निभ्यो आशाको दीप

निभ्यो आशाको दीप

पोखरा : आफूजत्रै ठिटो स्कुल नगएर बाख्रा चराइरहेका देख्दा उनको मनमा कौतूहल पैदा हुन्छ। घरमा बाबाआमालाई सोध्दा थाहा पाउँछन्, ‘त्यो ठिटो अरू कसैकहाँ हली–बाउसे गरेर गरिखाने मान्छेको छोरो हो, उसको परिवारले स्कुल पठाउने ल्याकत राख्दैन।’ जिज्ञासु ठिटोलाई आफ्ना समवयी पनि स्कुल आउने कसरी होला भन्ने लागिरह्यो। पछि कुनै दिन स्कुलमा नचिनेका मान्छे आएर केही कुरा गरे। उनीहरूले त्यस्तै ठिटालाई स्कुल पठाउने कुरा गरे। सबैलाई समान अधिकार बनाउने कुरा गरे। त्यसपछि ठिटो राजनीतिमा आकर्षित भयो।

शान्ति उदय मावि भरतपोखरीमा ८ कक्षा पढ्दा ती नौला मान्छेका कुराले आकर्षित भएको ठिटो पछि साँच्चिकै राजनीतिमा होमियो। नेकपाका नेता तथा गण्डकी प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ ८ कक्षामै पढ्दै गरेका रवीन्द्र अधिकारीलाई राजनीतिमा डोर्‍याएको सम्झन्छन्। भन्छन्, ‘सानो–सानो मान्छे तर साह्रै टाठो र जिज्ञासु, म नेकपा माले कास्कीको सदस्य थिएँ र त्यस्तै विद्यार्थी खोज्दै गएको थिएँ।’ त्यसपछि पृथ्वीनारायण क्याम्पसमा फेरि किरणसँग रवीन्द्र जोडिए। रवीन्द्र ०४४ सालमै अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटीको अध्यक्ष बने। स्ववियु सदस्य, अध्यक्ष हुँदै त्रिविमा स्ववियु सभापति, अनेरास्ववियु अध्यक्ष हुँदै रवीन्द्र पार्टी राजनीति प्रवेश गरेर पर्यटनमन्त्रीसम्म भए।

०५६ सालमा एमाले फुटेर बनेको मालेबाट कास्की–१ मा आमनिर्वाचन हारेका रवीन्द्रले त्यसपछिका कुनै पनि आमनिर्वाचनमा हार व्यहोर्नु परेन। ०६४ मा माओवादीको दबदबा हुँदा पनि उनले कास्की–३ बाट संविधानसभा निर्वाचन जिते। ०७० मा दोस्रोचोटि संविधानसभा सदस्य बने। ०७४ को आमनिर्वाचन जितेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका उनले कार्यकालको १ वर्ष पूरा नहुँदै हेलिकप्टर दुर्घटनामा परी ज्यान गुम्यो। मन्त्री किरण गुरुङ रवीन्द्रमा निकै सम्भावना थियो भन्छन्। पार्टीमा सबैथरीलाई मिलाउन सक्ने खुबी किरणलाई मन पथ्र्याे। भन्छन्, ‘पार्टीकै अध्यक्ष हुन सक्ने खुबी उहाँमा थियो।’

रवीन्द्रमा सबैभन्दा ठूलो गुण नै ‘गुड ह्युमेन बिइङ’ को थियो भन्छन् उनलाई नजिकबाट चिन्ने पोखरेली। लोकतान्त्रिक विचार राख्ने सामाजिक अभियन्ता विश्व सिग्देल रवीन्द्रमा कहिल्यै राजनीतिक आग्रह नदेखेको सुनाउँछन्। तीर्थ श्रेष्ठ पनि सिग्देलकै जस्तो मान्यता राख्छन्। भन्छन्, ‘फरक विचार राख्नेहरूप्रति उनी कहिल्यै फरक प्रस्तुत भएनन्। अग्रजलाई सधैं आदर गर्थे।’ पोखराको पर्यटन र कलासाहित्यलाई रवीन्द्रको अपार माया व्यवहारमै प्रकट भएको तीर्थ बताउँछन्। भन्छन्, ‘गण्डकी प्रदेशको मात्र होइन, देशकै आशाको दियो झ्याप्पै निभ्यो।’

पर्यटन व्यवसायी वासु त्रिपाठी कहिल्यै नरिसाउने र पूर्वाग्रह नराख्ने नेताका रूपमा रवीन्द्रलाई सम्झन्छन्। उनले भने, ‘१८ घन्टासम्म खटिन सक्ने मान्छे, उहाँले नागरिक उड्डयन क्षेत्रमा धेरै सुधार गर्नुभएको छ।’

पोखरा महानगरपालिका–३३ भरतपोखरीमा ०२६ साल वैशाख २२ गते जन्मिएका रवीन्द्रको बसोबास पछिल्लो समय वडा नम्बर ५ मालेपाटनमा थियो। छिमेकी सीता पौडेल बुधबार रवीन्द्रको घर पस्न सकिनन्। ८० वर्षीया उनी भन्छिन्, ‘जस्तो मेरो छोरो उस्तै हो।’ उनले रवीन्द्र गाउँमा आउँदा आँगनभरि, बाटोभरि मान्छे भेला हुने गरेको सम्झिइन्। उनले भनिन्, ‘ऊ भए गल्ली भरिन्थ्यो। आमा जान्छु है भन्थ्यो।’

काठमाडौं आउनेक्रममा पर्यटन मन्त्री रवीन्द्र अधिकारीका पिता इन्द्रप्रसाद अधिकारी पोखरा विमानस्थलमा। तस्बिर : रासस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको दबाबमूलक आन्दोलनको अगुवा गरेका रवीन्द्र नागरिक उड्डयनमन्त्री हुँदा नै यसको निर्माणले तीव्रता पाएको थियो। गाउँघरमा खानेपानी, बाटोघाटो र पुल निर्माणका लागि सांसद छँदै थुप्रै काम गरेका उनले राजनीतिभन्दा ज्यादा विकासप्रेमी नेताको छवि बनाएका थिए। त्यसो त अनेरास्ववियु अध्यक्ष हुँदा सार्वजनिक यातायातमा विद्यार्थीका लागि ३३ प्रतिशत छुट दिलाउन सफल भएर चर्चित बने। गायक प्रवीण गुरुङलाई गाडीले किचेर मारेका तत्कालीन शाहज्यादा पारसलाई कारबाही माग्दै दरबारलाई ५ लाख २३ हजार हस्ताक्षर बुझाउँदै उनले भनेका थिए, ‘हत्यारा बस्ने दरबारमा होइन, कारागारमा हो।’ राजनीतिमा चाहिने निर्भीकपनसँगै अध्ययन र बौद्धिकता पनि उनीसँग थियो। फुर्सदै निकालेरै किताब पढ्थे। लेख लेख्थे। २ वटा किताब पनि लेखे—संविधानसभा : लोकतन्त्र र पुनःसंरचना अनि समृद्ध नेपाल।

रवीन्द्रकै हौसला पाएर पोखरामा ३ वर्षदेखि नेपाल लिचरेचर फेस्टिभल आयोजना गरिरहेका बुकवर्म फाउन्डेसनका नीरज भारी सहृदयी नेताका रूपमा सम्झन्छन्। भन्छन्, ‘रवीन्द्र दाइ जहिल्यै राजनीतिक आस्थाभन्दा धेरै माथि सोच्नुहुन्थ्यो र सधैं सकारात्मक सोच्नुहुन्थ्यो।’ रवीन्द्र अधिकारीसँग ०७४ को चुनावी प्रतिस्पर्धा गरेका कांग्रेस नेता देवराज चालिसे अल्पायुमै भएको रवीन्द्रको निधनबाट स्तब्ध भएको बताउँछन्। ‘हामीले चुनावमा प्रतिस्पर्धा गर्‍यौं तर प्रतिद्वन्द्वीता भएन, अलग राजनीतिक दलमा भए पनि सधैं आत्मीय थियौं’, उनले भने, ‘अलग पार्टीका हौं भन्ने फिलिङ पनि थिएन हामी दुवैमा।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.