नेकपा मुख्यालय : शोकमा झण्डा आधा झुकाइयो, श्रद्धाञ्जली सभा गरिने
काठमाडौँ : आफ्ना केन्द्रीय सदस्य रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा बुधबार निधन भएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको धुम्बाराहीस्थित मुख्यलायमा पार्टीको झण्डा आधा झुकाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका अधिकारीसहित सातजनाको ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिस्नेभिरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गएको शोकमा झण्डा झुकाइएको हो ।
नेकपाले आफ्नो मुख्यालयमा दुर्घटनामा ज्यान गुमाएका सातैजनाको तस्बिर राखेर शोक व्यक्त गरेको छ । बिहीबारै बसेको नेकपा सचिवालय बैठकले आज फागुन १६ गते देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको थियो । त्यसैगरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
शिक्षण अस्पतालमा पोस्मार्टम गरिसकेपछि सातैजनाको शव श्रद्धाञ्जलीका लागि बिहीबार दिउँसो ३ बजेदेखि राजधानीको टुँडिखेलमा राख्ने निर्णय पनि नेकपाले गरेको छ ।