हिउँमा हरिशरणको कलाकारिता
भक्तपुर : बिहीबार बिहानै हिउँ परेपछि काठमाडौं उपत्यकावासी धेरै हिउँ खेल्न निस्किए। अरु दिन जाडोले ओछ्यान नछोड्ने बिहीबार बिहान घरआँगनमै हिउँ पर्न थालेपछि के बुढा, के बच्चा सबै हिउँ खेलेर रमाए।
काठमाडौं उपत्यकामा २०६३ सालपछि बिहीबार बाक्लो हिउँ परेको हो। जसले गर्दा हिउँ खेल्न चन्द्रागिरी, फूल्चोकी, दामन, सिमभञ्ज्याङ, कालिञ्चोक, मुक्तिनाथ जाने गरेका उपत्यकावासील घरआँगनमै रमाए।
घरआँगनमा हिउँ खेलेर धीत नमरेका भने काठमाडौं उपत्यका घेरिएका अग्ला पहाड तथा डाँडामा हिउँ खेलेर थप रमाए। भक्तपुरको तल्लो क्षेत्रमा हिउँ खेलेर रमाउन नपुगेका नगरकोट, चाँगुनारायण, घ्याम्पे डाँडा, रानीकोटसम्म पुगेर हिउँ खेल्ने कम थिएन।
नगरकोटमा बिहीबार हिउँ खेल्न पुग्ने आन्तरिक पर्यटक ओइरो नै लागेको थियो। भक्तपुरबाट खरिपाटी, तेलकोट, सल्लाघारी, बाघमारा, बसपार्क हुँदै हिउँ खेल्दै नगरकोट पुग्नेहरुको ताँती नै लागेको थियो।
नगरकोट टावरमा पुगेका अधिकांश एकले अर्कोलाई हिउँका डल्लाले हिर्काएर रमाइरहेका थिए। कोही हिउँमै चिप्लेटी खेलिरहेका थिए। यसबीच सबैजसो हिउँमा फोटो खिच्न व्यस्त थिए। कोही हिउँको थुप्रो देख्नेवित्तिकै सेल्फी खिच्न मग्न थिए।
कोहीकोही जाने पनि नजाने पनि हिउँका विभिन्न आकृति बनाइरहेका थिए। सबैको एउटै आकृति हुन्थ्यो हिम मानव (स्नो म्यान)। स्यूँस्यूँ गर्दै हिम मानव बनाइसकेपछि त्यसैसँग फोटो खिच्न भ्याइनभ्याई।
यसरी सबै हिउँमा रमाइरहेका बेला भक्तपुर नपा ४ हरिशरण प्रजापति भने हिउँमा खेलिरहेकालाई ध्यान नदिएर एकोहोरो हिउँमा कला पोखिरहेका थिए। पेसाले माटोको भाडालगायतका क्युरियो सामग्री बनाउने कुमाले हरिशरणले हिउँकै गणेश, हाँसलगायतका प्रतिमा बनाएर हिउँमा आफ्नो कला पोखिरहेका थिए।
उनले सल्लाको रुपमा हिउँबाट गणेशको मूर्ति बनाइरहँदा कोही कोही हिउँ खेल्न छाडेर उनको कलाकारितामा ध्यान दिइरहेका थिए।
हरिशरण आफ्नो माटोका भाडा बनाउने कुचीले भने एकमग्न भई हिउँमा कला पोखिरहेका थिए। हिउँमा कला पोख्न उनलाई छोरा रसिकले साथ दिइरहेका थिए। हिउँको थुप्रोमा हरिशरण आकृति बनाइरहने रसिक हिउँ बोकेर बाबुको अगाडि राख्ने।
हरिशरण र रसिकको मेहनत देखेर हिउँमा खेलेर रमाइरहेकाहरु पनि हरिशरण नै नक्कल गरेर विभिन्न आकृति बनाउँथे तर चित्त नबुझेपछि डल्लै टिपेर आफ्ना साथीहरुलाई हिउँले हिर्काउँथे।
कलाकार प्रजापतिले १२ वर्षपछि परेको हिउँमा आफ्नो कलाकारिता पोख्नकै लागि नगरकोट पुगेको सुनाए। ‘घरमै पनि हिउँ परेको हो तर कलाकारिता पोख्न पर्याप्त भएन’, उनले भने, ‘घरमा पनि हिउँका विभिन्न मूर्ति बनाएको थिएँ।’
नगरकोटमा हिउँबाट राजहाँसको आकृति बनाउँदै कलाकार हरिशरण प्रजापति। तस्बिर : ईश्वरकाजी खाइजू