गृहनगर पोखरामा मन्त्री अधिकारीको अन्तिम बिदाइ
पोखरा : ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई गृहनगर पोखरामा अन्तिम बिदाइ गरिएको छ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का नेता वामदेव गौतमले पार्टीको झण्डा ओढाएर मन्त्री अधिकारीलाई अन्तिम बिदाइ गरे ।
मन्त्री अधिकारीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पद्मा अर्याल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेश प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेता योगेश भट्टराई, श्रममन्त्री गोकर्ण विष्ट र कांग्रेस नेता यज्ञबहादुर थापासहितले अन्तिम बिदाइ गरे ।
गृहजिल्लामा लोकप्रिय नेतालाई अन्तिम बिदाइका लागि हजारौँ पोखरेली पुगेका थिए । लगातार तीन पटकसम्म चुनाव जिताएर पठाएका नेताको अकल्पनीय निधनपछि स्तब्ध भएका पोखरेली श्रद्धाञ्जलीस्थलमै आँसु झारेका थिए ।