मेलगैरी हत्याकाण्डको २३ वर्ष: पीडितले पाएनन् न्याय
रुकुम पश्चिम : तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि जिल्लामा ठूलो घटना भयो। साविक पीपल गाविस अर्थात् हालको बाँफिकोट गाउँपालिका-२ को मेलगैरीमा ६ जना खत्रीबन्धुको हत्या भयो।
आठबीसकोटस्थित राडी प्रहरी चौकी आक्रमण पछिको दोस्रो तथा मानवीय क्षति व्यहोरेको जिल्लाको पहिलो घटना हो, मेलगैरी हत्याकाण्ड। जनयुद्ध घोषणपछि गोरखाका दिलबहादुर रम्तेल पहिलो पटक मारिए भने त्यसको भोलिपल्ट मेलगैरी हत्याकाण्ड भयो। २०५२ फागुन १ गते सुरु भएको जनयुद्धको १३ औं दिनमा गोरखाका दिलबहादुर रम्तेल मारिए। १४ औं दिन अर्थात् २०५२ फागुन १५ गते मेलगैरीमा ६ जना खत्रीबन्धुको एकै चिहान भयो।
माओवादीको नाममा प्रहरीले एउटै गाउँका ६ जनालाई हत्या गरेको थियो। बुधबारबाट मेलगैरी हत्याकाण्डका २३ वर्ष पूरा भएको छ। मेलगैरी हत्याकाण्डले जनयुद्धलाई थप कसिलो बनाउन मद्दत गरेको तत्कालिन नेकपा माओवादीले बताउने गरेको थियो।तर उक्त हत्याकण्डमा आफन्त गुमाएकाले न्याय नमिलेको गुनासो गरिरहेका छन्।
उक्त घटनामा १५ वर्षे बालकदेखि सामान्य किसान मारिएका थिए। मेलगैरीस्थित एउटै घरमा जम्मा भएर बसेका सोही ठाउँका कलबहादुर खत्री, पशुपति खत्री, लालबहादुर खत्री, मनबहादुर खत्री, दलबहादुर खत्री र १५ बर्षीय खडक केसी मारिएका थिए।
उनीहरुका परिवारले सरकारको तर्फबाट राहत त पाए। तर राहतले मात्रै न्यायको महसुस नभएको उनीहरुको गुनासो छ। राहतले मात्रै न्यायको महसुस नभएको कलबहादुरका छोरा नविनले बताए। बाबु मारिदा नविन २ वर्षको मात्रै थिए। 'विना कारण नै बुवा मारिनु भएको रहेछ,' नविन भन्छन्, 'हामीलाई राहत त दिइएको छ, तर विना कारण बुवा मार्नेमाथि कारबाही हुनुपर्छ।'
बुवालाई चिन्न नपाउँदै गुमाएको भन्दै उनले सामान्य खेती किसान गरेर जहान बच्चा पाल्नेमाथि बन्दुक चलाउनेलाई कारबाही भए मात्रै न्यायको महसुस हुने बताए।बुवा पशुपति मारिदा बलबहादुर पनि २ वर्षकै थिए। बलबहादुरले पनि दोषीमाथि कारबाही हुनुपर्ने भन्दै लामो समयदेखि आफू न्यायको पक्षमा रहेको बताए।
सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत अन्यायमा परेकालाई न्याय दिने भनिए पनि अहिलेसम्म आयोगको काम अघि नबढ्दा चिन्ता लागिरहेको बलबहादुरले बताए। 'हाम्रा बुवा मारिदा देशमा लोकन्त्रत आयो, विकास निर्माण पनि भैरहेको छ, उनले भने, 'यसमा हामी खुशी छौं, तर सिधासोझा मान्छे मार्नेमाथि कुनै कारबाही नहुनुले हामी निरास छौं।'
त्यस हत्याकाण्डमा मारिएका ६ जनाकै परिवारले राहतस्वरुप पटक÷पटक गरी १०÷१० लाख रुपैयाँ नगद बुझिसकेका छन्।टुहुरा बालबालिकाले छात्रवृत्ति समेत पाएका छन्। उनीहरुको सम्झनामा स्मृति पार्क बनाइएको छ। क्षतीपूर्ति स्वरुप नगद रुपैयाँ सम्झनामा भौतिक संरचना बनाइए पनि छानविन गरी दोषिलाई कारवाही गर्नुपर्ने माग पीडित परिवारको छ।
मेलगैरीको एउटा घरमा बसिरहेका ६ जना सर्वसाधारणलाई बाँफीकोट गाविसबाट गएको प्रहरी टोलीले ६ जनाको एउटै चिहान बनाएका थियो। स्थानीय सेतु जैसीको घर घेरा हालेका प्रहरीले सबैलाई पालैपालो हत्या गरेको थियो। सोही वर्षको फागुन १३ गते नेपाली कांग्रेस समर्थक नरजित बस्नेतको हात काटिएको विषयलाई लिएर इलाका प्रहरी कार्यालय बाँफीकोटबाट प्रहरी मेलगैरी पुगेको थियो।
नेपाली कांग्रेसका कार्यकर्ताले माओवादी कार्यकर्ताले नै बस्नेतको हात काटिदिएको उजुरी प्रहरी तथा प्रशासनमा गरेका थिए । तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध घोषणा गरेपछिको मेलगैरी हत्याकाण्ड नै पहिलो हत्याकाण्ड थियो।
सहिद छोराको नाममा छात्रवृत्ति अक्षय कोष
सहिद छोराको नाममा एकजनाले छात्रवृत्ति अक्षय कोष स्थापना गरेका छन्। बाँफिकोट गाउँपालिका-२ का वडाअध्यक्ष धनबहादुर खत्रीले जनयुद्धको क्रममा सहिद भएका १५ वर्षीय छोरा खड्क केसीको स्मृतिमा अक्षय कोष स्थापना गरेका हुन् । छोराले ५ कक्षासम्म पढेको जनकल्याण माध्यामिक विद्यालयमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको सहिद खड्क स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरेका हुन्।
विद्यालयको ५५ औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष खत्रीले अक्षय कोषमा रकम जम्मा गरेको भौचर र चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर खत्रीलाई हस्तान्तरण गरेका छन्। उक्त रकमको व्याज वापत आउने रकमबाट हरेक वर्ष सोही विद्यालयका गरीब तथा जेहेन्दार छात्रछात्रालाई प्रदान गरिने छ । विद्यालय पोशाक, कापिकलमको अभावमा विद्यार्थीले पढ्नबाट बञ्चित नहोउन भनेर सहिद छोराको नाममा छात्रवृत्ति कोष स्थापना गरेको खत्रीले बताए।
उनका अनुसार छात्रवृत्ति अर्को वर्षदेखि प्रदान गरिने छ। हरेक फागुन १२ गते विद्यालयको वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति पाउने विद्यार्थीको नाम घोषणा गरिने छ भने फागुन १५ गते छात्रवृति प्रदान गरिने छ।
खत्रीका जेठा छोरा खड्क २०५२ फागुन १५ गते प्रहरीद्धारा मारिएका थिए। तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको १४ औं दिनपछि साविक पिपल गाविसको मेलगैरीमा अन्य ५ जना खत्रीबन्धुसँगै खड्क मारिएका थिए। सहिद हुँदा उनी रुकुम पूर्वको सिस्ने गाउँपालिका-३ स्थित जनता माध्यामिक विद्यालयमा कक्षा ६ मा पढ्दै थिए।