बैतडीमा भारी हिमपात
बैतडी : बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ। मंगलबार र बुधबार भएको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ।हिउँले बैतडीका उच्च लेकाली क्षेत्रहरु सेताम्य देखिएका छन्। सतबाँझ,ग्वाल्लेक, खोड्पे,सिगासधुरा, श्रीभावर, ढोल्यामोड, नाचन्थली, अनारखोली, जित्कीजुँवाडलगायतका क्षेत्रमा भारी हिमपात भएको छ।
फागुन महिनाको मध्यतिर हिमपात भएको दश वर्षयताकै पहिलो पटक भएको स्थानीयले बताएका छन्।आजभन्दा करिब १२ वर्षअघि फागुन २ गते भारी हिमपात भएको थियो। दशरथचन्द नगरपालिका-१ गुरुखोलाका महादेव भट्टले हिमपातले सबै ठाउँ सेताम्य भएको बताए।
फागुन महिनामा हिमपात भएको आफूले पहिलो पटक देखेको सतबाँझका रामबहादुर टेरले बताए। उनले फागुन महिनामा यति बाक्लो हिउँ परेको पहिलो पटक भएको बताए।हिमपातका कारण उच्च लेकाली क्षेत्रमा जनजीवन प्रभावित भएको छ। लेकाली क्षेत्रमा भारी हिमपात भएकाले बाहिर निस्कन समेत मुस्किल भएको सिगास गाउँपालिका ९ की लक्ष्मी चन्दले बताइन्।
बैतडीमा विद्युत सेवा, टेलिफोन सेवा र इन्टरनेट सेवा समेत अनियमित भएको छ। हिमपातकै कारण विद्युतका पोल तथा तारहरु चुडिँदा विद्युत सेवा अवरुद्ध भएको हो। विद्युत, टेलिफोन र इन्टरनेट सेवा अनियमित हुँदा सेवाग्राहीमा मारमा परेका छन् ।