रियल म्याड्रिडको लज्जास्पद हार, बार्सिलोना फाइनलमा
म्याड्रिड : रियल म्याड्रिडलाई उसैको मैदानमा निरीह बनाउँदै बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार बिहान खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा रियल म्याड्रिडलाई ३—० गोलले हराएको हो।
उक्त नतिजासँगै बार्सिलोना ४—१ कुल गोल भिन्नताका आधारमा फाइनलमा पुग्यो। यसअघि बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो। बार्सिलोना लगातार छैटौं पटक कोपा डेर रेको फाइनलमा पुगेको हो।
बहुप्रतिक्षीत ‘एल क्लासिको’ भिडन्तमा बार्सिलोनालाई महत्वपूर्ण जित दिलाउन उरुग्वेका अनुभवी खेलाडी लुइस स्वारेजले दुई गोलको योगदान गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५० औं मिनेटमा स्वारेजले ओसमेन डेम्बेलको पासमा टोलीका लागि पहिलो गोल गरेका थिए।
यसैगरी ६९ औं मिनेटमा रियलका राफेल भारानेबाट आत्मघाति गोल भएपछि बार्सिलोना २—० ले अगाडि बढ्यो। ७३ औं मिनेटमा स्वारेजले नै पेनाल्टीमार्फत अर्को गोल गर्दै बार्सिलोनालाई सजिलै फाइनलमा पुर्याए। कासेमिरोले फल खेलेपछि बार्सिलोनाले पेनाल्टी प्रहारको अवसर पाएको थियो।
खेलका क्रममा रियलका खेलाडीले बार्सिलोनाको पोष्टमा १४ वटा सशक्त प्रहार गरे पनि टोलीलाई लज्जास्पद हारबाट भने जोगाउन सकेनन्। अर्को ‘एल क्लासिको’ यही शनिबार खेलिँदै छ। शनिबार स्पेनिस ला लिगामा बार्सिलोना र रियल म्याड्रिड फेरि आमने सामने हुनेछन्।
यसअघि गत अक्टोबरमा भएको ‘एल क्लासिको’ भिडन्तमा पनि बार्सिलोनाले रियल म्याड्रिडलाई ५—१ गोलले हराएको थियो। त्यतिबेला स्वारेजले ह्याट्रिक गरेका थिए। त्यो लज्जास्पद हारलगत्तै रियलले प्रशिक्षकलाई पदबाट बर्खास्त गरेको थियो।
कोपा डेल रेको फाइनल भने आगामी मे २५ तारिखमा खेलिने छ। फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया वा रियल बेटिसको सामना गर्नेछ। रियल बेटिस र भ्यालेन्सियाबीचको पहिलो लेग खेल २—२ गोलको बराबरीमा सकिएको थियो। सेमिफाइनलको दोस्रो लेग खेल भने शुक्रबार बिहान भ्यालेन्सियाको मैदानमा खेलिने कार्यक्रम छ।
बार्सिलोनाले यसअघि लगातार चारपटक कोपा डेल रेको उपाधि जितिसकेको छ। बार्सिलोना सबैभन्दा बढी ३० पटक कोपा डेल रेको उपाधि विजेता टोली पनि हो। रियल म्याड्रिडले भने सन् २०१३/१४ सिजनपछि कोपा डेल रेको उपाधि हात पार्न सकेको छैन।