अपराधलाई राजनीतिको आड
त्याग र निष्ठाबाट प्राप्त उपलब्धि परिणाममुखी बन्छ। राजनीतिमा यसको महत्त्व झन् बढी हुन्छ। पुर्खाको निष्ठापूर्ण त्याग र बलिदानले नै राष्ट्रको अस्तित्व विश्व मानचित्रमा जीवन्त रहेको हो। पछिल्लो समय राजनीतिले त्याग र निष्ठा गुमाएकाले अपराधको जालोमा जेलिएको छ।
हिजो समाज एकढिक्का थियो। दुःखसुखमा सहयोगी भावना जागृत हुन्थ्यो। तर आज त्यो स्थिति छैन। राजनीतिका पात्र लोभ र लालचको चक्रव्यूहमा फसे। त्यसबाट बाहिर निकाल्न खोज्नेलाई प्रतिगामी भनियो। मेडिकल माफियाको चँगुलबाट छुटाउन खोज्ने हुन् वा बेथितिको उजागर गर्दै गीतमार्फत चेतनाको उज्यालो छर्ने सर्जकका आवाज बन्द गर्ने प्रयत्न भए। अपराध विधामा अब्बल दर्जा हासिल गर्ने खलपात्रलाई कारागारबाट छुटाई सपथ गराइयो। यो त सामान्य दृष्टान्त मात्र हो।
चुनावताका सुनिन्थ्यो–धुँवा धूलो व्यवस्थापन हुन्छ। खाल्डाखुल्डी पुरेर सडक चिल्लो पारिन्छ। एनजीओ पारदर्शी बनाइन्छ। धरहरा ठड्याइन्छ, रानीपोखरीमा जलचर नाच्नेछन्, विदेशी लगानी भित्र्याई रोजगारी दिलाइन्छ, कृषियोग्य जमिन हराभरा पारिन्छ। मेलम्चीको पानीले तिर्खा मेटाइन्छ, महँगी घटाइन्छ। गाउँगाउँमा सिंहदरबारको अनुभूति गराइन्छ भन्नेसम्मका प्रतीज्ञा गरियो। राजनीति पूरै संग्लिएको आभास दिइयो। राष्ट्रिय स्वाधिनतामा कतैबाट आँच आउन दिइने छैन भनियो। नागरिकले मत दिए पनि तर ती प्रतीज्ञा चुनाव जित्ने अस्त्रमा मात्रै सीमित भए। नागरिकले बारम्बार विश्वास गरे तर ठगिएको भेउ नै पाएनन्। राजनीतिमा अपराधले शासन गरिरहेसम्म यही नियति भोगिरहनुपर्छ।
राजनीति गर्नेले सत्य, निष्ठा र त्यागको मार्ग अवलम्बन गर्नुपर्छ। यहाँ त्यसो हुन सकेन। अगुवाले स्वार्थअनुकूलको बाटो तय गर्न थाले। माफियाको कब्जामा नेतृत्वपंक्ति फस्दाको परिणाम थियो त्यो। राजनीतिमा आपराधिक प्रवृत्ति तीव्ररूपमा झाँगियो। करोडांै खर्च नगरी चुनाव जितिँदैन। नाफाकै लागि राजनीतिको भर्याङ समाइँदैछ। जसका लागि अपराधीसँग हिमचिम बढाइ स्वार्थसिद्घ गर्नु कर्तव्य नै भएझैं ठानियो। जनतासँग भने पटकपटक बाचा मात्रै गरिन्छ तर पूरा गरिन्न, जनतामाफ फेरि जानु पर्दैन जसरी।
दलका भातृसंगठन छाडा भए। सिद्घान्त र आदर्श परै जाओस् सामान्य अनुशासनको दायरामा पनि बस्न उनीहरू तयार देखिँदैनन्। संस्कार गुमाउँदा आइलाग्ने परिणति यस्तै हुन्छ भन्ने यथार्थ नेतृत्वले बुझ्न सकेन। यही प्रवृत्ति हाबी हँुदा राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम सिध्याइयो, खेतीयोग्य जमिन माफियाकै कब्जामा छ। खाद्यान्न निर्यात हुन्थ्यो तर अहिले मागेर खानुपरेको छ। जंगल खुइल्याइयो, चुरे दोहन जारी छ। छिमेकी मुलुकमा पूर्व प्रधानमन्त्रीदेखि उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गर्नेलाई जेल हालिएको छ। यहाँ भने एकजनालाई पनि कारबाही हुँदैन। यो बेथितिले कहाँ पुर्याउला लोकतन्त्र र देशलाई ?
अपराधी घुसखोरीबाट पनि अपराध गर्छन्। घुस नखुवाइ गैरकानुनी काम गर्न वा साधनको ओसारपसार गर्न असम्भव छ। समातिएकालाई पनि राजनीतिक दबाबमा चोख्याइन्छ। सुरक्षा निकाय र कर्मचारीतन्त्रसमेत यसबाट अछुतो रहेनन्। यस्तोमा नागरिक आवाजको खासै अर्थ रहँदैन। लोकतन्त्रमा जनआवाज संकुचित हुनु शुभसंकेत मानिँदैन तर यसैले प्र श्रय पाएको छ। सत्यतथ्य उजागर गर्नेलाई सके पैसाले नसके बल प्रयोग गरेर काबुमा पारिन्छ। मानव बेचविखन फस्टाउँदैछ। कतिपयले यसैलाई मुख्य पेसा बनाएका छन्। एउटै महिला पटकपटक बेचिएको खबर छापामा आउँछ। यस्तै घटनामा राजनीतिक पात्र जोडिएको तथ्य सार्वजनिक भइरहन्छ। यस्तो अपराधमा संलग्नलाई राज्यले नियन्त्रणमा लिएर कार्बाही गर्नुपर्ने होइन र ? तर राज्य निरिह छ, चाहेर पनि गर्न सक्दैन।
उत्पीडित समुदायका युवालाई अपराध कार्यमा प्रयोग गराइन्छ। सामाजिक एवं आर्थिक समस्याबाट मुक्ति पाउने आशामा उनीहरू त्यसतर्फ आकर्षित हुन्छन्। मुख्य अपराधीबारे उनीहरू पनि जानकार हुँदैनन्। गरिबी भजाई जात र धर्ममा अपराध गर्न उक्साइन्छ। पैसा बाँडिन्छ, त्यहीबाट धर्म परिवर्तन गराई इसाईकरण गरिएको छ। आफू सुरक्षित रहन गरिब दुःखीलाई अघि सारिएको छ। अपराधले खराब कामलाई प्रोत्साहित गर्छ। भ्रष्टाचार, लागूपदार्थ ओसारपसार, मानव बेचबिखन, तस्करी तथा अन्य अपराधजन्य गतिविधिलाई बढावा दिन्छ। त्यसको असरले समाज भाँडिन्छ अनि सधैंको अस्थिरता। यतातर्फ राज्यको ध्यान कहिले पुग्ने हो ?
परिवर्तन पटकपटक भए। प्रत्येक परिवर्तनका लागि भएका आन्दोलनमा जनताको पूर्ण साथ र समर्थन रह्यो। परिवर्तनपछिको अवस्था भने सधैं उस्तै। दैनिक प्रशासन चलाउनेबाहेक नागरिकले सुखानुभूति गर्ने कुनै काम भएन। राज्यसंयन्त्र यसरी दायित्वविहीन देखिनुलाई लोकतान्त्रिक चरित्र मानिँदैन। नमिता–सुनिता काण्डदेखि निर्मला पन्त हत्यासम्मको अपराध राजनीतिकै आडमा दबाइयो भन्ने आवाज बुलन्द भएका छन्। दासढुंगादेखि नारायणहिटी काण्ड अझै रहस्यको गर्भमा छन्। ३३ किलो सुनप्रकरण त्यसै सेलायो।
केही वर्षदेखि अपराध झनै पुल्पुलियो। पुर्खाले देखाएको मार्ग परित्याग गरिँदा समाजमा विचलन भित्रियो। लोकतन्त्र भनिएको प्रणालीमा यो अवस्था कहिलेसम्म ?
राजनीति स्वच्छ नभएसम्म समाज रुपान्तरण हुन सक्दैन। त्यसका लागि दृढ इच्छाशक्ति चाहिन्छ। आपराधिक क्रियाकलाप निरुत्साही हुने कानुन निर्माण आवश्यक छ। रोजगारीका अवसर सिर्जना हुनुपर्छ। सरकारी तलबभत्ता खाएर अपराधीको संरक्षण गर्नेलाई देखिने गरी कार्बाही गरिनुपर्छ। राज्यले अपराधलाई संरक्षण गर्दैन भन्ने जनविश्वास जगाउनुपर्छ। यसका लागि अविलम्ब कार्य प्रारम्भ गरियो भने मात्र राजनीतिप्रति जनभरोसा बढेर जानेछ।