बट्लर र मोर्गनले जिताए इङ्ल्यान्डलाई
सेन्ट जर्ज : जस बट्लर र इयोन मोर्गनले उत्कृष्ट सतकीय पाली खेलेपछि इङ्ल्यान्डले बिहीबार बिहान सकिएको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई २९ रनले पराजित गरेको छ। जितसँगै इङ्ल्यान्डले पाँच खेलको शृंखलामा २—१ को अग्रता पनि लिएको छ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर चार सय १८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा ओर्लिएको क्यारेबियन टोलीले भने ४८ ओभरमै अलआउट हुनुअघि तीन सय ८९ रनमात्र बनाउन सक्यो।
वेस्ट इन्डिजका लागि अनुभवी ब्याट्सम्यान क्रिस गेलले आक्रामक पाली खेल्दै एक सय ६२ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन। प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका ओपनर ब्याट्सम्यान गेलले केवल ९७ बलको सामना गरी १४ छक्का र ११ वटा चौका पनि प्रहार गरेका थिए।
गेलका अतिरिक्त ड्यारेन ब्राभोले ६१, कार्लोस ब्राथवेटले ५० र आस्ले नर्सले पनि ४३ रन बनाएका थिए। तर, वेस्ट इन्डिजले विजयलक्ष्य भेट्टाउन सकेन। वेस्ट इन्डिजलाई लक्ष्यसम्म पुग्न नदिन इङ्ल्यान्डका लेग स्पिनर अदिल रसिदले चार र मार्क उडले चार विकेट लिए। गेललाई भने बेन स्टोक्सले बोल्ड गरेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि विकेटकिपर ब्याट्सम्यान बट्लरले एक सय ५० र कप्तान मोर्गनले एक सय तीन रन बनाएका थिए। बट्लरले केवल ७७ बलको सामना गरी १२ छक्का र १३ वटा चौका हिर्काएका थिए। मोर्गनले पनि ८८ बलको सामना गरी ६ छक्का र आठवटा चौका प्रहार गरेका थिए।
इङ्ल्यान्डका लागि ओपनर ब्याट्सम्यानद्वय एलेक्स हल्स र जोनी बेयरस्टले एक सय रनको साझेदारी गरेका थिए। हल्सले ७३ बलको सामना गरी दुई छक्का र आठ चौकाको मद्दतले ८२ रन र बेयरस्टले ४३ बलको सामना गरी चार छक्का र चार चौकाको मद्दतले ५६ रन बनाएका थिए।
केवल एक सय ६५ रनमा तेस्रो विकेट गुमाएको इङ्ल्यान्डको स्कोरलाई त्यसपछि बट्लर र मोर्गनले तीन सय ६९ रनको बलियो अवस्थामा पुर्याएका थिए। उक्त खेलमा बट्लर म्यान अफ दि म्याच घोषित भए।
घरेलु टोली वेस्ट इन्डिजलाई जितका लागि १८ बलमा केवल ३२ रन आवश्यक रहँदा अनुभवी लेग स्पिनर रसिदले मैदानमा जमेका दुई ब्याट्सम्यान ब्राथवेट र नर्सलाई लगातार आउट गराएका थिए। त्यसपछि मात्र इङ्ल्यान्डको जित सम्भव भएको थियो।
यस्ता कीर्तिमान पनि बने
खेलका क्रममा दुबै टोलीको तर्फबाट कुल ४६ वटा छक्का प्रहार भएको थियो। एकदिवसीय क्रिकेटको इतिहासमा एउटै खेलमा प्रहार भएको यो सर्वाधिक छक्का हो। खेलमा इङ्ल्यान्डले २४ र वेस्ट इन्डिजले २२ छक्का हिर्काएका थिए। इङ्ल्यान्डले पनि एउटै खेलमा हिर्काएको यो सर्वाधिक छक्का हो।
उक्त खेलमा दुबै टोलीको तर्फबाट कुल आठ सय सात रन बन्यो। एकदिवसीय क्रिकेटको इतिहासमा एउटै खेलमा बनेको यो तेस्रो ठूलो रन हो। यसैगरी बट्लर एउटै एकदिवसीय खेलमा इङ्ल्यान्डका लागि सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी पनि बने। उनले १२ वटा छक्का हिर्काएका थिए।
यसैगरी क्रिस गेलले केवल ५१ बलमा सतक पुरा गरेका थिए। ब्यक्तिगत रुपमा एकदिवसीय क्रिकेटमा उनको यो सबैभन्दा छिटो सतक हो। उनी एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने वेस्ट इन्डिजको दोस्रो ब्याट्सम्यान पनि बनेका छन्।
यसअघि वेस्ट इन्डिजका चर्चित खेलाडी ब्रायन लाराले एकदिवसीय क्रिकेटमा १० हजार रनको कोशेढुंगा पार गरेका थिए। मोर्गन इङ्ल्यान्डका लागि एकदिवसीय क्रिकेटमा ६ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन्।