मन्त्री अधिकारीको शुक्रबार गृहनगर पोखरामा अन्त्येष्टि
काठमाडौं : बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृहनगर पोखरामा हुने भएको छ।
बिहीबार बसेको नेकपा सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अधिकारीको अन्त्येष्टि शुक्रबार उनको गृहनगर पोखरामा गर्ने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो। सातै शव श्रद्धाञ्जलीका लागि अहिले टुँडिखेलमा राख्ने तयारी भइरहेको छ।
‘ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोस्मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि राजधानीको टुँडिखेलमा पार्थिव शरीर राखिनेछ’, नेकपा सचिवालय बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका सबै कमरेड, विभिन्न राजनीतिक दलका नेता तथा मित्र, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई अपरान्ह ३ बजेदेखि टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ।’
नेकपा सचिवालय बैठकले दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यलाई आवश्यक सहयोग गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए।
सँगै बैठकले बिहीबार देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यसैगरी नेकपाले फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा गर्ने निर्णयसमेत गरेको छ।
ताप्लेजुङमा दुर्घटना भएको एअर डाइनेस्टीको हेलिकप्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारी, यति एअरलाइन्सका प्रवन्ध निर्देशक तथा स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्रीे कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका चालक प्रभाकर केसी र मन्त्रीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे सवार थिए।