शेर्पाको शोकमा शुक्रबार यति र ताराले उडान नगर्ने

शेर्पाको शोकमा शुक्रबार यति र ताराले उडान नगर्ने

काठमाडौं : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको शोकमा शुक्रबार सबै उडान रद्द गर्ने निर्णय गरेको छ।

शेर्पाको सम्मानमा एक दिनका लागि यति र तारा एयरका सबै उडान रद्द गर्ने निर्णय गरिएको यति एयरलाइन्सका सञ्चार अधिकृत तथा वरिष्ठ प्रबन्धक भीमराज राईले अन्नपूर्णलाई जानकारी दिए।

नेपाली हवाई उड्डयनको अग्रणी वायुसेवा कम्पनी तारा र यतिका दैनिक करिब ६० उडान छन्। सबै उडान एक दिनका लागि बन्द गर्ने र एयरलाइन्सकै सञ्चालक शेर्पाको सम्मान गरिने हुँदा यात्रुलाई परेको असुविधालाई क्षमा दिन तारा र यति दुवैको वायुसेवाले अनुरोध गरेका छन्।

नेपालको हवाई उड्डयनमा दुर्गम क्षेत्रमा योगदान पुर्याउने वायुसेवाको नामले परिचित शेर्पाको तारा एयरसँग ६ वटा जहाज छन्। यसमध्ये चारवटा १९ सिट क्षमताका ट्विनअटर र दुईवटा १८ सिट क्षमताका डोर्नियर छन्। यो वायुसेवाबाट दैनिक काठमाडौं लुक्ला १०, पोखरा–जोमसोम पाँच र नेपालगन्जबाट हुम्ला डोल्पा, सुर्खेतहितका कर्णाली क्षेत्रका विमानस्थलमा १५ वटा उडान हुने गरेका छन्। 

आन्तरिक उडानमा सुगम क्षेत्रका विमानस्थल उडान गर्ने यति एयरलाइन्सका पनि दैनिक करिब २८ देखि ३० वटा उडान हुने गरेका छन्। 

यतिका पाँचवटा जेट स्टिम र तीन तीन एटीआर ७२ नामका जहाजबाट आन्तरिक गन्तव्यमा उडान हुने गरेको छ। यतिका यस्ता जहाजमा एउटा जेटस्टिम २९ सिट क्षमता र बाँकी चारवटा ३० सिट क्षमताका छन्। 

यतिको एटीआर ७२–५०० नामको जहाज भने ७२ सिट क्षमताको हो। यतिले काठमाडौंबाट तुम्लिङटार, भद्रपुर, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, नेपालगन्ज र माउन्टेन उडान गर्ने गरेको छ।

नेपाली पर्यटन क्षेत्रका अग्रज शेर्पाको अन्य दजनौं व्यवसाय सञ्चालनमा छन्। उनको नेतृत्वमा यति एयरलाइन्स, तारा एयर, यति होलिडे, क्रियटिभ ट्राभल, यति इन्सेन्टिभ, यति एड्भेन्चर छन्। 

यति माउन्टेन होमअन्तर्गत ६ वटा होटल, केर एन्ड डाउनीका ६ वटा होटल, कसरा होटल, गोकर्ण फरेस्ट रिसोर्टलगायत जलविद्युत्मा पनि लगानी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.