सैनिक र राजनबीच उपाधि भिडन्त
भक्तपुर : आयोजक सैनिक आवासीय मावि र राजन मेमोरियल स्कुल विद्यालयस्तरीय १२ औं प्रधानसेनापति कप टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। बिहीबार बिहानै परेको पानीले मैदान हिलो भएपछि २० ओभरको खेल १० ओभरमा घटाइएको थियो। पहिलो सेमिफाइनलमा सैनिकले जेम्स स्कुललाई ३७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको सैनिकले सात विकेट गुमाएर ६८ रन बनायो। साविक विजेता सैनिकका श्रीजन गुरुङले सर्वाधिक १८ रन जोडे। प्रथम बुडालले १३ र निश्चय थापाले ११ रन थपे। जेम्सका सुजल ओलीले दुई र अथर्व पौडेलले एक विकेट लिए। जेम्सले निर्धारित ओभरमा सात विकेट गुमाएर ३१ रन मात्र बनाउन सक्यो।
सैनिकका क्रिस कार्की, अर्जुन तामाङ र आशिष कुँवरले दुई-दुई विकेट लिए। सैनिकका अर्जुन तामाङ म्यान अफ दी म्याच घोषित भए।
अर्को खेलमा डीएभीलाई एक रनले हराउँदै राजन मेमोरियल फाइनलमा पुग्यो। टस जितेर ब्याटिङ गरेको राजनले चार विकेट गुमाएर ६९ रन बनायो।
अनुप नेपालले सर्वाधिक ३२ रन जोडे। डीएभीका अर्पित खेतान र शिखर बोथाले एक-एक विकेट लिए। जवाफी ब्याटिङमा ओर्लिएको डीएभीले एक रनले राजनलाई नतिजा सुम्पियो। राजनका सन्देश दाहाल म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।
भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने।