पोखरामा मन्त्री अधिकारीको श्रद्धाञ्जली लागि तयारी
पोखरा : ताप्लेजुङमा बुधवार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको श्रद्धाञ्जलीका लागि पोखरामा तयारी गरिएको छ। पोखराको नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा उनको श्रद्धाञ्जलीका लागि तयारी गरिएको हो।
देशकै निम्ति अझै धेरै योगदान गर्नसक्ने विश्वास गरिएका नेता अधिकारीको अकल्पनीय निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन्। कास्कीमा युवा नेता अधिकारीलाई श्रद्धाञ्जली दिन श्रद्धाञ्जली स्थलमा पोखरेली जम्मा भएका छन्। मन्त्री अधिकारीको अन्तिम संस्कार पोखराको रामघाट स्थित सेती नदी किनारमा हुनेछ। यसका लागि तयारी पूरा भएको छ।