कश्मीर हमलामा मारिनेप्रति भारतीय दूतावासद्वारा श्रद्धाञ्जलीसभा
काठमाडौं : भारतको कश्मीरमा गत १४ फेब्रुअरीमा ४० जनाभन्दा बढीको ज्यान जाने गरी भएको हमलामा मारिएकाहरुको सम्झनामा काठमाडौंस्थित भारतीय राजदूतावासले श्रद्धाञ्जलीसभा गरेको छ ।
दूतावासले बुधबार आफ्नो कार्यालय परिसरमा गरेको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी सहित दूतावासका अधिकांश कर्मचारी र तिनका परिवारजनहरुको पनि उपस्थिति थियो ।
श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै भारतीय राजदूत पुरीले आतंकवादको कुनै सीमा, जात र धर्म नभएको भन्दै यो मानव सम्भयताकै विरुद्धमा रहेको बताए ।
श्रद्धाञ्जली कार्यक्रममा पुरी सहित दूतावासका कर्मचारी र तिनका परिवारजनहरुले पुलवामा घटनामा मारिएकाहरुको तस्बिरमा फूल, माला चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
साथै मृतकका परिवारजनका लागि सहयोग गर्ने उदेश्यका साथ आर्थिक सहयोग गर्न वेभसाईट मार्फत डोनेट गर्न पनि आग्रह गरिएको थियो ।