच आयोगमा चारजना सदस्य छन् । आयोग सदस्यमा नेपाली सेनाका सहायक रथी दीपक बास्तोला र अवकाश प्राप्त क्याप्टेन प्रमोद लामा सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव छन् ।

क्याप्टेन प्रभाकर केसी

क्याप्टेन प्रभाकर केसीले एयर डाइनेस्टीको हेलिकप्टर उडाउन थालेको ६ वर्ष भएको थियो । उनले विगत साढे ३ वर्षदेखि क्याप्टेनका रूपमा हेलिकप्टर उडाइरहेका थिए । काठमाडौं ताहाचलका स्थायी बासिन्दा केसीको परिवारमा बुबाआमा र दाजु छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.