मुगुमा १२औं पटक हिमपात, तीन दर्जनभन्दा बढी यात्रु बिमानस्थलमै थन्किए
मुगु : पुस ८ गते देखि फागुन १५ गतेसम्म १२ औं पटक परेको हिमपातले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ। फागुन महिनाको दोस्रो हप्तासम्म जिल्लाको उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ। मंगलबार रातिदेखि बिहीबार बिहानसम्म भएको हिमपात अघिल्लो पटक भएको हिमपातभन्दा अझै बाक्लो भएकाले जनजीवन प्रभावित भएको हो।
जिल्लाका उच्च हिमाली क्षेत्रमा मंगलबार रातिदेखि बिहीबार बिहानसम्म जिल्लाका चारै स्थानीय निकायमा भारी हिमपात भएको छ। यो भन्दा अगाढी उच्च हिमाली बस्तीमा भारी हिमपात भएपनि सदरमुकाम गमगढी र आसपासका गाउँमा हिमपात भएको थिएन। १२ औं पटक परेको हिपात मुगु कर्णालीको किनारसम्म परेको छ।
निजी तथा सरकारी विद्यालय बन्द छन्। सरकारी कार्यालयमा सेवाग्राही नआएपछि सरकारी कर्मचारी कार्यालयमा आगोतापेर बसेका छन्। मंगलबार रातिदेखि परेको हिमपातले जिल्लाको रारा बिमान स्थलबाट हुने हवाई सेवा केही दिनका लागि बन्द हुने भएको छ । हिमपातले नाग्मा गमगढी सडकखण्ड अबरुद्ध भएको एक महिनाभन्दा बढी भइसकेको छ।
रारा बिमान स्थलमा तीन दर्जनभन्दा बढी यात्रु बिमानस्थलमै थन्किएका छन्। सुर्खेत, नेपालगंजबाट मुगु आउँदै गरेका यात्रु बाहक तथा ढुवानी गाडी जुम्ला जिल्लाको सिंजा क्षेत्रमा रोकिएका छन्। सदरमुका गमगढीबाट अन्यत्र जाने दुई दर्जनभन्दा बढी सवारी साधन गमगढीमै रोकिएकाले सदरमुकामबाट अन्यत्र जाने यात्रुहरु गमगढीका होटलमा बस्नुपर्ने बाध्यता रहेको छ। भारी हिमपात भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।